बखतबहादुर शाहीको ‘भ्या’ लोकार्पण
काठमाडौं । साहित्यकार बखत बहादुर शाहीको कर्णालीको धर्म र संस्कृतिमा आधारित सामाजिक उपन्यास ‘भ्या’ काठमाडौंको संवाद डबलीमा शनिबार लोकार्पँण गरिएको छ ।
उक्त लोकार्पँण समारोहमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही,सभासद रिता शाही, सांसद प्रतिमा गौतम, समिक्षक राजकुमार बानिया, शंकर तिवारी, सुमन वर्षा लगायतले लोकार्पँण गरे । तेस्रो साहित्यीक कृति ‘भ्या’ को लोकर्पण गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री जीवन शाहीले कर्णाली हरेक हिसाबले धनी रहेको बताएका छन् ।
कर्णालीको वास्तविक रुप उपन्यासमा चित्रण भएको यो ऐतिहासिक कृति रहेको शाहीले बताए । समिक्षक राजकुमार बानियाले उपन्यास गैर आख्यान जस्तो प्रमाणित हुम्ला र कार्णालीको समाजलाई बुझ्न सघाउने बताए ।
समिक्षक सुमन वर्षाले सो पुस्तकलाई अध्ययन गरेपछि हुम्ला र कर्णालीका महिलाहरुको वास्तविकता चित्रण भएको तथा त्यसभित्र सकारात्मक र नकारात्मक दुवै पक्ष झल्किएको बताईन् ।
समिक्षक संकर तिवारिले सो उपन्यासले हुम्लाको भाषा र संस्कृतिक पक्षलाई उजागर गरेको र सबैले अध्ययन पश्चात कर्णालीको वास्तविक समाज बुझ्न सघाउ पुग्ने बताए ।
लेखक बखतबहादुर शाहीले पुरानो धर्म, संस्कार र संस्कृतिले समाजलाई नैतिकवान बनाउने कडि रहेको बताउँदै, कर्णालीवासीहरु अन्य भन्दा नैतिकवान हुने जिकिर गरे । शिखा बुक्सद्वारा प्रकाशित उपन्यासको मुल्य ५२५ रहेको छ ।
सो लोकार्पँण समारोहमा रिता शाही, प्रतिमा गौतम, मनोजमाणी आचार्यले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन मोतिराज बमले गरेका थिए ।