माओवादी विचारधारामा लाग्न कर्मचारीलाई प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिएको बताउँदै यसलाई अब व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजवादी लक्ष्यलाई पूरा गर्न सबैले भूमिका निभाउनुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकालमा सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका मुद्दाहरूमा केन्द्रित भएर काम गरेको स्मरण गराएका थिए। उनले भने, “भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा, विभेदविरुद्ध र सामाजिक न्यायका पक्षमा लिएका अठोटहरूमार्फत समाजवादको भ्रुण रोप्ने काम गरिएको छ।”
उनले विगतका गल्तीहरूबाट पाठ सिक्दै आत्मसमीक्षा गरेको र नयाँ शीराबाट पार्टी र आन्दोलनलाई अघि बढाउन प्रतिबद्ध रहेको बताए ।
अध्यक्ष प्रचण्डले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्ग, गरिब किसानका लागि ऋणमोचन, र अन्य विकास निर्माणका काममा थालनी गरेको भए पनि पार्टी एकताका कमीले ती उपलब्धिहरूलाई जनतामा स्थापित गर्न नसकिएको बताए । दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य र संविधान कार्यान्वयनजस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल भए पनि जनताको विश्वासमा कमी आएको उनले स्वीकार गरे ।
उनले भने, “हामीले वर्ग र समुदायप्रतिको निष्ठा कमजोर बनायौं। आत्मसमीक्षाको गहिरो चरणमा पुगेपछि मात्रै तेस्रो कार्यकालमा पुनर्जागरणको सुरुवात गर्न सकेका छौं।”
अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वमा कर्मचारीतन्त्र सुधार, योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने प्रक्रिया, र वर्षौंदेखि रोकिएका कानुन निर्माणलाई अघि बढाएको दाबी गरे । उनले भने, “सुशासनका पक्षमा उठाएका कदमहरूले जनतामा आशा र विश्वास पलाएको छ।”
समाजवाद निर्माणको अभियानलाई अघि बढाउन प्रचण्डले सबै नेता, कार्यकर्ता, र निकट कर्मचारीहरूलाई माओवादी विचारधारामा दृढताका साथ लाग्न आग्रह गरे । उनले भने, “अन्याय नगर्ने, भ्रष्टाचार नगर्ने, र सामाजिक न्यायका एजेण्डालाई बल पुर्याउँदै समाजवादको भ्रुणलाई फूल्न र फलाउन तपाईँहरू फौजका रूपमा अघि बढ्नुपर्छ।”
अध्यक्ष प्रचण्डले पार्टीभित्रको एकता, जनताको विश्वास, र विगतका उपलब्धिहरूको पुनरुत्थानलाई प्राथमिकता दिँदै नेपालको समाजवादको यात्रा अघि बढाउने संकल्प व्यक्त गरे ।