नेपथ्यको अमेरिका भ्रमणमा ‘एक मिलियन डलर’ बढीको कारोबार, नेपालमा कति गयो?
बिष्णु हरि घिमिरे
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ एक जना धर्म गुरुले अमेरिकामा बस्ने नेपालीहरूका बारेमा गरेको टिप्पणी सामाजिक सञ्जालमा चर्चित बनेको थियो। उनले अमेरिकामा रहेका नेपाली छाप्रोमा बस्ने, जीवनस्तर दयनीय रहेको लगायतका टिप्पणी गरेका थिए।
तर भर्खरै मात्र अमेरिका भ्रमण गरेको नेपालको प्रख्यात साङ्गीतिक ब्यान्ड नेपथ्यले एक मिलियन (दश लाख) अमेरिकी डलर भन्दा बढीको कारोबार गरेको छ। झन्डै १५ हजारले टिकट काटेर कार्यक्रम हेरेका छन् त्यो पनि उल्लेख्य रकम तिरेर।
नेपथ्यले अगस्ट ६ तारिखमा कोलोराडोको बोल्डरबाट आफ्नो सो शुरु गरेको थियो। त्यस पछि नेपथ्य ब्यान्डले क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को, ओहायो राज्यको कोलम्बस, टेक्ससको डलास, न्यु योर्क र मेरिल्यान्डमा प्रस्तुति दिएको थियो।
सेप्टेम्बर सात तारिख पेन्सिल्भेनियाको ह्यारिसबर्ग स्थित दि फोरम अडिटरियममा भव्य प्रस्तुति पछि नेपथ्य नौ तारिख सोमबार स्वदेश फर्किएको थियो।
नेपथ्य ब्यान्डमा मुख्य गायक अमृतलाई ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन्।
जहाँ जहाँ नेपथ्य पुग्थ्यो त्यहाँ त्यहाँ दर्शकको थामी नसक्नु भिड् हुन्थ्यो। नेपथ्यले लाइभ कन्सर्ट गरेका सात वटै शहरमा नेपाली तथा नेपाली भाषी भुटानी समुदायमा हुने कार्यक्रममा दर्शक उपस्थितिको कीर्तिमान कायम भएको थियो।
स्थानीय आयोजकले यसलाई अद्भुत भनेका थिए। हरेक शहरमा हुने सोमा तीन पुस्ताका दर्शक सँगै देखिएका थिए। कतिपय दर्शक नेपालको राष्ट्रिय झन्डा सहित उपस्थित भएका थिए। नेपथ्यका हरेक गीत दर्शकले सँग सँगै गाइरहेका भेटिन्थे। दुई घण्टाको सोमा दर्शक रोमाञ्चित हुँदै नाचिरहेका हुन्थे।
गायक अमृतले रातो र चन्द्र सूर्य… गीत गाउँदै गर्दा हल रोमाञ्चित हुन्थ्यो। दशकौँ देखि माटोबाट टाढा भएकाहरू शरीरमा काँडा उम्रिएको प्रतिक्रिया दिएका भेटिन्थे।
अमेरिकामा रहेका नेपाली र नेपाली भाषीलाई राष्ट्रिय क्रिकेट टिम पछि यसरी अद्भुत रूपमा जोडेको थियो भने त्यो नेपथ्य थियो। दर्शकहरू लामो ड्राइभबाट पनि सोका लागि आएका थिए। विभिन्न पेशामा प्रख्यात कमाएकाहरू पनि नेपथ्यको दर्शक थिए।
प्रायशः शहरका सोमा अनलाइन टिकट सोल्डआउट भएको आयोजकले जनाएका थिए। डोर टिकटका लागि पनि सयौँ दर्शक दुई घण्टा अगाडि देखि लाइनमा उभिएका भेटिन्थे।
नेपथ्यले तोकिएकै समयमा कार्यक्रम शुरु गर्ने र तोकिएकै समयमा सक्ने गरेको थियो। जुन कुरा अमेरिकामा रहेको नेपाली समाजमा विरलै हुन्छ। यस्तै गायक अमृतले हरेक गीत गाउन अगाडि र गाए पछि दर्शकलाई आफ्नै शैलीमा सन्देश दिने गर्दथे। उनले नेपाली भाषीलाई मिलेर बस्न, नेपाल नभुल्न, बालबालिकालाई नेपाली भाषा सिकाउन र नेपाललाई परोपकारी काममा सहयोग गर्न अपिल गर्ने गर्दथे।
डिसी मेट्रो क्षेत्रमा लामो समय देखि कार्यक्रम आयोजना गर्दै आएका ई पिक इन्टरटेन्टमेन्टका सिइयो अभिजित राईले नेपथ्यको सो लाई असाधारण भनेका छन्।
‘यस वर्ष सज्जनराज वैद्य र सुशान्त केसीसँग ब्याक-टु-ब्याक कन्सर्टहरू सफलतापूर्वक आयोजना गरेपछि, हामी थकित थियौँ तर तपाईँलाई परम नेपाली सङ्गीतको अनुभव ल्याउने हाम्रो जोशले उत्तेजित भयौँ।’ कार्यक्रम सकिए पछि राईले सामाजिक सञ्चालनमा लेखेका छन्।
अभिजितले नेपथ्य सो ले आफ्नो आँखामा आशु नै भएको बताएका छन्। ‘नेपाली साङ्गीतिक इतिहासमा एक पौराणिक नाम, नेपथ्यले हाम्रो हृदयलाई साँच्चै छुने प्रस्तुति दियो। विशेष गरी “ताल को पानी” को समयमा भीडको ऊर्जा देखेर मेरो आँखामा आँसु आयो।’ उनले भनेका छन्।
नेपथ्यका लागि नेपालको व्यवस्थापन नेपालय र अमेरिकाको व्यवस्थापन मम इन्टरटेन्टमेन्ट गरेको थियो।
मम इन्टरटेन्टमेन्टका सिइयो विपिन थकालीले पनि नेपथ्यको सो भव्य भएको बताए। उनले सबै भन्दा कम दर्शक कोलोराडोमा र सबै भन्दा धेरै दर्शक टेक्ससमा आएको रिपोर्ट आफूलाई आएको बताए।
कोलोराडोमा करिब १२ सयले प्रत्यक्ष नेपथ्यको सो हेरेको अनुमान छ। यस्तै टेक्ससमा यो संख्या ४५ सयको हाराहारीमा थिए। टेक्ससमा नै गत जुनमा भएको आइसीसी टी ट्वान्टी विश्व कप क्रिकेटमा नेपाल र नेदरल्याण्ड बिचको खेलमा करिब ६ हजार दर्शकले टिकट काटेर हेरेका थिए।
यस्तै डिएमभी (मेरिल्यान्ड-भर्जिनिया) क्षेत्रमा भएको सोमा करिब तीन हजार दर्शक उपस्थित थिए। यस्तै न्यु योर्क र क्यालिफोर्नियामा २५ सयको हाराहारीमा तथा ओहायो र पेन्सिल्भेनियाको ह्यारिसबर्गमा १८ सयको हाराहारीमा दर्शक उपस्थित थिए।
सबै शहरमा गरी करिब १७ हजार दर्शकले प्रत्यक्ष नेपथ्यको सो हेरेका छन्। त्यस मध्येमा १५ हजार बढीले टिकट नै काटेको अनुमान छ। सालाखाला ७० डलरका दरले हिसाब गर्दा पनि टिकटमा मात्र दश लाख डलर बढीको कारोबार भएको देखिन्छ। त्यसमा दर्शकको अन्य खर्च समावेश छैन।
मम इन्टरटेन्टमेन्टका सिइयो विपिनले ठ्याक्कै हिसाब किताब गरी नसकेको बताए।
‘बल्ल त कार्यक्रम सक्यौ, हामीले सोचे भन्दा पनि भव्य रूपमा कार्यक्रम भयो, दर्शकले अपार माया गरे, एक महिनाको दौडधुप पछि हामीले बल्ल फुर्सद पाएका छौ।’ समाज टाइम्स सँग विपिनले भने, ‘हामी हिसाब गर्दै छौ।’
उनले दर्शकको उपस्थिती र आम्दानी औलामा गनेर हिसाब गरे जस्तो नहुने बताए ।
‘तपाईँले त्यसरी लेखिदिनु भयो भने त लौ गज्जबै कमायो भन्ने सोच्लान् तर व्यवहारमा त्यस्तो हुँदैन।’ उनले भने। ‘यस्ता कार्यक्रममा पैसा कमाइँदैन, सयौँ व्यक्तिको समय खर्च भएको छ, रिक्स पनि छ।’
विपिनले आफूहरूले पैसा कमाउन भन्दा पनि अमेरिकामा रहेका नेपालीलाई रमाइलोका लागि र नेपाली सङ्गीतको प्रवर्धनका लागि कार्यक्रम गरेको बताए।
‘यो कार्यक्रम गर्दा रिक्स पनि थियो, हामी १०-१५ जनाले लगानी गरेका हौ, हामी डुबेको भए पनि त्यही ५-१० हजार डुब्ने हो र नाफा आउँदा पनि त्यही हो।’ उनले भने।
‘हामीले विगत दश वर्ष देखि इभेन्ट गर्दै आएका छौ, हाम्रो आफ्नै व्यवसाय छ, पैसा हामीले त्यहाँ नै कमाउँछौ, रमाइलोका लागि यस्ता सो गर्छौ।’ विपिनले विस्तार लगाए।
‘नेपथ्यको कार्यक्रममा खर्च धेरै छ, उहाँहरूले ट्र्याकमा गाउनु हुँदैन, वाद्यवादन नेपाल बाट नै ल्याउनु हुन्छ, हवाई टिकट बढेको छ, जहाँ जहाँ कार्यक्रम गर्यौ त्यहाँको उपलब्ध राम्रो हलमा हामी कार्यक्रम गर्यौ।’ विपिनले भने, ‘ लाइटिङ्ग देखि साउन्ड सिस्टममा कुनै सम्झौता हुदैन्, त्यो कुरा त तपाईँले पनि याद गर्नु भयो होला, सुरक्षाको व्यवस्था पनि हामीले राम्रै गरेका थियौ, त्यसमा धेरै नै खर्च हुन्छ।’
विपिनले कार्यक्रमको नाफा घाटा भन्दा पनि अमेरिकामा नेपाली दर्शकले पनि अब देखि क्वालिटी खोज्ने भइसके भन्ने सन्देश दिएको बताए।
‘अमेरिकामा नेपाली समुदायमा पनि स्तरीय कार्यक्रम हुन्छ त्यसको व्यवस्थापनका लागि नेपालीहरू सक्षम छन् भन्ने सन्देश गएको छ। हामीले त्यसरी हेर्नु पर्छ।’ विपिनले भने।
उनले कमाइ मध्ये नेपथ्यलाई कति रकम दिइयो भन्ने खुलाउन व्यवहारिक नहुने बताए।
‘हामी पनि अमेरिकामा दर्ता भएका कम्पनी हौ, नेपालय पनि नेपालमा वर्षौँ देखि काम गर्दै आएको प्रतिष्ठित कम्पनी हो, हामीले दुवै देशको नियमलाई पालना गरेका छौ।’ विपिनले भने,’उहाँहरूले वैधानिक बाटो बाटै आफ्नो कमाइ नेपाल लैजानु भएको छ, कति पैसा भन्ने कुरा सार्वजनिक नगर्न सहमति छ।’
स्थानीय आयोजकका अनुसार ५० हजार, ७० हजार र एक लाख डलर उनीहरूले मम इन्टरटेन्टमेन्टलाई बुझाएका छन्। त्यस मध्येबाट दुई पक्ष बिचको सहमति अनुसारको रकम मम इन्टरटेन्टमेन्टले नेपालयलाई दिन्छ।
नेपालयका निर्देशक अर्पण शर्माले दर्शकको ओठमा देखिएको खुसी नै कमाइ भएको र त्यसको मूल्य तोक्न नमिल्ने बताए।
‘हामीले ६ पटक भयो अमेरिकामा सो गर्दै आएको पैसामा कहिल्यै हिसाब गरेका छैनौ।’ शर्माले भने, ‘कार्यक्रम सकिए पछि फर्कने दर्शकको अनुहार हामी हेर्थ्यौ, उहाँहरू खुशी भएर निस्कन्थे, उहाँको ओठमा देखिएको खुसीको कुनै मूल्य हुँदैन त्यो नै हाम्रो कमाइ हो, पैसा भनेको दोस्रो कुरा हो।’
उनले पैसा प्राथमिकतामा पनि नपर्ने भएकाले त्यसको लेखा जोखा पनि नहुन बताए।
‘नेपथ्यले गुणस्तरीयतामा सम्झौता नगर्ने भएकाले खर्च पनि त्यसै अनुसार हुन्छ, कलाकारले कति पाए भन्ने गौण हो, हामीले रेट कायम गरेर कहिल्यै पनि कार्यक्रम गरेका छैनौ, हामी खास खास उद्देश्य सहित कार्यक्रम गर्दै आएका छौ।’ उनले भने।
‘नेपालमा द्वन्द्व हुँदा हामीले शान्तिका लागि कार्यक्रम गरेका हौ, यस पटक हामीले नेपाली भाषाका लागि कार्यक्रम गरेका हौ त्यसमा सफल भयौ।’ शर्माले भने, ‘ हामी समाज जोड्न आएका हौ, विश्वमा जहाँका हुन्, नेपाल, भुटान, भारत, बर्मा जहाँ जन्मिए पनि जहाँ बसे पनि नेपालीहरू जोडिनु पर्छ, नेपाली भाषा जोगाउनु पर्छ भनेर हामीले कार्यक्रम गरेका हौ, त्यसमा सफल भयौ त्यही नै हाम्रो कमाइ हो।’
उनले दर्शकलाई क्वालिटी दिने हो भने कार्यक्रम चल्छ भन्ने सन्देश दिएको बताए।
‘क्वालिटी दिने हो भने कार्यक्रम चल्छ, अब दर्शक झुक्क्याउने दिन गए, स्तर र समयमा हामी सम्झौता गर्दैनौ, स्तरीयताका लागि पैसा खर्च हुन्छ, त्यसमा पैसाको लेखाजोखा हुँदैन।’ उनले भने।
मम इन्टरटेन्टमेन्टका सिइयो विपिनले पनि अमेरिकामा नेपाली र नेपाली भाषीको जीवन शैली फेरिएको बताए।
‘मेरै काकाहरू म सँग कुरा गर्नु हुन्छ शुरुमा उहाँहरू आउँदा र अहिलेको परिस्थिति फरक छ, उहाँहरू रेस्टुरेन्टमा गएर खाएको अनुभव नै छैन भन्नु हुन्छ, आठ दश जना एउटै कोठामा मिलेर बस्यो, जति सक्दो पैसा कमायो नेपाल पठायो भविष्यमा नेपाल नै फर्कने हो भन्ने हुन्थ्यो ।’ विपिन भन्छन् ‘तर अब यस्तो छैन, यहाँ हप्तामा कम्तीमा एक पटक रेस्टुरेन्ट गएन भने के पुगेन भन्ने हुन्छ, नेपाली समुदाय पनि खर्च गर्न तयार छ कुरा मुख्य हो क्वालिटी दिनु पर्छ त्यो नेपथ्यमा छ।’