एनआरएनएको एकताको विषयमा दायाँ बायाँ नगरौँ : कुल आचार्य
काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनलाई अपरिहार्य ठहर गर्दै सबै पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।
परराष्ट्र मन्त्रालयले कात्तिक १ मा एनआरएनए एकता महाधिवेशन गर्ने प्रस्तावसहित पूर्व अध्यक्ष शेष घलेलाई पठाएको पत्रलाई उनले सकारात्मक कदमका रूपमा स्वागत गर्दै संघको एकताबद्ध भविष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आचार्यले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै गैर आवासीय नेपाली संघलाई एकताबद्ध बनाउन एकता महाधिवेशन अपरिहार्य भएको बताए । उनी भन्छन्, ‘हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन। अबचाहिँ सच्चिएर अघि बढ्नुपर्छ ।’ एनआरएनएलाई अघि बढाउन सबै नेताहरू र सदस्यहरूले आफ्नो अडान र व्यक्तिगत स्वार्थलाई छाडेर संघको बृहत्तर हितका लागि एकताको महाधिवेशनमा सहभागी हुनुपर्ने कुरामा उनले जोड दिए ।
आचार्यले एनआरएनएमा साधारण सभा गर्ने पक्षमा रहेका बद्री केसी र उनका समर्थकहरूले पनि आफ्नो अडान र घमन्डलाई छाडेर संघको हितमा एकताको लागि अघि बढ्नुपर्ने बताए । उनले भने, ‘उहाँहरूको विचार होलान् तर संघलाई एकताबद्ध बनाएर अघि बढाउन सकिएको छैन। त्यस कारण उहाँहरूले आफ्नो अडानलाई छाड्नुपर्छ ।’ उनले संघका लागि सबैले उदार हृदयले एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
परराष्ट्र मन्त्रालयको पत्रपछि शेष घले नेतृत्वमा एकता महाधिवेशन हुने सङ्केत देखिएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१ औँ बैठकले उच्चस्तरीय समिति गठन गरेको थियो, जसको नेतृत्वमा शेष घले रहेका छन् । यसबारे संस्थापक अध्यक्ष सहितका अभियन्ताहरूसँग पनि छलफल भइसकेको जानकारी आचार्यले दिएका छन् ।
आचार्यका अनुसार, एनआरएनएलाई एकताबद्ध नगरेसम्म संघको हितमा काम गर्न नसकिने र नेपालको विकास र समृद्धिमा समेत यसको नकारात्मक असर पर्नेछ । उनले भने, ‘एनआरएनए एकता नभएसम्म यो संस्थाको हित हुन सक्दैन र नेपालको समृद्धिमा साझेदार बन्ने कुरामा पनि ठुलो आघात पर्न सक्छ ।’
आचार्यले संघलाई चलायमान राख्न र देशको समृद्धिका लागि व्यक्तिगत स्वार्थलाई छाड्न सबैलाई आह्वान पनि गरे । उनले एनआरएनएको एकता महाधिवेशन आगामी ६ महिनाभित्रै हुने विश्वास व्यक्त गरे ।
सर्वोच्च अदालतले वैधानिकता नदिएको एनआरएनएको १०औँ महाधिवेशनबाट चयन भएका तीन अध्यक्षमध्येका एक, आचार्यले अब संघलाई कानुनी र वैधानिक रूपमा अगाडि बढाउन एकताको महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अब हामी कसैले पनि दायाँबायाँ गर्न मिल्दैन । संघको एकताबद्ध भविष्यका लागि हामीले सबैलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ ।’
आचार्यले एनआरएनएको एकताको महाधिवेशन सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गर्दै यो महाधिवेशन संघको दीर्घकालीन हितका लागि अत्यन्त महत्त्वपूर्ण भएको बताए ।