मेयर बालेनको जरिवाना पत्र एमालेले बुझ्न मानेन
काठमाडौं । काठमाडौं महानगर पालिकाले गरेको जरिवानको पत्र बुझ्न नेकपा एमालेको केन्द्रीय कार्यालयले अस्वीकार गरेको छ ।
शुक्रबार दरबारमार्गमा एमालेले गरेको जागनरसभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गर्ने जनाएको थियो । सोही जरिवानापत्र आइतबार बुझाउन महानगरको टोली एमाले मुख्यालय च्यासल पुगेको थियो ।
तर केन्द्रीय कार्यालयले उक्त कार्यक्रमको आयोजक आफूहरु नभएको भन्दै पत्र नबुझेर महानगरपालिकाका कर्मचारीलाई फिर्ता पठाएको हो ।
एमालेले गरेको जागरण सभा नसकिँदै काठमाडौं महानगरपालिकाले १ लाख जरिवाना तिराउने पत्र सार्वजनिक गरेको थियो ।
तर, एमालेले भने फोहोर सफा गरिरहेको बेला जरिवानाको चिर्कटो सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको छ ।
उक्त प्रकरणपछि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै एमालेमाथि परिचालित भएको आरोप लगाएका थिए ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ ।