अमेरिकामा नेपाली भाषा कक्षाले बढायो १५ वर्षकी बिदिकामा आत्म विश्वास
मोन्टगोमेरी,पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया नजिकै रहेको मोन्टगोमरी काउन्टीमा बस्दै आएकी २० वर्षीय बिभूशिका मोक्तानलाई आफ्नी ९६ वर्षीय हजुरआमा सँग कुरा गर्दै गर्दा कहिले काहीँ समस्या पर्ने गर्दथ्यो।
नेपाली र तामाङ भाषा मात्र बुझ्ने हजुर आमालाई भन्नु पर्ने कुरा प्रस्टाउन नसक्दा बिभूशिकालाई गुगलको सहारा लिनु पर्ने बाध्यता थियो।
उनीकी बहिनी १५ वर्षकी बिदिका मोक्तानलाई पनि छुट्टीको समयमा नेपालमा जाँदा नेपाली लेख्न पढ्न नआएकाले समस्या पर्दै आएको थियो।
नेपालमै जन्मिए पनि अभिभावक सँगै बिदेसिएकी १३ वर्षकी स्वयम्शु बञ्जनलाई पनि अमेरिका आए पछि नेपाली लेखन पढ्न बिर्सँदै गएकोमा चिन्ता थियो।
तर अब यी तीनै जना नेपाली भाषामा सामान्य लेख्न पढ्नै नजान्ने समस्याबाट मुक्त भएका छन्।
‘नेपाली लेख्न पढ्न केही पनि आउँदैन थियो, तर यहाँ आए पछि बुझे अब समरमा नेपाल जाँदा शब्दहरू पढ्न सक्छु, त्यसले मेरो आत्मविश्वास बढाएको छ।’ झन्डै पाँच महिनाको नेपाली भाषा कक्षामा अध्ययन गरे पछि समाज टाइम्स सँगको कुराकानीमा बिदिकाले हँसिलो मुद्रामा भनिन्।
नेपालमा जन्मिएर सानैमा अमेरिका आएका तथा अमेरिकामै जन्मिएका बालकालिकालाई नेपाली भाषा, कला, संस्कृति र संस्कारका बारेमा जानकारी दिने भन्दै पेन्सिल्भेनिया नेपाली गुठीले गत अप्रिल (वैशाख एक गते) बाट आफ्नै भवनमा नेपाली भाषा कक्षा शुरु गरेको थियो।
विद्यार्थीलाई फिलाडेल्फियामा रहेको टेम्पल युनिभर्सिटीका सह प्राध्यापक डा. युवराज कडरिया, उनकी श्रीमती फिलाडेल्फिया स्कुल डिस्ट्रिक्ट शिक्षिका आरती कडरिया र कौशल भक्त श्रेष्ठले नेपाली भाषा सिकाउँदै आएका छन्।
प्राध्यापक डाक्टर कडरियका अनुसार भाषा स्कुलमा ४७ जना भर्ना भएकोमा करिब तीन दर्जन नियमित रूपमा कक्षामा आउँछन्।
हरेक हप्ताको आइतबार बिहान गुठीको भवनमा भाषा कक्षा हुँदै आएको छ। साना विद्यार्थीहरूलाई नेपाली भाषा, कला, संस्कृति सिकाउन कडरिया जोडी ४५ मिनेट ड्राइभ गरेर गुठीको भवनमा आइपुग्छन्। डाक्टर कडरिया टेम्पल युनिभर्सिटी अन्तर्गतको फक्स चेस क्यान्सर सेन्टरमा अनुसन्धानकर्ता हुन्। जुन अमेरिकाको पहिलो क्यान्सर केन्द्र हो। यसको स्थापना सन् १९०४ मा भएको थियो। डा. कडरिया क्यान्सरका लागि नयाँ उपचार र यसलाई रोक्नको लागि नयाँ तरिकाहरु पत्ता लगाउन अनुसन्धान गर्दै छन्।
डा. कडरियाले टेम्पल युनिभर्सिटीमा नै पिएचडीका विद्यार्थीहरूलाई पनि पढाउँछन्। डा. कडरियाका अनुसार उनकी श्रीमतीले बालबालिकालाई नेपाली भाषा सिकाउँदै गर्दा उनी आफू भने अभिभावकहरूलाई स्वास्थ्य सम्बन्धमा विभिन्न परामर्श दिने गर्छन्।
विशेष गरी क्यान्सर रोगका कारण, त्यसको रोकथाम, मानिसका जीवन शैली, खानपानका बारेमा अभिभावकलाई आफ्नो अनुभव सुनाउने गर्छन्। यसका साथै विद्यार्थीलाई पनि नेपाली संस्कार र संस्कृतिका बारेमा जानकारी दिने गर्दछन्।
नेपाली भाषा कक्षामा सहभागीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाली बोल्नै नआउनेलाई पहिला बोल्न र सामान्य लेख पढ सिकाइँदै आइको छ। दश वर्ष भन्दा माथि घरमा बाबु आमा सँग नेपालीमा कुराकानी गर्ने बालबालिकालाई सिनियर कक्षामा पढाउँदै आइएको छ।
सिनियर कक्षाका विद्यार्थीलाई कौशल भक्त श्रेष्ठले पढाउँदै आएका छन्। अमेरिकामा नै जन्मिएकी १५ वर्षकी अग्नि कडरिया सिनियर कक्षाकी विद्यार्थी हुन्।
डा. युवराज र आरतीकी छोरी अवनी कडरिया भाषा स्कुलमा आए पछि आफूमा लेख्ने र पढ्ने क्षमता बढेको बताउँछिन्।
‘पहिला मेरो नेपाली लेख्न र पढ्न राम्रो थिएन थोरै आउँथ्यो, अहिले धेरै सुधार भयो म नेपाली राम्रो सँग पढ्न सक्छु र लेख्न पनि सक्छु।’ अवनीले भनिन्।
बिभूशिकाले सुरुमा आफूलाई नेपाली पढ्न किन पर्यो भन्ने रोचमा रहेको भए पनि अहिले फाइदा भएको बताइन्।
‘पहिला मैले पढ्न लेख्न सिकेकै थिइन, इच्छा पनि थिएन, चाहिँदैन जस्तै सोचेको थिए तर यहाँ आएर बुझे पढ्न सक्छु लेख्न सक्छु’ बिभूशिका भन्छिन्, पहिला शब्द नचिन्दा गुगलमा खोज्नु पर्थ्यो तर अब धेरै बुझ्ने भएको छु।’
धेरै भाषा बोल्दा स्कुलमा साथीहरूले पनि राम्रो मान्ने गरेको स्वयम्शु अनुभव छ। अर्को तर्फ आफूले नेपाली भाषामा लेख्दा हजुर आमा खुसी भएको बिदिकाले बताइन्।
‘पहिला हामी बोल्थ्यौ मात्र अब लेखेर देखाउँदा हजुर आमा खुसी हुनु भएको छ।’ बिदिकाले अनुभव सुनाइन।
भाषा कक्षामा बालबालिकालाई गाउँदै नाच्दै रमाइलो पनि गराइन्छ। कक्षा सकिए पछि बालबालिका र अभिभावक सँग सँगै खाना खान्छन्। खाना अर्ग्यानिक हुन्छ। यसको व्यवस्था अभिभावकले आपसमा आलोपालो गर्ने गर्दछन्।
६ महिनाको अध्ययन पछि सेप्टेम्बरको अन्तिम साता उनीहरू दीक्षित हुँदै छन्। पेन्सिल्भेनिया नेपाली गुठीका अध्यक्ष बिमल मोक्तानले भाषा कक्षालाई भविष्यमा पनि निरन्तरता दिने बताए।
‘हामीले नेपाली भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गुठी स्थापना गरेका हौ, संस्कृति जोगाउन भाषा जोगाउनु पर्छ भनेर हामीले भाषा कक्षा सुरु गरेका हौ।’ गुठीका अध्यक्ष मोक्तानले समाज टाइम्स सँग भने, ‘यसलाई परीक्षणको रूपमा लिएर अझै कार्यक्रम निरन्तर हुन्छ।’