वद्री केसीले भने ‘नेपालमा लगानी गर्नुस्’
लिभरपुल । गैरआवासीय नेपाली संघ एनआरएनएको केसी समूहका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने नेपाली समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । लिभरपुल नेपाली समाज यूकेद्वारा आयोजित नागरिकता, सम्पत्ति, भूपू गोर्खा अधिकार, र लगानीसम्बन्धी कार्यक्रममा यस्तो आह्वान गरेका हुन् ।
डा. केसीले भने, “नेपालसँगको सम्बन्धलाई कायम राख्नका लागि नेपालमा लगानी गर्न अत्यावश्यक छ । विदेशमा कमाएको १० प्रतिशत मात्र नेपालमा लगानी गर्न सके देश समृद्धिको बाटोमा लाग्न सक्छ र दोस्रो पुस्तासँग पनि सम्बन्ध कायम रहन्छ । त्यसैले नेपालमा लगानी गरौं।”
उनले नेपालमा लगानीका साथै च्यारिटीका कामहरू गर्न पनि अनुरोध गरे । साथै, गैरआवासीय नेपाली संघको पहलका कारण नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरेको बताउँदै, नागरिकता कार्यान्वयनमा रहेका कठिनाइहरू छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका थिए ।
डा. केसीले गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपालमा सम्पत्ति राख्न कुनै सीमा नहुने र यस नागरिकताले सम्पत्तिको पूर्ण सुरक्षा गर्ने बताए ।
कार्यक्रममा केसी समूहका उपाध्यक्ष डा. हेमराज शर्माले पनि गैरआवासीय नेपाली अभियानमा सहभागी हुन आह्वान गरे ।
समाजका अध्यक्ष नेत्र खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केसी समूहकी महिला उपाध्यक्ष रोजिना प्रधान राई लगायतले पनि धारणा राखेका थिए ।