लेबनानमा आक्रमणमा परेर २२६ स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं । लेबनानमा १३ महिनादेखि भइरहेको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । गएको वर्ष अक्टोबर ७ तारिखमा गाजामा इजरायली आक्रमण शुरू भएयता लेबनानमा मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच तेह्र महिनाभन्दा लामो समयदेखि भइरहेको सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा एक सय ८७ वटा आक्रमणका घटना भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
प्राप्त तथ्याङअनुसार सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ तारिखसम्ममा दुई सय २६ स्वास्थ्यकर्मीको मृत्यु भएको र एक सय ९९ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।
हालैका घटनापछि गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्याएको छ । डब्लूएचओले लेबनानका एक सय ५३ अस्पतालमध्ये १५ वटा बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको जनाएको छ ।
पूर्वी क्षेत्रका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले स्वास्थ्य सेवामा हुने आक्रमणबाट स्वास्थ्यकर्मीले ज्यानै गुमाउनुपर्ने र त्योसँगै उनीहरु माथि गरिएको लगानी पनि गुम्ने अवस्था चिन्ताजनक रहेको बताएका छन् ।