नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित
पेन्सिल्भेनिया। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा नेपालले स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा भएको यस खेलमा स्कटल्याण्डले पहिले ब्याटिङ गर्दै १५४ रन बनाएको थियो।
टस हारेर ब्याटिङ गर्न आएको स्कटल्याण्डको टोलीले सुरुमै आफ्नो विकेट गुमाउँदै दबाबमा खेलेको थियो। सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै स्कटल्याण्डको इनिङ्स ४१.४ ओभरमा मात्र १५४ रनमा समेटियो। सन्दीपले ३ विकेट लिँदै नेपाललाई बलियो स्थितिमा पुर्याए भने करन केसी, सोमपाल कामी, र गुल्शन झाले समान २/२ विकेट लिए। आरिफ शेखले १ विकेट लिएर आफ्नो योगदान दिए। स्कटल्याण्डका लागि मार्क वाटले ३४ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालले १५४ रनको लक्ष्य २९.५ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि आरिफ शेखले अर्धशतक प्रहार गर्दै ५१ रनको महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाउँदै टोलीलाई जित नजिक पुर्याए भने आसिफ शेखले २१ रनको योगदान दिए।
बलिङतर्फ स्कटल्याण्डका ब्राण्डम म्याकुलमले २ विकेट लिए भने ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए।
यस त्रिकोणात्मक शृङ्खलामा नेपालले आफ्नो पहिलो खेलमा अमेरिकासँग तीन विकेटले पराजित भएको थियो भने स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले हराएको थियो।