ह्यारिस र ट्रम्पबिच फिलाडेल्फियामा सेप्टेम्बर १० मा बहस
पेन्सिल्भेनिया/ अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसबीच सेप्टेम्बर १० मा टेलिभिजन बहस हुनेछ। अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि यो दोस्रो बहस हो।
राष्ट्रपति जो बाइडेन र ट्रम्प बिचको पहिलो बहसमा बाइडेन लरबराएका थिए, त्यस पछि उनलाई भावी राष्ट्रपतिको दाबेदारी छोड्न दबाब परेको थियो।
चौतर्फी आलोचना पछि बाइडेनले राष्ट्रपतिको उम्मेदवार रेसबाट नाम फिर्ता लिँदै उप राष्ट्रपति कमला ह्रारिसलाई समर्थन गरेका थिए। पछि डेमोक्रेटिक पार्टीले औपचारिक रूपमा नै कमलालाई भावी राष्ट्रपतिको उम्मेदवार बताएको हो।
ह्यारिस र ट्रम्प बिचको बहस पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया सहरमा आयोजना हुने भएको छ। पेन्सिल्भेनियालाई यस पटक दुवै उम्मेदवारले अत्यधिक महत्त्व दिएका छन्। पेन्सिल्भेनियालाई स्विङ्ग स्टेट मानिन्छ।
अबको राष्ट्रपति को हुने भन्नेमा पेन्सिल्भेनियाका मतदाता निर्णायक हुन सक्ने आकलन गरिँदै आएको छ।
पछिल्लो समय, ट्रम्पले ह्यारिसलाई कुनै पनि अवरोध बिना बोल्न दिने योजना बनाएको बताएका छन्।
ह्यारिसले पनि ट्रम्पसँगको बहसका लागि तयारी गरेको जानकारी दिएकी छन्। पछिल्ला पोलहरूमा ह्यारिसले ट्रम्पलाई उछिनेको देखाइएको छ।