महानगरको अनुगमन : २० वटा राम्रा, दर्ता नभएका २ सय पसल भेटिए
काठमाडौँ । गएको असोज १० गतेदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमन गरिएका ४९७ पसलमध्ये २० वटा (४.०२ प्रतिशत) राम्रा भेटिएका छन् । १३३ वटा (२६.७६प्रतिशत) मा म्याद सकिएका बस्तु भेटिए । ३११ वटा (६२.५७प्रतिशत) मा मूल्य सूची थिएन । २ सय वटा (४०.२४प्रतिशत) व्यवसाय नै दर्ता नगराई सञ्चालन भएका पाइए । यसरी अनुगमन गरिएका पसलमध्ये ४३८ वटा किराना, १८ वटा मिठाइ, १९ वटा ड्राइ फुड, ७ वटा मसला र १५ वटा डेरी पसल थिए ।
यस्तै कार्तिक २९ गतेदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेष्टुरेन्टको अनुगमनका क्रममा ५२ वटा व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा (८६.५८प्रतिशत) मा व्यक्तिगत सरसफाइमा कमी देखियो । ४० वटा (७६.९२प्रतिशत) को भान्छा र कार्यस्थलको सरसफाइमा कमी देखियो । १३ वटा (२५प्रतिशत) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो ।
विहीबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य सचिव एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेश गर्दै यस सम्बन्धी जानकारी दिए ।
प्रतिवेदनले उठाएका विषयमा धारणा राख्दै समितिका संयोजक डंगोलले, अनुगमन कार्य कारवाही गर्ने उद्देश्यले नभइ उपभोक्ताले स्वच्छ, सुपथ र सहज सामान प्राप्त गर्ने वातावरणका लागि गरिएको उल्लेख गरिन् । ‘कसैलाई कारवाही गर्नु नपरोस् । जरिवाना तिराउनु नपरोस् । यस्तो आदर्श र स्वचालित बजार बनाउन सकियोस् । यसको निगरानीका लागि वडास्तरीय अनुगमन समितिलाई सक्रिय बनाऔँ । क्षमता विकास गराऔँ । साझेदार कार्यालयहरुसँग सहकार्य बढाऔँ । वहुसाझेदार संयन्त्रबाट नतिजाका लागि काम गरौँ ।’
वैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी, उपभोक्ता अधिकारकर्मीसहित सहभागी थिए । उनीहरुले महानगरपालिकाले अनुगमन कार्यलाई तीब्र बनाएपछि अवस्थामा सुधार आएको महसुस भएको उल्लेख गरिन् ।
‘उत्पादन (प्रडक्ट)’ र ‘प्रक्रिया (प्रोसेस)’ कन्ट्रोलमा अझै काम गर्नु पर्ने बैठकले औँल्याएको छ । बजारमा विस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचअप, जाम जस्ता खाद्य बस्तुमा म्याद सकिएको भेटिएको छ । रसायन भएका बस्तुसँगै खाद्य बस्तु राखिएको, मूल्य सूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसरको सरसफाइमा ध्यान नदिएको, लेवल नभएका बस्तु बेच्न राखिएको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए । मसीले छापिएका लेवलको खाद्यबस्तुसँग सिधा सम्पर्क भएको अनुगमनका क्रममा देखिएको छ ।
मिठाइ पसलहरुमा स्वीकृत कोलटार रङ्गहरु प्रयोग गरिए पनि मात्रा नमिलाएको, तेललाई बारम्बार प्रयोग गरिएको, मिठाइमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडाको सरसफाइमा उचित ध्यान निदिएको पाइएको छ ।
मःम पसल, होटल र रेष्टुरेन्टहरुमा व्यक्तिगत सरसफाइमा कमजोरी रहेको, दैनिक रुपमा प्रयोग हुने एप्रोन समेत फोहर भएको, भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेको, मसला राख्ने भाँडा फोहर भएको, भान्छाको भुइँमा पानी जमेर फोहर भएको, डस्टविनको उचित प्रयोग नभएको, पकाएका खानेकुरा खुला राखिएको, मांसाहारी र शाकाहारीका भोजन संगै भण्डारण गरिएको, पकाएको र नपकाएका खानेकुरा सँगै राखिएको, किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ ।
यी समस्या समाधानका लागि अनुगमन टोलीले स्थलगत रुपमै निर्देशन र सुझाव दिएको थियो । यसरी दिएको सुझावका आधारमा ८ वटा होटल, रेष्टुरेन्टले सुधार गरेको भिडियोसहित विभागमा उपस्थित भएका छन् ।
महानगरपालिकाले खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता ः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । यसमा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रका व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धी तालिम प्रदान गरिन्छ ।
तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइयो । दोस्रो संस्करणमा दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइएको थियो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा १६२ जनालाई तालिम दिइएको छ ।