इन्द्र तामाङको ‘आत्मकथा’ ज्याक्सन हाइटमा लोकार्पण अक्टोबर २० तारिख

न्यु योर्क/ स्थानीय समाज सेवी इन्द्र तामाङको आत्मकथाको औपचारिक लोकार्पण अक्टोबर बिस तारिख न्यु योर्कको क्विन्स स्थित ज्याक्सन हाइटमा हुने भएको छ।
अमेरिकी लेखिका रोमी एस्बी सँगको सहकार्यमा तामाङले आफ्नो आत्मकथा ‘मेरो जिज्ञासु वर्षहरू चार्ल्स हेनरी फोर्डसँग, इन्द्र बी तामाङको आत्मकथा’ तयार गरेका हुन्।
‘उनी मेरी पुरानो साथी हुन्। २०-२५ वर्ष देखिको, हामी बिचको विगत साँढे तीन वर्षको मेहनत पछि पुस्तक तयार भयो।’ इन्द्र तामाङले समाज टाइम्स सँग भने।
टर्टल पोइन्ट प्रेसद्वारा प्रकासित दुई सय ६४ पेजको पुस्तक अंग्रेजी भाषामा रहेको छ। जसको मूल्य २४ अमेरिकी डलर राखिएको छ।
‘पुस्तक लेखिका र अन्य अमेरिकी पाठक बिचमा बुक ‘साइन’ भई सक्यो अब नेपाली पाठकहरूका लागि २० तारिख भेटघाट राखेको छु।’ इन्द्रले भने।

कार्यक्रम हिमालयन रेस्टुरेन्ट एन्ड बार पुरानो थकाली किचनमा (74-14 37th Ave, Jackson Heights, NY 11372) अक्टोबर २० तारिख दिउसो १२:३० देखि ४:३० सम्म हुने छ।
इन्द्र तामाङले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका छन्।
को हुन इन्द्र तामाङ
मकवानपुर फाखेल मूल घर भई पछिल्लो ५० वर्ष देखि अमेरिकामा बस्दै आएका व्यक्ति हुन्, इन्द्र तामाङ । ७० वर्षीय इन्द्र तामाङ चित्रकार पनि हुन्। उनले विगतमा पुराना कागजका टुक्राहरूलाई जम्मा पारेर उत्कृष्ट कोलाज तयार पारेका थिए। जसको प्रदर्शनी म्यानह्याटनमा सन् २०१७ मा भएको थियो। उनी कुशल फोटोग्राफर पनि हुन्।

अमेरिकी लेखक,फोटो ग्राफर तथा सिनेमा निर्देशक चाल्र्स हेनरी फोर्डको सहयोगीका रूपमा अमेरिका आएका इन्द्रले चाल्र्सकै सिको गर्दै फुर्सदको समयमा चित्रकला र फोटोग्राफी सिकेका हुन्।
विक्रम सम्वत २००९ सालमा फाखेलमा जन्मिएका इन्द्रले औपचारिक रूपमा लगभग दुई वर्ष मात्र स्कुलले शिक्षा लिएका छन् । बुवा स्वर्गीय बुद्धिमान र आमा काइँलीमायाका चार छोरा र दुई छोरी मध्येका जेठा हुन इन्द्र । एक घण्टाको पैदल पछि मात्र पुगिने हुनाले समकक्षी भन्दा केही ढिलो नै उनी कखरा सिक्न स्कुल पुगेका थिए । उनको घर एकान्तमा थियो, त्यसले गर्दा उनका बाल सखा थिएनन् । स्कुल जाँदा उनलाई अप्ठेरो लाग्ने, साथी भाइ सँग कसरी कुरा गर्ने, मास्टरले सोधे के भन्ने, यस्तै कुरा खेल्थ्यो । घर परिवारमा पनि पढ्नु पर्छ भन्ने संस्कार थिएन । छोरो स्कुल गए गाईबस्तु कसले हेरिदिने भन्ने चिन्ता अभिभावकलाई हुन्थ्यो ।

साथीहरू किताब कापी बोकेर स्कुल लाग्दै गर्दा नौ वर्षको उमेरमा इन्द्रले बर्खामा आरु तथा अन्य तरकारी र हिउँदमा केराउ बोकेर काठमाडौँको यात्रा गर्न शुरु गरे । सात आठ वर्ष यसरी नै बिताउँदा कहिले काँही दाउरा पनि काठमाडौँ ल्याएर बेच्थे ।
‘गाई बस्तुले चर्दै जाँदा पारी पट्टी आग्लो घाँस देख्छ’ भने जस्तै इन्द्रलाई आफूले गरेको कामले जीवन पार लाग्छ भन्ने लागेको थिएन । गाउँका अग्रजहरू काठमाडौँका होटेल तथा रेष्टुरेन्टहरुमा काम गर्थे । उनीहरूकै सहयोगमा खिचापोखरीमा रहेको पानोरामा होटेलमा इन्द्र किचन हेल्परको जागिरे भने । त्यति बेला विदेशी पाहुना बस्ने होटेल थियो त्यो,कखरा त मुस्किलले फुटाउने इन्द्रलाई अग्रेजीको “अ” पनि थाहा थिएन ।
एक दिन डाइनिङमा ब्रेकफास्ट सर्भ गर्दै थिए, एक जना पश्चिमा पाहुना उनलाई निहाल्दै थियो । इन्द्र प्रति लगाव राख्ने ती व्यक्ति थिए अमेरिकी लेखक तथा फोटोग्राफर चाल्र्स हेनरी फोर्ड । साह्रै अस्थिर थिए चाल्र्स । लामो समय एकै ठाउँमा बसिरहन नसक्ने । विश्वका विभिन्न ठाउँ घुमिरहनु पर्ने ।
चाल्र्सकी साथी जो आफै पनि साहित्यकार थिइन, रसियन मलुकी अमेरिकी नागरिक जीना रिसेप्स्की, उसकै निमन्त्रणामा चाल्र्स काठमाडौँ पुगेका थिए । तर चाल्र्सले भेट्नु अधि नै जीनाको निधन भइसकेको थियो ।
सो घटनाले विक्षिप्त बनेका चाल्र्सले होटेल छोडेर काठमाडौँमा डेरा लिए । डेरामा सहयोगीको रूपमा काम गर्न गरेको अफरलाई इन्द्रले त्यागे । “अंग्रेजी आउँदैन थियो, उ सँग काम गर्न सकिन भने त होटेलको जागिर पनि जाने भन्ने भयो।” हुन पनि चाल्र्सले केही महिनामै नेपाल छोडे ।
एक वर्ष पछि फेरी त्यही परिचित अनुहार होटेलमा देखियो । दोस्रो पटक नेपाल आएका थिए चाल्र्स । ज्ञानेश्वरमा महिनाको पाँच सय रुपैयाँ तिर्ने गरी पुरै घर भाडामा लिए । चाल्र्सको दोस्रो अफरलाई भने इन्द्रले नकारेनन् ।
अमेरिकी लेखक तथा फोटो ग्राफर चाल्र्स हेनरी फोर्ड सँग इन्द्र तामाङ
साइकलमा चढेर पोस्ट अफिस सम्म पुग्नु र तरकारी खरिद गर्नु इन्द्रको दैनिकी बन्यो । अर्को महत्त्वपूर्ण काम थपियो अंग्रेजी भाषाको ट्युसन ।
चाल्र्सको ग्रिसको क्रिट टापुमा घर थियो, पेरिस र न्यु योर्कमा फ्लाइट । चाल्र्स जता जता जान्थे इन्द्र उतै उतै । सन् १९७४ मा उनले पहिलो पटक हवाई जहाज चढ्न पाए । २१ वर्षको उमेरमा ग्रिस, पेरिस हुँदै इन्द्र अमेरिका आइपुगे । जुन समय न्यु योर्क नेपालीको संख्या न्यून थियो । दशै, राजाको शुभ जन्मोत्सवमा नेपाल मिशनले आयोजना गर्ने कार्यक्रम बाहेक अन्यत्र नेपाली भेट्न मुस्किल ।
अग्ला घर, समुन्द्र, पानी जहाज, झिलिमिली, खाना बस्न सबै नयाँ। नेपाल छोड्ने निर्णय गर्दा आमा र श्रीमती बेखुसी भएका थिए । “त्यत्रो टाढा, फर्किएर आउने हो कि होइन भन्नेर पीरए।” तर दश महिनामा इन्द्र नेपाल फर्किए चाल्र्स सहित ।
रमाइलो कुरा पहिलो पटक अमेरिका बाट फर्कँदा इन्द्रले कसैलाई पनि उपहार ल्याउन पाएनन् । “आफू पनि कम सामान बोक्ने र अरूलाई त्यसै गर्न लगाउने बानी चाल्र्सको, अमेरिकाबाट आएको के के नै ल्याउला भन्ने आस गरेका थिए सबै तर म रित्तै ।” तीन दिन इन्द्र सम्झँदा केही रोमाञ्चित र केही भावुक पनि हुन्छन्।
सन् १९७४ देखि १९८८ सम्म इन्द्रको जीवन यात्रा मय भयो । हरेक महिना फरक मुलुक । टर्की देखि नेपाल सम्म स्थल मार्ग यात्राको अनुभव पनि बटुले । २२ दिनको थियो त्यो यात्रा । चाल्र्स जता उनी पनि त्यतै । यो बिचमा उनले क्यामरा चलाउन सिके । चाल्र्सको सङ्गत विश्वका चर्चित साहित्यकार, कलाकार सँग थियो । इन्द्रले ती प्राय सबै व्यक्तिको फोटो खिचेका छन् । तीनै कलाकारहरूको सिको गर्दै त्यो समयमा बनाएको कोलाज सन् २०१७ मा प्रदर्शनीमा राखिएको थियो।
सन् २००२ मा चाल्र्सको निधन भयो । अन्तिम सम्म इन्द्र उनी सँगै रहे । चाल्र्सको निधन पछि लगभग सात वर्ष उनकी बहिनी चलचित्र अभिनेत्री रुथ फोर्डको हेरचाह पनि गर्नु पर्ने भयो । दुवै जना सँग बस्दा उनले तलब भने कहिल्यै पाएनन् । “सबै साथीभाइ आफन्तले तेरो तलब कति हुन्छ भनेर सोध्थे, न त मैले चाल्र्सलाइ मेरो लतब कति भनेर सोधे न त उसले नै दिन्थ्यो, चाहिएको बेलामा भन्थे दिन्थे, गाउँ र काठमाडौँमा घर भने बनाए ।”
बहिनीको निधन पछि मात्र इन्द्रलाई थाहा भयो, चाल्र्स र उनीकी बहिनीले आफ्नो नाममा भएको सबै सम्पत्ति इन्द्रको नाममा नामसारी गरी वकिललाई कागज थमाएका रहेछन् ।
“बिच बिचमा कहिले काहीँ झोक पनि चल्ने, शुरुमा आउँदा चाल्र्स सँग लामो समय बस्छु भन्ने नै थिएन, तलब पनि पाउने होइन, यसलाई छोडेर भागौँ कि भन्ने हुने, तर परिस्थिति यस्तो बन्यो कि म फुत्कनै नसक्ने, एक पछि अर्को गर्दै जिम्मेवारी थपियो, उ पनि बुढो हुँदै गयो, सबै कुरा म माथि भर पर्न थाल्यो, के धोका दिने भन्ने भयो।”
अमेरिकाको सबै भन्दा महँगो क्षेत्र म्यानहाटनमा इन्द्रले सिङ्गो फ्लाइट पाएका छन् । “त्यो फ्लाइटमा चाल्र्सका थुप्रै किताब, फाटोहरू छन् मैले खिचेका पनि धेरै छन्, पहिला म त्यसलाई कुनै लाइवेरीलाई हस्तान्तरण गरौँ भन्नेमा छु, अहिले सम्म समूहमा धेरै पटक मेरो फोटो र कोलाज प्रदर्शनी भएका छन् अब म एकल फोटो प्रदर्शनी र फोटो पुस्तक प्रकाशन गर्ने गर्ने तयारीमा छु।”
न्यु योर्क रहेको नेपाली भाषी समाजमा “समाजसेवी” क्षवी बनाएका तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष इन्द्रले अमेरिकी साहित्यिक समाजमा अर्को करिअर बनाउँदै छन् । घुमफिरका क्रममा रहरका लागि क्यामरा चलाएका इन्द्र अहिले पुराना अमेरिकी साहित्यकारहरूको फोटो सङ्कलक बनेका छन् । सङ्गतको फल, अमेरिकाको एउटा पुस्ताका धेरै साहित्यकार उनको क्यामरामा कैद भएका छन् र इन्द्र पुराना फोटोग्राफर ।
तीन इन्द्र तामाङले अहिले आफ्नो आत्मकथा बजारमा ल्याएका हुन्।