दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्ने अनुमति
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
साइबर ब्यूरोका डीआईजी नविन्द अर्यालका अनुसार, ५ मंसिरमा पक्राउ परेका प्रसाईंलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पहिलोपटक ५ दिनको म्याद दिइएको थियो। त्यसपछि, मंसिर ९ मा अदालतले फेरि ५ दिनको म्याद थप गरेको थियो।
दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको दाबी गर्दै केही कागजात सार्वजनिक गरेका थिए। सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले प्रस्तुत गरेका कागजातहरू फर्जी भएको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।
महान्यायाधीवक्ताको कार्यालयले साइबर अपराध नियन्त्रण ऐन, २०६३ अन्तर्गतको कसुरसँगै अन्य गम्भीर कानुनी विषयहरूमा पनि अनुसन्धान गर्न सुझाव दिएको छ।
यसका अतिरिक्त, प्रहरीले व्यवसायीहरूलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ।