एनआरएनएको विकल्पमा आएको यूएनडीओको पहिलो महाधिवेशन काठमाडौँमा जारी

काठमाडौँ । डायस्पोरा नेपालीहरूको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन(यूएनडीओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । दर्ता भएको करिब डेढ बर्षपछि संस्थाले पहिलो महाधिवेशन शनिवार शुरु भएको हो। महाधिवेशन आइतबार सम्म जारी रहने जनाइएको छ ।
महाधिवेशनका लागि विश्वभरबाट प्रवासी नेपालीहरू काठमाडौँ आएका छन् । गैर आवासीय नेपाली संघ(एनआरएनए) विभाजित भएपछि एनआरएनएकै अभियन्ताहरूले स्थापना गरेको यूएनडीयो महाधिवेशनमा एनआरएनएकै पूर्व अध्यक्ष शेष घले, अभियन्ता जमुना घले, पूर्व उपाध्यक्ष सोनाम लामालगायत सयौँ नेपालीहरूले महाधिवेशनमा सहभागिता जनाएका छन् ।
महाधिवेशनका लागि करिब ३० बढी देशका प्रतिनिधि काठमाडौँ आइसकेको कोषाध्यक्ष कुशल केसीले जानकारी दिए । ‘यो विशुद्ध गैर राजनीतिक सामाजिक संस्था हो । मातृभूमिका लागि केही गर्ने मनसायले संस्था स्थापना भएको हो । यसमा वास्तविक गैर आवासीय नेपालीहरूको संलग्नता हुने वैधानिक व्यवस्था छ। तर कानुनी रूपमा दुई वर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरू संस्थाको सदस्य बन्न पाउने छन्,’ उनले भने,‘विशिष्ट पाहुनाहरूको साथमा हामी प्रथम महाधिवेशन गरिरहेका छौँ ।’
पहिलो दिन शनिवार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न विषयहरूमा छलफल कार्यक्रमको आयोजना भइरहेको छ । फरक फरक विषयमा छलफल गर्न विषयविज्ञहरु लाजिम्पाटस्थित होटलमा जम्मा भएका छन् ।
कार्यक्रममा कुलमान घिसिङ, नरेश शर्मा, कुन्द दिक्षित, डा.अमिना महर्जन, डा। गणेश गुरुङ, पर्यटन बोर्डका सिइयो दिपकराज जोशी, डा.युवराज संग्रौला, डा।जितेन्द्र उपाध्यय तिमिल्सिना, डा.इन्दिरा अधिकारीलगायत दर्जनौं विज्ञहरुले पहिलो दिनको कार्यक्रममा विषयबस्तुमाथि प्रश्तुती दिंदैछन् । दोस्रो दिन नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ ।
मार्च २०२२ मा काठमाडौँमा गैर आवासीय नेपाली संघका अग्रज एवम अभियन्ताहरुको अगुवाइमा यूएनडिओ नामको सँस्था स्थापना गर्नुपर्ने निष्कर्षमा संस्था स्थापना गरिएको थियो ।
दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिंदा लामो समय लागेको र कानुनी रूपमा सर्वोच्च अदालतमा ढोका ढकढक्याउँदा यूएनडिओ नामको सँस्था दर्ता गर्न दिएको निवेदन अनुसार दर्ता स्वीकृत गर्नु भन्ने आदेश अनुसार संस्था दर्ता प्रक्रिया अघि बढेको थियो ।
आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली संबन्धि ऐन अन्तर्गत संस्था दर्ता भएको हो ।
सरकारको परराष्ट्र मन्त्रालयको एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरू सदस्य र संलग्न हुनेगरी यो संस्था दर्ता छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको अध्यक्षतामा संस्था क्रियाशील छ । आइतबार अपरान्ह संस्थाको नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।