लस एन्जलस एफसीले पहिलो पटक जित्यो यूएस ओपन उपाधी
पेन्सिल्भेनिया । लस एन्जलस एफसीले पहिलो पटक लमार हन्ट यूएस ओपन कपको उपाधि जितेको छ। अतिरिक्त समयमा पुगेको खेलमा लस एन्जलसले स्पोर्टिङ कन्सास सिटीलाई ३-१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो। वुधवार राति खेलको अतिरिक्त समयमा ओमार क्याम्पोस र केई कामाराले गोल गर्दै एलएएफसीलाई ऐतिहासिक जित दिलाएका हुन्।
फ्रान्सका स्ट्राइकर ओलिभियर जिरुडले पनि गोल गर्दै लस एन्जलस एफसीको जितमा योगदान दिए। सन् २०१८ मा स्थापना भएयता यो क्लबले चार प्रमुख उपाधि जितेको छ। यसअघि एलएएफसीले २०१९ र २०२२ मा मेजर लिग सकरको ‘सपोर्टर्स शिल्ड’ उपाधि जितेको थियो भने २०२२ मा फिलाडेल्फिया युनियनलाई पेनाल्टीमा हराएर एमएलएस कप जितेको थियो।
एलएएफसीले पहिलो पटक ओपन कपको फाइनल खेलेको थियो । यूएस ओपन कपको यो १०९औं संस्करण हो, जुन अमेरिकाको सबैभन्दा पुरानो राष्ट्रिय फुटबल प्रतियोगिता हो।
एलएएफसीले यस सिजनमा लिग कप र यूएस ओपन कपको फाइनलमा स्थान बनाउँदै ४६ खेल खेल्ने तालिका बनाएको छ। गएको सिजनमा क्लबले ५३ खेल खेलेको थियो, जसमा कन्ककाफ च्याम्पियन्स लिग र एमएलएस कपको फाइनलमा पुगेको थियो।
स्पोर्टिङ कन्सास सिटीका एरिक थोमीले खेलको ६०औं मिनेटमा डानियल सालोइको पासबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
तर, दोस्रो हाफमा मैदान छिरेका ओमार क्याम्पोसले १०२औं मिनेटमा एलएएफसीको लागि गोल गरे। त्यसपछि केई कामाराले १०९औं मिनेटमा हेडर गोल गर्दै एलएएफसीलाई ३-१ को जित सुनिश्चित गरे।
एलएएफसी पश्चिमी कन्फरेन्सको चौथो स्थानमा रहँदै एमएलएसको नियमित सिजनको अन्तिम चरणमा प्रवेश गर्दैछ भने स्पोर्टिङ कन्सास सिटी प्लेअफमा पुग्न असफल भएको छ।