साफ फाइनलको टिकट एन्फा आफैले बेच्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्र टिकट उपलब्ध हुनेछ ।
एन्फाका टुर्नामेन्ट (प्रतियोगिता) निर्देशक सञ्जीव मिश्रले फाइनल खेलका लागि ११ हजार टिकट बिक्री गरिने बताउँदै १० हजार टिकट साधारणतर्फ र एक हजार टकट भीआईपीतर्फ उपलब्ध हुनेछन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको भए पनि अनलाइन टिकट किनेकाहरूको रकम फिर्ता गरिने एन्फाले जनाएको छ ।
टिकट बिक्रीका लागि एन्फा कम्प्लेक्स, भद्रकाली आर्मी गेट, र जावलाखेल मैदानमा काउन्टर राखिनेछ। टिकटको मूल्य साधारणका लागि ५ सय र भीआईपीका लागि १ हजार रुपैयाँ तोकिएको छ ।
टिकटमा सीमा निर्धारण गरिएका छन्; साधारण प्यारापिटका लागि एकजनाले बढीमा ५ वटा र भीआईपीका लागि २ वटा मात्र टिकट किन्न पाउनेछन् । साथै, एन्फाले दर्शकहरूलाई साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न आग्रह गरेको छ ।
नेपाल–भारतबीचको सेमिफाइनलमा क्षमता भन्दा बढी टिकट बिक्री गरिएको भन्दै एन्फाले अब टिकट बिक्रीको जिम्मा आफैंले लिने निर्णय गरेको हो। फिफा नियम अनुसार, रंगशालाको कुल क्षमताको २० प्रतिशत कम मात्र टिकट बिक्री गर्नुपर्नेमा सेमिफाइनलमा नियम उल्लंघन भएको एन्फाको ठहर छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले यसअघि खल्तीबाट भिआइपी तर्फ किनिएको टिकटको पैसा फिर्ता गर्न आफूहरुले भनिसकेको जानकारी दिए ।
उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दीपक खतिवडाले यसअघि टिकट विक्रीको जिम्मा पाएको कम्पनीले बद्मासी गरकोले एन्फा आफैले टिकट विक्री गर्न लागेको जानकारी दिए ।