पूर्वगृहमन्त्री रवि लामिछाने कहिले रिहा हुन्छन् ?
काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारीको अनियमिततासम्बन्धी अभियोगमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेको अनुसन्धान प्रतिवेदन कास्की जिल्ला प्रहरी कार्यालयले सरकारी वकिललाई बुझाएको छ।
अब सरकारी वकिलले जिल्ला अदालत कास्कीमा अभियोजन दर्ता गरेपछि मात्र अदालतले रविलाई धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने निर्णय गर्नेछ। तर, रवि हिरासतमुक्त हुने सम्भावना सहज देखिँदैन।
कास्कीबाहेक थप चार जिल्लामा समेत रविविरुद्ध अनुसन्धान भइरहेको छ। ती सबै अदालतले बयानका लागि पक्राउ अनुमति लिइसकेका छन्। कास्की प्रहरीको अनुसन्धान अवधि सकिन लागेको अवस्थामा सोमबार सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाइएको हो।
कास्की जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीबाट प्राप्त प्रतिवेदन दर्ता भएको र अध्ययन सुरु नभएको बताइन्। अध्ययनपछि मुद्दा चल्ने वा नचल्नेबारे निर्णय हुने उनले जनाइन्। “हाल उपलब्ध म्याद पर्याप्त छैन, थप म्याद आवश्यक पर्छ,” उनले भनिन्।
कास्की अदालतले रविलाई धरौटीमा रिहा गरे पनि उनलाई तत्काल रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिनेछ। रुपन्देहीको प्रक्रिया सकिएपछि चितवन, काठमाडौं र पर्सामा समेत अनुसन्धान र कानुनी प्रक्रिया चल्नेछ।
रविविरुद्ध ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता भएका छन्। कास्कीमा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीलाई ९० दिनको अनुसन्धान समय उपलब्ध छ। प्रहरी प्रवक्ता डीएसपी वसन्त शर्माका अनुसार हदम्याद सकिन चार दिन मात्र बाँकी छ।
देशका विभिन्न पाँच जिल्लामा फरक घटनास्थल र मुद्दा दर्ता भएका कारण रवि लामिछानेले छिटै हिरासतमुक्त हुने अवस्था नरहेको सरकारी वकिलहरूको भनाइ छ। “छिटो गरे पनि उहाँहरूले तीन महिना हिरासतमै बस्नुपर्ने देखिन्छ,” काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताले बताए।
प्रहरी र सरकारी वकिलका प्रक्रिया पूरा भएपछि मात्र अदालतले थुनछेक बहस गरी निर्णय लिनेछ। रवि लामिछानेका समर्थकले उनी रिहा हुने आशा गरिरहेका भए पनि कानूनी प्रक्रिया लामो हुने स्पष्ट संकेत देखिएको छ।