बानाको चुनाव अप्रिलमा, जनवरी अन्तिम सम्म सदस्य बन्नेले भोट दिन पाउने, अध्यक्षमा आकांक्षी तीन जना
बाल्टिमोर,मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) को नयाँ नेतृत्व चयनका लागि अप्रिलमा चुनाव हुने भएको छ। सो चुनावमा भोट दिन जनवरी अन्तिम सम्ममा सदस्यता बनी सक्नु पर्ने बानाले जनाएको छ।
‘हाम्रोमा सदस्यता सदैव खुल्ला नै रहन्छ, तर अब आउने चुनावमा भोट दिन जनवरी अन्तिम सम्म सदस्यता बनिसक्नु पर्छ।’ बाना अध्यक्ष सुबोध विलास पन्तले समाज टाइम्स सँग भने।
बाना अमेरिकामा रहेका नेपाली समुदायमा धेरै सदस्य रहेको र सक्रिय मध्येको एक संस्था हो।
‘डा. कृष्ण ढकाल संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी गठन भइसकेको छ, फेब्रुअरी एक तारिख हामीले मतदाताको नामावली बुझाउँछौ त्यस पछि औपचारिक रूपमा कमिटीकाले काम शुरु गर्छ।’ पन्तले भने।
पन्तका अनुसार बानामा अहिले २४ सयको हाराहारी सदस्य छन्। ती मध्ये नौ सय आजीवन सदस्य रहेका छन्।
बानामा साधारण र आजीवन गरी दुई प्रकारका सदस्य छन्। साधारण सदस्यका लागि एक जनाको ३० डलर र श्रीमान् श्रीमतीका लागि ४५ डलर शुल्क तोकिएको छ। यस्तै आजीवन सदस्य बन्न एक जनाले एक सय र श्रीमान् श्रीमतीको एक सय पचास डलर तोकिएको छ।
बानाको सदस्य बन्न यहाँ क्लिक गर्नु होला
अमेरिकामा रहेका सबै नेपाली बानाको सदस्य बन्न पाउने अध्यक्ष पन्तले बताए। ‘अमेरिकामा बस्ने सबै नेपाली बानाको सदस्य बन्न पाउँछन् तर मताधिकार मेरिल्यान्डको आइडी भएकाहरूलाई मात्र छ।‘ उनले प्रस्टाए।
पन्तले मेरिल्यान्डमा रहेका सबै नेपालीलाई सदस्य बन्न अपिल समेत गरेका छन्।
‘म सबैलाई सदस्य बन्न अपिल गर्छु, बाना सुख दुखको साथी हो, अमेरिकामा रहेको नेपालीहरूको संस्थामा सबै भन्दा सक्रिय पनि छ, पर्दा सबैलाई सहयोग गर्ने संस्था पनि हो।’उनले भने।
अहिल्यै म केही बोल्दिन
यसै बीच चुनावी समीकरणका बारेमा अध्यक्ष पन्तले अहिल्यै आफूले केही नबोल्ने बताए। दोस्रो कार्यकालमा रहेका पन्तलाई तपाई ह्याट्रिकको लाइनमा हो भन्ने समाज टाइम्सको प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन्।
‘मेरो इच्छा छैन, तर संस्था नै भाँडभैलोमा जाने भयो भने त्यो बेला सल्लाह गरौला।’ पन्तले भने।
उनले भावी अध्यक्षको रूपमा सकैलाई पनि समर्थन नगर्ने दाबी गरे। ‘मेरो कसैलाई ल्याऊ भन्ने छैन, म तथष्ट नै हु।‘
बानाको भावी अध्यक्षका लागि सल्लाहकार जितेन (जीतेन्द्र) गुरुङले एक वर्ष अगाडी देखि नै तयारी गरेका छन्।
‘म सानै देखि सामाजिक काम गर्दै आएको हुँ, समाज सेवामा मेरो रुचि हो, नेपाल देखि नै विभिन्न संघ संस्थामा बसेर काम गर्दै आइयो।’ समाज टाइम्स सँग गुरुङले भने, ‘यहाँ आएर पनि आफूले सक्ने समय दिँदै आएको छु, आफूले जानेको अनुभव विभिन्न संस्थामा रहेर सेयर गर्ने गरेको छु। सामाजिक काम गर्ने हुटहुटीका कारण मेरो उम्मेदवारी रहन्छ।’
‘म अहिले बानामा ट्रस्टी र सल्लाहकार छु, बाना यसै पनि राम्रो छ यसलाई अझै सबैको साझा बनाउनका लागि र यहाँको समाजले पनि तपाईँको आवश्यकता छ है भनेको हुँदा सबैको सल्लाह सुझावले म तयार भएको हुँ।’ व्यवसायी गुरुङले भने।
पर्वत पैंयु गाउँपालिकाका ३८ वर्षीय गुरुङ पछिल्लो नौ वर्ष देखि श्रीमती र छोरा सँगै बाल्टिमोरमा बस्दै आएका छन्।
यस्तै बानाकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारतीले आफू अध्यक्षको उम्मेदवार भएको बताइन्।
‘हो, म बाना अध्यक्षको उम्मेदवार हो।’ समाज टाइम्स सँग उनले लक्ष्मीले भनिन्,’मेरो बाना प्रतिको माया, बानाले गरेको कामलाई निरन्तरता दिन, रिसाएकाहरूलाई मिलाउन मैले उम्मेदवारी दिने हो। ‘
लक्ष्मीले अहिले सम्म आफूले गरेको कामको मूल्याङ्कन हुने बताइन। ‘मेरो अहिले सम्मको काम हेरेर पनि मलाई सबैको समर्थन हुन्छ।‘ उनले दाबी गरिन्।
लक्ष्मी यस अगाडि हिरा गुरुङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन्। तिनै हिरा गुरुङ सँग यस पटक चुनावी प्रतिस्पर्धामा उत्रनु पर्ने अवस्था आएको छ।
हिरा गुरुङले पनि फेरि एक पटक परीक्षा दिने बताएका छन्। ‘बानामा काम गर्ने रहर मरेको छैन, फेरि अध्यक्षको प्रतिस्पर्धी हुँ।’ केही समय अगाडि हिराले समाज टाइम्स सँग भने।
हिराले यस पटक आफू संस्थापन पक्षको आधिकारी उम्मेदवार हुने दाबी गरे। त्यसो त लक्ष्मीको पनि सोही दाबी छ।
‘संस्थापन पक्षले यस पटक मलाइ नै सहयोग गर्नु हुन्छ। ‘लक्ष्मीले दाबी गरिन्,’हिजो अर्को प्यानलबाट चुनाव जितेर आएको भए पनि काम गर्न कुनै समस्या भएन त्यस कारण यस पटक पनि सहयोग नै हुने छ।’
उनले अघिल्लो चुनावको माहौल र अहिलेको अवस्था भिन्न भएको बताइन्। ‘हिजो हिराजीको पालो थियो, सुबोध दाई लाई नदोहोर्याउनुस भनेका हौ तर आज परिस्थिति अर्कै भइस्यो।’
हिरा गुरुङले संस्थापन पक्षबाट विद्रोह गरेका थिए। अघिल्लो चुनावमा उनलाई अमेरिकाका लागि मेरिल्यान्डका पहिलो विधायक ह्यारी भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका अमेरिका संयोजक रमेश भट्ट लगायतले समर्थन गरेका थिए। तर पनि चुनाव सुबोध पन्तले जिते।
बाना राजनीतिमा अवैतनिकमहाबाणिज्यदूत प्रेमराजा महत र प्रवासी नेपाली मञ्च अमेरिकाका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय कमिटीका अमेरिका इन्चार्ज प्रभु थापा लगायतको विषेश पकड रहँदै आएको छ।
शुरुमा संस्थापन पक्षमा रहेका हिरा गुरुङले विद्रोह गरेका थिए। त्यो समय हिरालाई एक पटक कुर्न भनिएको तर नमानेको आरोप लाग्दै आएको छ।
यस पटक संस्थापक पक्षको समर्थन हिरा वा लक्ष्मी मध्ये कसलाई रहने भन्ने टुङ्गो लागेको छैन। हिराले अघिल्लो पटक नै नटेरेको र लक्ष्मी पनि रमेश भट्ट नजिक रहेकाले संस्थापन पक्ष थप दबाबमा परेको बताइएको छ।
लक्ष्मीले रमेश सँग भाइ टिका लगाउँदै आएकी छन्। उनले पारिवारिक सम्बन्ध र बानाको राजनीतिलाई एक ठाउँमा राख्न नहुने बताइन्।
‘यो धेरै पहिला देखि भनिँदै आइएको कुरा हो तर बानामा काम गर्दा त्यस्तो भएको छैन, यस पटक उहाँहरूले मलाई नै सहयोग गर्नु हुन्छ।’ लक्ष्मीले भनिन्।
यद्यपी संस्थापन पक्षले तेस्रो विकल्प खोजेमा आश्चर्य नहुने बाना राजनीतिका जानकार बताउँछन्।
हालका उपाध्यक्ष भीम केसीलाई उनीहरुको उत्तम विकल्पको रुपमा लिइएको छ।