रवि विरुद्ध काठमाडौं अदालतबाट पनि पक्राउ पुर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीशले आइतबार लामिछाने र जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो।
प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि प्रारम्भिक अनुसन्धान भएको थियो। हाल जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धानलाई तीब्रता दिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका उनीहरू सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिएर हाल हिरासतमा छन्।
यस अगाडि स्वर्ण लक्ष्मी सहकारीका अध्यक्ष जीबी (गीतेन्द्रबाबु) राई, कोषाध्यक्ष कुमार रम्तेलसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कुमार रम्तेललाई रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान लिएपछि स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको भन्दै अनुसन्धान गर्न काठमाडौं झिकाइएको छ।