कांग्रेसले जनसम्पर्क समितिबारे निर्णय सच्याउने
काठमाडौं । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिका सम्बन्धमा गरेको निर्णय सच्याउने भएको छ ।
केन्द्रीय कार्यसमितिको बैठक पछि सार्वजनिक गरिएको निर्णयमा केही उपधाराहरु निलम्बन गरिएको थियो भने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि खारेज गरिएको उल्लेख थियो ।
यस विषयमा व्यापक चासो व्यक्त भएपछि पार्टीले यसलाई सच्याउने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभागका संयोजक किरणराज पौडेलले समाजटाइम्सलाई जानकारी दिए ।
पहिला जनसम्पर्क समतिको सभापति बन्नका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य अनिवार्य गरिएको थियो भने पछिल्लो निर्णयले नेपाली कांग्रेसको क्रियाशील सदस्य र जनसम्पर्क समितिको सदस्य बनेपछि मात्रै जनसम्पर्क समितिको अध्यक्ष बन्न सकिने प्रावधान थप गरेको हो ।
अहिलेको निर्णय अनुसार महासमिति र महाधिवेशन प्रतिनिधिहरु खारेज भएको अर्थ लागेको भन्दै यस विषयमा निर्णय सच्याएर आउने पौडेलले बताए ।
उनले भने ‘महाधिवेशन र महासमिति सदस्यहरु सबै यथावत छन् । अहिलेको निर्णयमा गल्तिले त्यो विषय समावेश भएको र यसमा पार्टी कार्यालयले सुधार गर्छ । साथै निलम्बन गरिएका उपधाराहरु पनि खुला हुन्छन् । जनसम्पर्क समितिका अधिवेशन प्रक्रियालाई सहज र एकरूपता ल्याउने निर्णयहरू गरेको छ ।
नेपाली जनसम्पर्क समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ । यदि कुनै समितिले तोकिएको अवधिभित्र अधिवेशन सम्पन्न नगरेको खण्डमा केन्द्रीय कार्यालयले अविलम्ब विधानअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने पनि निर्णय गरिएको छ ।