बिपिन र स्वस्तिमा उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित
काठमाडौं । वर्ष २०८० को उत्कृष्ट अभिनेता विपीन कार्की र उत्कृष्ट अभिनेत्रीमा स्वस्तिमा खड्का घोषित भएका छन् । राष्ट्रिय चलचित्र अवार्ड २०८० मा विपीन र स्वस्तिमाले बाजी मारेका हुन् । विपीनले ‘प्रसाद–२’बाट र स्वस्तिमाले ‘दिमाग खराब’बाट यो अवार्ड जितेका हुन् । उत्कृष्ट चलचित्रको अवार्ड ‘बुलाकी’ले पाएको छ ।
उत्कृष्ट निर्देशकको अवार्ड ‘दिमाग खराब’बाट निश्चल बस्नेतले जितेका छन् । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेर अवार्ड वितरण गरिएको हो ।
सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न आग्रह गरे ।
पौडेलले भने– ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रवन्ध गरी गुणस्तरीय र अन्तराष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उत्रारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरुलाई आव्हान गर्दछु । यसमा नेपाल सरकारले आवश्यक नीति, नियमसहित पर्याप्त पूर्वाधार र स्रोतसाधन जुटाउन सहयोग गर्ने मैले विश्वास लिएको छु ।’
राष्ट्रपति पौडेलले ठूला ठूला विषयबस्तु भन्दा गाँउसमाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जर्गाना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताए ।
उनले पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरे। राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नविनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाईमा पुर्याउने बताए ।
उनले चलचित्र चेतना, शिक्षा र नवीन सोचको द्योतक भएको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन नैतिक शिक्षा र सामाजिक न्यायको सन्देश दिने खालको चलचित्र निर्माणतर्फ तपाईहरुको ध्यान जानुपर्ने उल्लेख गरे । राष्ट्रपति पौडेलले भने–‘चलचित्र क्षेत्र केवल मनोरञ्जनको माध्यममात्र नभएर यो हाम्रै समाज, जीवन र जगतलाई जीवन्त ढंगले अभिव्यक्त गर्ने एक सशक्त माध्यम पनि हो । यसका कथा र प्रस्तुतिमा मानिसका भोगाई र समाजका यावत क्रियाकलाप प्रतिविम्वित भएको हुन्छ । तसर्थ, यो समाजको ऐना पनि हो । आधुनिक युगमा चलचित्र कुनैपनि समाजको संस्कृति, पहिचान र विविधतालाई देश तथा विदेशमा सहजै पु¥याउने माध्यम बनेको छ । यसबाट हामीले पनि लाभ लिन जरुरी छ ।’
उनले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसंगतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास वोर्डलगायतका निकायहरुले उचित कदम अगाडि बढाउन जरुरी रहेको बताउँदै भने–‘यस क्षेत्रमा प्रतिभाशाली जागरुक युवाहरुलाई अवसर दिन, राम्रा चललचित्र बनाउने र राम्रो अभिनयलाई उत्प्रेरित गर्नेतर्फ विकास बोर्डको ध्यान सदैव केन्द्रित हुनुपर्छ ।’ राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवि सिंहलाई ३ लाख ७५ हजार सहित प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।
सम्मानितहरूको सूची
उत्कृष्ट चलचित्रः बुलाकी
उत्कृष्ट अभिनेताः विपीन कार्की (प्रसाद–२)
उत्कृष्ट अभिनेत्रीः स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशकः निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादकः मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकारः शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखनः राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रः लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कारः
अभिनेत्री– स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक चलचित्र– जारी (वि.सं. २०८०)
विशेष योगदान सम्म्मानः
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक/निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष चलचित्र पुरस्कारः
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
चलचित्र दीर्घ साधना सम्मानः
चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)