बीसीएच मेला उर्लियो मानव सागर,ह्यारिसबर्ग कलेजको प्राङ्गण नै भयो साँगुरो

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ६६ वर्षीय पुरुषोत्तम खनालको यो आइतबार ह्यारिसबर्ग कलेज परिषरमा नै बित्यो। एकै ठाउँमा पाँच घण्टा बिताउँदा पनि खनाल खुसी देखिन्थे। जहाँ भुटनीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) को आयोजनामा बृहत् मेला लागेको थियो। जसलाई बीसीएच मेला भनिएको थियो।
दशैको मुखैमा लागेको मेलामा सहभागी खनाल मात्र होइन दशौँ हजार नेपाली भाषी प्रसन्न देखिन्थे।
‘११ बजे आएको अहिले सम्म यही छु।’ घडीले चार बजाइसकेको थियो, खनालले समाज टाइम्सलाई प्रतिक्रिया दिँदा।
पछिल्लो १४ वर्ष देखि अमेरिका बस्दै आएका खनाल भन्दै थिए, ‘यति धेरै नेपालीहरू भेटिएकै थिएनन्, भोक लाग्या बेला खान पाइएको छ, साथीभाइ भेट भएको छ, बच्चाहरू खेलिरहेका छन्, रमाइलो भयो।’ एक सासमा उनले दिनभरिको वर्णन गरे।
मेला भर्न मानिसहरू दश नबझ्दै ह्यारिसबर्ग कलेज जसलाई ह्याक पनि भनिन्छ, त्यहाँ पुगी सकेका थिए। कोही हात समाउँदै पुगेका थिए। कोही ह्विलचियरमा थिए। अनि टेस्ला सहित महँगा गाडी चढ्नेहरू पनि मेला भर्न पुगेका थिए।
नेपालको झन्डा सहित परेडबाट मेला शुरु भएको थियो। परेडमा विभिन्न जातजातिका झाँकीहरू प्रदर्शन गरिएको थियो। परेडमा खेलाडीहरी पनि थिए।
सहभागीहरू आ आफ्नो परम्परागत भेषभुषामा सहभागी थिए। सबै धर्म मान्ने नेपाली भाषीहरू मेलामा सहभागी भएका थिए।
मेलामा दर्जनौँ स्टलहरू राखिएका थिए। खाना, लत्ता कपडा, घरजग्गा कारोबारका जानकारी दिन पिन स्टल थिए। यस्तै निःशुल्क स्वास्थ्य परीक्षण, भोटर रजिस्ट्रेसनका लागि जनचेतना मूलक स्टलहरू पनि मेलामा भेटिन्थे।
स्टल राखेका व्यावसायीहरुले पनि मेलामा राम्रो आम्दानी गरेको बताए।
मेला भर्नका लागि पेन्सिल्भेनिया भन्दा बाहिरी राज्यबाट पनि आएकाहरू भेटिन्थे।
मेलामा सहभागी कोही खाइ रहेका देखिन्थे। कोही वर्षौँ पछि भेटिएका साथीभाइ सँग भलाकुसारी गर्दै थिए। मुख्य स्टेजमा दिनभर नेपाली पन झल्काउने सांस्कृतिक कार्यक्रम चली रहेको थियो।
कराते र तेक्वान्दोका खेलाडीहरूले पनि आ आफ्नो कौसल प्रदर्शनी गरेका थिए। दश बजे शुरु भएको मेला साँझ पाँच बजे सम्म चलेको थियो।
‘यो त एकदमै रमाइलो, सम्भवतः अमेरिकामा नै पहिलो होला यति धेरै मान्छेहरू सहभागी भएको, हामीलाई, यसले हाम्रो उपस्थिति देखिन्छ।’ छोरा सँगै मेला भर्न आएका प्राध्यापक माधव फुयाँलले भने।
यस्तै पेन स्टेट कलेजमा पब्लिक हेल्थमा पीएडी गर्दै गरेका भुवन गौतमले मेला सोचेको भन्दा धेरै राम्रो भएको प्रतिक्रिया दिए। ‘एउटा ऐतिहासिक काम भयो।’ गौतमले भने।
‘आजको कार्यक्रम हामीले सोचेको भन्दा पनि राम्रो भयो’ मेला आयोजक बीसीएचका अध्यक्ष तिलक निरौलाले समाज टाइम्स सँग भने, ‘ हामीले बिस हजार मान्छे सहभागी हुन्छन् भन्ने अपेक्षा थियो प्रहरीले पनि त्यो संख्या नाघ्यो भनेको छ।’
निरौलाले सम्पूर्ण समुदाय एक ठाउँमा उभिएकोले यो दिन ऐतिहासिक भएको बताए। ‘म सम्पूर्ण नेपाली भाषीलाई धन्यवाद दिन चाहन्छु।’ उनले भने,’ हामी विभिन्न जात जाति भाषा भाषी एक ठाउँमा भएका छौ यो ठुलो कुरा हो।’
कार्यक्रममा सहभागीले मेला भएको ठाउँ साँघुरो भएको गुनासो गरेका थिए। यही स्थानमा यस अगाडि भारतीयहरूले पनि कार्यक्रम गर्दै आएका थिए। बीसीएच अध्यक्ष निरौलाले आफूहरूले पनि सो गुनासो सुनेको र आगामी वर्षहरूमा अझ ठुलो ठाउँमा मेला आयोजना गरिने बताए।
‘मलाई धेरै जनाले अझ ठुलो ठाउँ चाहिँदो रहेछ भन्नु भएको छ, हामी अर्को वर्ष अझ ठुलो ठाउँ खोज्ने प्रयास गर्छौ भएनौ भने पनि यही ठाउँलाई व्यवस्थित गर्छौ।’
ह्यारिसबर्गमा नेपाली भाषीहरू एकै ठाउँमा जमघट भएको यो पहिलो अवसर हो। ह्यारिसबर्गमा नेपाल, भुटान र भारतबाट आएका नेपालीहरूको जनसङ्ख्या ५० हजार हाराहारीमा भएको अनुमान गरिन्छ। त्यसमा नेपाली भाषी भुटानी समुदायको जनसङ्ख्या अत्यधिक छ।
मेलाका तस्बिरहरु…