रवि लामिछाने अझैं ४ दिन हिरासतमै रहने
काठामाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार लामिछानेमाथि थप अनुसन्धानका लागि अदालतले ४ दिनको म्याद थपेको हो। सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनलाई रुपन्देही, काठमाडौं, र चितवनमा समेत लगेर बयान लिइएको थियो। विभिन्न स्थानमा बयान सकिएपछि अहिले उनीमाथि कास्कीमा थप अनुसन्धान भइरहेको छ।
सुरुमा सहकारी ठगी र संगठित अपराधका आरोपमा अनुसन्धान सुरु भए पनि कास्की प्रहरीले पछिल्लो समय उनलाई सम्पत्ति शुद्धीकरणको आरोपमा समेत अनुसन्धान गर्दै आएको छ।
लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, र चितवनको साहारा सहकारी संस्थाहरूको रकम हिनामिनामा संलग्न भएको आरोप छ। यी सहकारीहरूसँग जोडिएका आर्थिक कारोबारमा अनियमितता भएको आशंकामा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।
लामिछानेलाई अहिले प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहे पनि मुद्दा जटिल भएकाले समय लाग्न सक्ने बताइएको छ। सार्वजनिक चासोको विषय बनेको यस प्रकरणमा प्रहरीले उपलब्ध प्रमाणका आधारमा थप कारबाही अघि बढाउने जनाएको छ।