नेपाल पत्रकार महासंघको नतिजा सार्वजनिकमा ढिलाई

काठमाडौं । शुक्रबार देशैभर भएको नेपाल पत्रकार महासंघको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुन ढिलाई भएको छ ।
काठमाडौं शाखाको मतगणनामा विवाद देखिएपछि सिनामंगलस्थित नेपाल पत्रकार महासंघको मतगणना स्थलमा ताला लगाइएको छ ।
ताला लगाइएको विषयमा अध्यक्षका प्रत्याशी रमेश विष्टले गम्भीर आपत्ति जनाएका छन्।
‘निर्वाचन समितिको निष्पक्षतामा गम्भीर प्रश्न उठेको छ,’ विष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मतगणना स्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्तिजनक छ।’ उनले कोषाध्यक्ष पदको परिणाममा धाँधली गर्न खोजिएको र प्रहरी प्रशासनको दुरुपयोग गरिएको आरोप पनि लगाएका छन्। कोषाध्यक्षमा विष्ट प्यानलका रामकृष्ण अधिकारी र निर्मला शर्मा प्यानलका रामकृष्ण ज्ञवालीबीच एकदमै प्रतिस्पर्धा छ।
कोषाध्यक्ष पदमा १०-२० मतको मात्रै हार जित हुने सम्भावना अत्याधिक भएकाले धेरैले चासोका साथ लिएका छन् ।
यसबाहेक, विष्टले अछामको पुनः मतगणना गर्न पनि माग गरेका छन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार, केन्द्रीय प्रतिनिधिको मतगणना सकिएको छ । तर केही जिल्लाको मतगणना अझै जारी रहेकाले जिल्ला र प्रदेशस्तरबाट प्राप्त विवरणको रुजु गरी चुनावी नतिजा सार्वजनिक गरिने तयारी भइरहेको छ।
हालसम्मको अनौपचारिक परिणामअनुसार, पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा १,००० भन्दा बढी मतको फराकिलो अन्तरले विजयी हुने निश्चित भएको छ।
महासंघको अध्यक्षमा शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामाले प्रतिस्पर्धा गरेका थिए। केन्द्रीय पदाधिकारीका अधिकांश पदमा पनि शर्मा नेतृत्वको प्यानल निर्वाचित हुने निश्चित भइसकेको छ ।