अमेरिकाको विभिन्न शहरमा मनाइयो छठ पर्व
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको विभिन्न शहरहरुमा छठ पर्व मनाइएको छ। छठ पर्व नेपाल र भारतको उत्तर क्षेत्रमा हिन्दुहरूले मनाउने ठुलो पर्व हो।
छठमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालमा तराई मधेशमा प्रख्यात यो पर्व पछिल्ला समयमा नेपालका पहाडी क्षेत्रमा पनि मनाउने गरिन्छ।
पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।
परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजन कीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
अमेरिकाका विभिन्न राज्यमा पनि नेपाली समुदायले विधि पूर्वक छठ मनाएका छन्। पेन्सिल्भेनियाको फिलाडेल्फिया नजिक एक्सटनमा बिहीबार साँझ देखि शुक्रवार बिहान सम्म विधि पूर्वक छठ मनाइएको छ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका संस्थापक अध्यक्ष तथा मधेशि एसोसिएसन इन अमेरिका माका प्रवक्ता सुभाष बैठाको घरमा छठको विषेश पूजा गरिएको छ।
बैठाले झन्डै एक दशक देखि यस क्षेत्रमा रहेका नेपालीलाई आफ्नो घरमा निम्ता गरी विषेश रूपमा छठ मनाउँदै आएका छन्। उनले कृत्रिम पोखरी बनाइ छठ पूजाका लागि सबै विधि पुरा गर्ने गरेका छन्। बैठाको घरमा भएको छठ विषेश पूजामा फिलाडेल्फिया वरिपरि रहेका नेपालीहरू सहभागी भएका थिए।
सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्म शुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् ।
मा का अध्यक्ष डा. संगित रौनियारका अनुसार अमेरिकाको टेक्सस, न्यु योर्क, फ्लोरिडा, क्यालिफोर्निया, एटलान्टा लगायतका ठाँउहरुमा पनि विधि पूर्वक छठ भनाइएको छ।