कुकुर तिहार र लक्ष्मी पूजा आजै
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य, र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजाको पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ।
यसै आधारमा आज बिहानै घर सफा सुग्घर गर्दै गाईको गोबर र रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, र भर्याङजस्ता स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।
लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गर्नको लागि पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हालका दिनमा पालामा दीयोको ठाउँमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ। प्राध्यापक रामचन्द्र गौतमका अनुसार दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा हो।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश, गणेशसहित लक्ष्मी र कुबेरको स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी, र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।
सन्ध्याकालमा लक्ष्मी पूजा गर्दा घरका नारीहरूले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको प्राध्यापक गौतमले बताउँछन्।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा, र सेलरोटी दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरेर झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ। शास्त्रीय रूपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने कुरा प्राध्यापक देवमणि भट्टराईले जानकारी गराए।