मानव सेवा आश्रमको मेची महाकाली उद्दार यात्रा सुरु
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित विशेष कार्यक्रममा मानव सेवा आश्रमद्वारा सन्चालित “मेची महाकाली राष्ट्रिय उद्वार यात्रा, २०८१” को शुभारम्भ गरेका छन्। यस अभियानको उद्देश्य सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण गर्नु हो। मानव सेवा आश्रमले सञ्चालन गरेको यो यात्रा विशेष गरी समाजमा बेवारिसे, सहयोगापेक्षी र अनाथ भएका व्यक्तिहरूलाई उद्दार गरी पुनर्स्थापना गर्ने लक्ष्य बोकेको छ।
प्रधानमन्त्री ओलीले यस अवसरमा अभियानको सफलताका लागि शुभकामना दिँदै मानवता नै सर्वोच्च धर्म भएको कुरामा जोड दिए। उनले मानवतामै आधारित भएर राष्ट्र निर्माण गर्नुपर्ने विचार व्यक्त गर्दै, यस्तो मानवीय अभियानमा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे। उनले देशलाई अगाडि बढाउन मानवता महत्वपूर्ण भएको र “पहिला मानवता, त्यसपछि देश” भन्ने भावनालाई आत्मसात गर्न आग्रह गरे।
शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरुलाई दसैंको टीका लगाइदिँदै शुभकामना पनि दिएका थिए। यो अवसरमा उनका साथमा प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, तथा प्रसिद्ध गायिका आनी छोइङ डोल्मालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले यस यात्रा विशेष रूपमा कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले सुरू गरिएको जानकारी गराए। उनले समाजका विभिन्न वर्गका मानिसहरूलाई एकताबद्ध गर्दै, अनाथ र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गर्ने अभियान निरन्तर जारी राख्ने आश्वासन दिए।
“मेची महाकाली राष्ट्रिय उद्वार यात्रा” २०८१ सालको असोज २६ गतेदेखि कार्तिक २८ गतेसम्म सञ्चालन हुनेछ, जसअन्तर्गत देशभरका सडकमा आश्रयविहीन भएका व्यक्तिहरूलाई उद्दार गरी पुनःस्थापनाको व्यवस्थापन गरिनेछ।