मतगणनाको अपडेट आयोगको वेभसाइटमा उपलब्ध हुने
काठमाडौं । मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मत परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने आयोगले जनाएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोग भनाई छ।
उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ। उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ।
सो दिन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदका लागि मतदान हुनेछ ।