मिसाइल प्रयोग अनुमतिले अमेरिकी राष्ट्रपति बाइडेनको आलोचना
पेन्सिल्भेनिया । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीका अमेरिकी मिसाइल प्रयोग गर्न स्वीकृति दिएपछि पूर्व राष्ट्रपति (नव निर्वाचित) डोनाल्ड ट्रम्पका समर्थकहरूले बाइडेनले ह्वाइटहाउस छाड्नु अघि युक्रेन-रूस युद्धलाई चर्काएको आरोप लगाएका छन्।
इएलन मस्कले रिपब्लिकन सेनेटर माइक लीको पोस्टलाई जवाफ दिँदै यो कदम “सत्य” भएको बताएका छन्। मस्कले पोस्टमा भनेका छन्, “यसले देखाउँछ कि लिबरलहरूलाई युद्ध मनपर्छ।”
ट्रम्प प्रशासनका पूर्व राष्ट्रिय गुप्तचर निर्देशक रिचर्ड ग्रेनेलले बाइडेनले कार्यालय छोड्नु अघि युद्धलाई चर्काएको आरोप लगाए। उनले लामो दुरीका मिसाइलहरू प्रयोगको स्वीकृति “नयाँ युद्ध सुरु गर्ने” कदम भएको टिप्पणी गरेका छन्।
तर, ट्रम्पले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।उनका विदेशमन्त्री पदका उम्मेदवार मार्को रुबियो, रक्षा मन्त्रीका उम्मेदवार पिट हेगसेथले पनि कुने टिप्पणी गरेका छैनन्।
राष्ट्रपति पदको चुनावी अभियानका क्रममा ट्रम्पले रूस-युक्रेन युद्धलाई छिटो अन्त्य गर्ने वाचा गरेका थिए। तर, उनले यो कसरी गर्ने भन्नेबारे स्पष्ट रूपमा जानकारी दिएका थिएनन्। यद्यपि, कीभका सहयोगीहरूले ट्रम्पको योजना अनुसार युक्रेनले ठूलो भूभाग गुमाउन सक्ने सम्भावना रहेको संकेत गर्छन्।
यो विषयले अमेरिकी राजनीतिक वृत्तमा बहसको वातावरण सिर्जना गरेको छ। लामो दुरीका मिसाइलहरूको स्वीकृतिले युद्धको स्वरूप परिवर्तन हुने विश्लेषकहरूले बताएका छन्।