अमेरिकामा ७५ जना नेपाली भाषीको सामूहिक बृहत् पदयात्रा (भिडियो)
पेन्सिल्भेनिया/ नोभेम्बर १७ तारिख राष्ट्रिय हाइकिङ दिवस। इन्सपायर्ड टु एक्सप्लोरका अध्यक्ष निल हरि भण्डारी बिहान झिसमिसे देखि नै व्यस्त थिए। उनको संस्थाले मेरील्याण्ड हाइट्स ट्रेलको चाँजो मिलाएको थियो। पदयात्रामा सहभागी हुन तोकिएको प्वाइन्टमा केही आइसेका थिए कति आउँदै। दुबैलाई उनी कार्यक्रमबारे अर्थाउँदै थिए।
सहभागीलाई बिहान साँढे सात बजे सम्ममा पेन्सिल्भेनियाको ह्यारिसबर्ग वा क्याम्हिपल लोकेसनमा आउन भनिएको थियो। तोकिएकै समय भन्दा केही पछि यात्रा शुरु भयो। १५ सिटको क्षमता रहेको सात वडा गाडीले युएस १५ साउथ हाइवे समात्यो।
पद यात्रा शुरु हुने ठाँउ पुग्न दुई घण्टाको ड्राइभ गर्नु पर्ने थियो। गाडी गुडिरह्यो। दाहिने पट्टी आकासलाई छुन खोजेका पहाडका थुम्काहरू थिए। त्यसका तल ठुला फाँट। अनि त्यही फाँटमा गाइका गोठहरू र घोडाका तबेलाहरू प्रशस्त देखिन्थे।
घाम लाग्न थालिसकेको थियो। रुखविरुवा नाङ्गिँदै गरेका भए पनि दृश्य सुन्दर नै थियो। गाडीमा सवारहरू आ आफ्नै धुनमा थिए।
बाहिर अलि पहिलेका भन्दा केही अग्ला चट्टाने पहाड देखिन थाले। हामीले सेनेनदोहा नदी तर्यौ। नोभेम्बरमा प्रायशः रुखहरूमा पात झरेका कारण सडकबाटै नदीको पानी हेर्न हामीलाई सजिलै भयो।
दुई घण्टा कटेको पत्तै भएन। गाडी हार्पर्स फेरी नेश्नल हिस्टोरिकल पार्कको गेटमा पुगेर रोकियो। पार्कभित्र जान शुल्क लाग्ने रहेछ। तर तपाई सँग नेश्नल पार्कको आइडी वा अमेरिकी सेनाको कार्ड छ भने शुल्क तिर्नु पर्दैन।
सहभागी सबै जनाको गाडी पार्क गरे पछि खाजा बाढ्ने काम शुरु भयो। आयोजकले सहभागी सबैलाई लन्च र पानीको व्यवस्था निःशुल्क उपलब्ध गराएका थिए तर अब यस पछि पदयात्रा शुरु हुने भएकाले आ आफ्ना भाग सहभागी आफैले नै बोक्नु पर्ने थियो।
पदयात्रा शुरु हुनु अगाडि सहभागी सबैलाई गोलबद्ध गराएर टोली नेता इन्सपायर्ड टु एक्सप्लोरका अध्यक्ष निल हरि भण्डारीले अर्थाउँदै थिए।
नोभेम्बर तेस्रो साता भए पनि मौषम गज्जबको थियो। पहारिलो घाममा ७५ जनाको टोलीले ६ माइलको पदयात्रा शुरु गर्यो।
शुरुमा वनको बाटो, ओरालो झर्नु पर्ने। चटक्क मिलाइएका सिडीहरू ओर्लियौ । खोल्सीमा सानो खोलीले आफ्नो उपस्थिति जनाइरहेको थियो।
सहभागीहरू रमाइरहेका थिए। नेपाली भाषामा गीत गाउँदै ठुलो टोली हिँड्दा अन्य पनि आश्चर्य र रोमाञ्चित देखिन्थे।
केही मिनेट तेस्रो बाटो हिडे पछि हार्पर्स फेरी राष्ट्रिय पार्क भित्रको सानो शहर पुग्यौ। त्यही शहरको पारी पट्टी पत्थरै पत्थरको पहाड देखियो। हो यही पहाडको थाप्लोमा पुग्नु आजको गन्तव्य थियो।
रेलको ट्याक सँगै रहेको पोटोम्याक नदी माथिको पुल तर्दै हामी अगाडि बढ्यौ। पोटोम्याक नदीलाई देब्रे पारेर हिँड्दा सम्म आनन्द नै आएको थियो तर जब सानो काठको पुल तरेर उकालो लाग्यौ त्यस पछि खास पदयात्रा शुरु भयो। गोडाले उकालो नाप्न थाल्यो। केही बाटो छोट्टाउन हिँड्दै थिए अनि केही थकाइ मार्दै थिए।
भन्ज्याङ्गमा पुगे पछि फेरि ओरालो यात्रा शुरु भयो। अघि गलेका गोडा फेरि काँप्न थाले। ढुङ्गै ढुङ्गाले भरिएको ओरालो बाटो हिँड्दा होसियार हुनै पर्छ। तर जब गन्तव्यमा पुगिन्छ नि त्यस पछि अघि हिँड्दा गलेका गोडा आफै ठिक हुन्छन्।
थाप्लोमा पुगे पछि खोइ खान थाले कोही फोटो खिच्न अनि ढुङ्गाको चुचुरोमा बसेर नाच्न गाउन।