नेपाल पहिलोपटक उमेर समूह फुटबलमा भुटानसँग पराजित
काठमाडौं । नेपालको उमेर समूहले जहिले पनि जित्दै आएको भुटानसँग उमेर समूह अर्थात् युवा टोली पराजित भएको छ । यो पहिलो पटक हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको मैत्रीपूर्ण खेलमा नेपाली टिम भुटानको यु-१६ टोलीसँग ५-१ को फराकिलो पराजय भोग्न बाध्य भयो छ।
भुटानले खेलको पहिलो हाफमै ३-० को फराकिलो अग्रता लिएको थियो। २३औं मिनेटमा खान्दु सोमोले मिलाएको बल रोक्न नसक्दा सोनम सोज्ञालले पहिलो गोल गर्दै भुटानलाई अग्रता दिलाइन्।
त्यसको ११ मिनेटपछि, पुन: खान्दु सोमोको पासमा छिरिङ लामोले दोस्रो गोल थपिन्। नेपाली डिफेन्डरहरूबीचको तालमेलको कमीले भुटानका लागि अवसर सिर्जना गरिरहेको थियो। पहिलो हाफको अन्त्यतिर छिरिङले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई ३-० को बलियो स्थितिमा पुर्याइन्। दोस्रो हाफमा पनि भुटानले आफ्नो दबाब कायम राख्न सफल भयो। खेलको ६५औं मिनेटमा सोनमले व्यक्तिगत दोस्रो र भुटानका लागि चौथो गोल थपिन्।
८४औं मिनेटमा युगेन सोमोले पेनाल्टीमार्फत पाँचौं गोल गर्दै भुटानलाई ५-० को अग्रतामा पुर्याइन्। नेपाली डिफेन्डरहरूको कमजोर प्रदर्शन र गोलकिपरको असुरक्षित खेलले भुटानलाई सहजै गोल गर्ने अवसर जुटाएको थियो।
खेलको अन्त्यतिर, ८७औं मिनेटमा ज्ञान्शु डोल्मा लोको क्रसमा वैकल्पिक खेलाडी सविना तामाङले गोल गर्दै नेपालका लागि सान्त्वना गोल गरिन्। खेल ५-१ मा टुंगियो ।
यो खेलले नेपाली यु-१६ टोलीको कमजोर तालमेल, रक्षात्मक त्रुटि, र फिनिसिङको समस्यालाई उजागर गरेको छ ।