अमेरिकाको न्यु योर्कमा न्हू दँया भिंतुना र्याली, नेपाल सम्वत ११४५ मनाइयो
न्यु योर्क, अमेरिका/ नेपाल सम्वत् ११४५ को उपलक्ष्यमा नेवाः गुठी न्यु योर्क र नेवाः नखः न्यु योर्कको संयुक्त आयोजनामा गत नोभेम्बर २ तारिख शनिवारका दिन अमेरिकाको न्यु योर्कस्थित ज्याक्सन हाईटको डाइभर्सिटी प्लाजामा न्हू दँया भिंतुना र्यालीको आयोजना गरिएको थियो । २०८१ कार्तिक १७ गते शनिवार, प्रतिपदा तिथि तदनुसार नेपाल सम्वत ११४५ को नयाँ वर्षको पहिलो दिन हो । नेपाल सम्वत नेपालको राष्ट्रिय सम्वत हो ।
तिहारको चौथौँ दिन म्ह पूजा अर्थात् गोवर्धन पूजाको दिनमा पर्ने नयाँ वर्ष नियमित रूपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यताका साथ मनाउँदै आइरहेको छ । न्हू दँया भिंतुना कार्यक्रम सुरु हुनु अगाडि उपस्थित सबैलाई परम्परागत रूपमा सगुन स्वरूप टीका, फूल र कोखा वितरण गरिएको थियो ।
नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै सुरु भएको न्हू दँया भिंतुना कार्यक्रमको सञ्चालन नेवाः नखः न्यु योर्कका महासचिव श्री तुलसी नारायण चित्रकारले गर्नु भएको थियो । कार्यक्रममा नेवाः गुठीका अध्यक्ष श्री विजय मान सिंले उपस्थित सबैलाई स्वागत गर्नुका साथै सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो । उहाँले नेपाल सम्वतको महत्त्व र औचित्यको बारेमा जानकारी गराउनु भएको थियो । शंखधर साख्वाले तत्कालिन समयमा सबैको ऋण तिरेर सबै जनालाई ऋणमुक्त गरेको अवसरमा नेपाल सम्वत सञ्चालनमा आएको जानकारी दिनु भयो ।
नेपाल जनजाति महासंघ अमेरिकाकी कोषाध्यक्ष श्रीमती कृष्णा महर्जनले नेपाल सम्वत नेपाली सबैको सम्वत भएको बताउनु भयो । कार्यक्रममा नेवाः गुठीका सदस्य राजेन्द्र महर्जनले न्हू दँया भिंतुना र्यालीको नाराको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा नेवाः नखः न्यु योर्क अध्यक्ष डा. नरेश मान शाक्यले नेपाल सम्वत कसरी सञ्चालनमा आएको हो भन्ने जानकारी गराउँदै यसको महत्त्व भावी पुस्तासम्म पुर्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले कार्यक्रममा उपस्थित सबै सहभागी, सहयोगी र स्वयंसेवकहरू लाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
तत्पश्चात् न्हू दँया भिंतुना र्याली सुरु भयो जसमा सयौँ जनाको सहभागिता थियो । शंखधर साख्वाको फोटो भएको ब्यानर सहित विभिन्न प्लेकार्डका साथमा नेपाल सम्वत सम्बन्धी विभिन्न नारा लगाउँदै न्यु योर्कको ज्याक्सन हाइट्स् परिक्रमा गरेको थियो । जातीय पहिरनमा उपस्थित भएका सहभागीहरूका साथमा परम्परागत बाजागाजा सहित भिंतुना र्यालीले नगर परिक्रममा गर्दा धेरैजसो नगरवासीको ध्यान आकर्षण गरेको थियो । कतिपय अमेरिकन तथा अमेरिकामा बसोबास गर्ने अन्य देशका नागरिकहरूले भिंतुना कार्यक्रम र नेपाल सम्वतको बारेमा जानकारीका लागि सोधपुछ गरेका थिए । अमेरिकामा बसोबास गर्ने गैर नेपालीहरूले समेत अभिरुचिपूर्वक र्याली अवलोकन गर्नुका साथै र्यालीको भिडियो रेकर्ड गरेका थिए ।
प्रत्येक वर्ष दुवै संस्थाले संयुक्त रूपमा नेपाल सम्वतको उपलक्ष्यमा भिन्तुना र्याली गर्दै आएको कुरा नेवा: नख: न्यु योर्क पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णुमान प्रधान ले जानकारी दिनु भयो।
















