न्यौपाने नेपाली फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त
ललितपुर। नवीन न्यौपाने नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको अन्तरिम प्रशिक्षकमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार न्यौपानेलाई राष्ट्रिय टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सुम्पेको जानकारी दिएको छ। एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
गत भदौ १३ गते बसेको एन्फाको आठौं कार्यसमिति बैठकले पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेससँगको सम्झौता नवीकरण नगर्ने निर्णय गर्दै नयाँ प्रशिक्षक नियुक्त गर्ने बताएको थियो। त्यसयता नेपाली टोली प्रशिक्षकविहीन अवस्थामा रहेको थियो। नेपाली टिमका लागि आवेदन माग गरे पनि एन्फाले त्यसको टुंगो भने लगाएको छैन।
नवीन न्यौपाने, एन्फा युथ एकेडेमीका प्रमुख पनि हुन्। यसअघि त्रिभुवन आर्मी फुटबल क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। उनको अनुभवका आधारमा एन्फाले उनलाई राष्ट्रिय टोलीको जिम्मेवारी दिएको हो।
त्यसैगरी, एन्फाले चेतन घिमिरेलाई सहायक प्रशिक्षक र नवीन महर्जनलाई गोलकिपिङ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। उनीहरुलाई पनि महासचिव राईले नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
नेपाली राष्ट्रिय टोलीले नोभेम्बर महिनाको फिफा विन्डो अन्तर्गत ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ। फिफा विन्डो नोभेम्बर ११ देखि १९ सम्म हुनेछ।