यात्रा अनुभवका टुक्राहरू
१५ जुलाई २०२४ मा टोरोन्टो बस्ने समय सकिएको सङ्केत टोरोन्टो स्थित घण्टाघरले हामीलाई दिइरहेको थियो। मौसम वर्षा ऋतु भए पनि समयले हामीलाई साथ दिइरह्यो। तीन दिन क्यानडाको टोरोन्टो ओन्टारियोमा बिताइयो। घुमघाम अपत्यारिलो किसिमले रमाइलो भयो।
एक दिन भरि टोरोन्टो शहरका मुख्य स्थानहरूमा पैदल मार्च गरियो। टोरोन्टो शहरलाई नजिकबाट नियालियो । टोरोन्टो शहर भरि निर्माण भइरहेका गगनचुम्बी भवनहरूलाई देख्दा लाग्थ्यो टोरोन्टो आर्थिक र भौतिक विकासको बाटोमा द्रुत रूपमा अघि बढिरहेको छ।
आँखाले देख्न सक्ने दुरी सम्म विशाल र गगनचुम्बी भवनहरू थिए। विशाल र अग्ला भवनहरूले पुरै टोरोन्टो भरिए जस्तै लाग्थ्यो। टोरोन्टोको मुख्य शहर खुट्याउन निक्कै कठिन हुन्थ्यो । टोरोन्टोको ल्याण्डमार्क सिएन टावर हेरे पछि मात्र टोरोन्टोको मुख्य शहर पत्ता लगाउन सकिन्थ्यो । टोरोन्टोले संसारका ठुला भनिएका सहरहरूसँग आर्थिक र भौतिक रूपमा प्रतिस्पर्धा गरिरहेको महसुस हुन्थ्यो। यसो हुनुको कारण टोरोन्टो अमेरिकाको नजिक रहेको पहिलो र ठुलो सहर भएकोले पनि हुन सक्छ । सडक संझालको बिस्तार र अग्ला भवनहरूको निर्माणले संसारका मानिसहरूलाई व्यावसायिक र बसोबासका लागि आमन्त्रण गरिरहेको जस्तो लाग्थ्यो टोरोन्टोले।
अमेरिकाकाको न्यु योर्कबाट पाँच छ घण्टाको ड्राइभमा नै टोरोन्टो पुग्न सकिने अत्यन्तै छोटो दुरीमा रहेको टोरोन्टो सिटिलाई थप आकर्षण दिन नियग्राफल्सको योगदान महत्त्वपूर्ण रहेको स्पष्ट देखिन्थ्यो । यस्तै भौतिक रूपमा ठुलो छलाङ मारिसकेको क्यानडाका लागि लेक ओन्टारियो अर्को ठुलो वैभव रहेछ। सामान्यतया समुद्र र समुद्र सँग जोडिएका लेकहरूको पानी नुनिलो हुन्छ। तर लेक ओन्टारियोको पानीमा नुनिलो मात्रा रहेनछ। त्यसैले क्यानडाका लागि पिउने पानीको स्रोत का साथै समृद्धिको मुख्य द्वार पनि रहेछ लेक ओन्टारियो।
नर्थ क्यारोलाइना देखि टोरोन्टोसम्मको चार दिनको घुमघाम अत्यन्तै संस्मरणमय रह्यो। नियग्राफलको रात्रि जीवनलाई पोखराको बैदामसँग तुलना योग्य लाग्थ्यो। गाँजाको धूंवा तुवाँलो सरि हावामा सर्सराइरहेको देखिन्थ्यो। मानिसहरूलाई भरपुर मनोरञ्जन दिन सक्ने नियग्रा सहर पर्यटकीय गन्तव्य बनिसकेको रहेछ।सडकका छेउ कुनाहरूमा भेप तान्नेहरूको झुन्ड झुन्ड देखिन्थ्यो। रङ्गिन र सानो तर रात्रि जीवनको भरपुर आनन्द दिन सक्ने शहर रहेछ नियग्रा । हामीले एक रात नियग्रामा नै बितायौ। रातको ११ बजेसम्म सहरलाई गुल्जार बनाउने तरक्कीहरू हेरियो। नियग्राको जीवनसँग साक्षात्कार गरियो।
“चुम्बकीय शहर”
हामी १५ जुलाई मा अमेरिका फर्कियौ। त्यसै दिन आँखाले जमिन नदेखिने गरी पानी पर्यो क्यानडामा। सडक नै नदेखिने गरी परेको पानीले गाडी चलाउन गाह्रो भइरहेको थियो। गाडीलाई छेउ कुना लगाएर रोक्ने कोशिस गर्यौ तर सम्भव भएन। बफेलो जोन आइपुग्दा सम्म पानी परिरह्यो। १५ जुलाईको बर्षात सन १९४१ यताको सबै भन्दा ठुलो बर्सात रहेछ क्यानडाका लागि । ठुलो बर्षातको पानी सँगसँगै क्यानेडियन भूमि छोड्यौ ।
हाम्रो यात्राको गन्तव्य अब न्यु योर्क शहर थियो। दुई रात न्यु योर्कलाई खर्चिने सोच बनाएका थियौ। न्यु योर्क पुग्दा पानी पर्न मत्थर भएको थियो । नयाँ बाटो पानीको दबाब झेल्दै रातको ९.३० मा न्यु योर्क पुग्यौ । न्यु योर्क स्टेटका अधिकांश भागहरू सुन्दर रहेछन्। समथर भूभाग वरिपरि डाँडाहरू देखिन्थे। बिचमा फराकिलो समथर जमिन। त्यहाँका धेरै ठाउँले नेपालको सम्झनालाई ताजा बनाइ रह्यो।
जङ्गलले भरिएका पहाडहरू,डाँडाको घाँचमा लमतन्न परेर सुतेका सडकहरूले नेपालकै बनोटको झल्को दिइरहेको थियो। सडक सञ्जालले गर्दा पहाडका फेदीहरू रमाइला देखिन्थे। होचा र सुतेका पहाडहरूलाई जङ्गलले ढपक्कै ढाकेको थियो। घाम पानीको मौसम सँगै पेन्सिल्भेनिया राज्यको फिलाडेल्फियाको भूमिमा दौडिरहेका थियौ। बेलुकाको सुनौलो घामका किरणसँगै न्यु योर्कले हामीलाई मिठो स्वागत गरिरहेको थियो । मन प्रफुल्ल र आनन्दित बनाइरहेको थियो । न्यु जर्सी पुग्दा रातको १० बजेर ९ मिनट पार गरेको थियो घडीको सुइँले ।
न्यु जर्सी पुग्नु अगावै धपक्कै बलेको न्यु योर्क शहर हेरौँ र शहरलाइ पैदल मार्च गरौँ भन्ने लाग्यो । तर गाडी पार्किङको समस्याले न्यु योर्क छोडेर न्यु जर्सी पुग्नु पर्यो। गाडी पार्किङ गरेर रातको ११ बजे पुनः चुम्बकीय शहर न्यु योर्कको मुटु म्यानहटन र टाइमस्क्वायर पुग्यौ। त्यहाँ प्राप्त हुने आनन्द र रमाइलोलाई ग्रहण गर्यौ। न्यु योर्कको खुलदुली मेटायौ। न्यु योर्क संसारकै लागि किन चुम्बकीय शहर बनेको रहेछ भन्ने बारेमा न्यूनतम जानकारी प्राप्त गर्यौ। साच्चैनै न्यु योर्क चुम्बकीय शहर रहेछ । किन संसारकै आकर्षणको केन्द्र बनेको रहेछ भन्ने सामान्य सन्देश पनि पायौ। भौतिक सम्पन्नता, आर्थिक र राजनैतिक रूपले परिपक्व बनेको न्यु योर्क शहरका मुख्य स्थान म्यानहटन र टाइमस्क्वायरले दिने रमणीयता र सुन्दरतामा पागल पन थियो।
न्यु योर्क शहरलाइ मानिसहरूले जति दिन विचरण गर्छन् त्यति नै दिन दिमागी थेरापी हुने रहेछ। सोच शून्य गराउने रहेछ। मानवीय चाहनाका स्थलगत दृश्यहरूलाई आँखा भित्र राख्यौ र मनपरी थुप्रायौ। अनि सोच्यौ न्यु योर्क शहर टाढाबाट संसारले कल्पना गरे जस्तै रहेछ। न्यु योर्क शहरको रात र दिनको फरक अनुभूति पनि प्राप्त गरियो। अस्वाभाविक आकर्षण बोकेको न्यु योर्कले दिइरहेको आनन्द र रमाइलोलाई सधैँ सम्झनामा आइरहने गरी पोको पारेर ल्यायौ ।
न्यु योर्क हेर्यौ र न्यु योर्क सहरको रहर पुरा गर्यौ। न्यु योर्क जीवन्त शहर थियो। न्यु योर्कको आन्तरिक र बाह्य जीवनले दिने आकर्षणमा भव्यता थियो र शालीनता पनि। जीवन्त इतिहासको साक्षी रहेछ न्यु योर्क। यस्तै अनूभत गरियो र न्यु योर्क छोडियो। २०२१ को एक रात अप्रत्याशित थियो भने २०२४ को दुई रात स्वेच्छाचारी थियो। न्यु योर्कको बसाइ।
निर्वासित आमा
दासत्व र फांसीबादको अन्त्य र स्वतन्त्रताका लागि भएका युद्ध र क्रान्तिहरूले नै लिवर्टी अफ स्ट्याच्यूको परिकल्पनाका आधारहरू तयार भएका थिए । लिवर्टी अफ स्ट्याच्यूको परिकल्पनाका आधारहरू खोज्दै जाने हो भने महान् फ्रान्सेली कलाकार डेलाक्रोइक्सको नाम पहिले आउने रहेछ। उनले आफ्नो चित्रकलामा “लिबर्टी लिडिङ द पिपलमा” लिबर्टीको लागि नाटकीय रूपमा नयाँ अनुहार सिर्जना गरे जुन सिर्जनालाई उनले एक क्रान्तिकारी नायिकाको रूपमा चित्रण गरेका रहेछन्।
डेलाक्रोइक्सको त्यो सिर्जना फ्रान्सेली युवा कलाकार बार्थोल्डी र लाबोडे दुवैले सिर्जनामा क्रान्तिकारी नायिकाको हिंसात्मक छवि देखिएको भन्दै सिर्जनालाई अस्वीकार गरे र त्यागी दिए । त्यस पछि “फेडेरिक अगस्ते बार्थोल्डी”ले पनि एक महिलाको भव्य मूर्तिको परिकल्पना गरे, जुन महिलाको मूर्तिमा देखिने अनुहार आफ्नै आमाको अनुहारसँग मिल्ने गरी बनाएका थिए । आज त्यही मूर्ति अमेरिकाको बेडोलो टापुमा अवस्थित छ। जुन मूर्तिलाई “निर्वासित आमा “ भनेर पनि भनिन्छ। उनले तयार गरेको मूर्तिको परिकल्पनाकार भने स्वतन्त्रताका पक्षपाती प्रख्यात राजनैतिक विचारक “एडवार्ड डे लाबोडे” थिए।
स्वतन्त्रताको लागि एडवार्ड डे लाबोडेको प्रस्तावित स्मारक को सबैभन्दा उत्साही समर्थकमा उनै युवा मूर्तिकार-फ्रेडेरिक-अगस्ते बार्थोल्डी थिए। उनको मूर्ति निर्माणमा सहयोग गर्न १८८३ मा युवा लेखक “एम्मा लाजरस” ले “नयाँ कोलोमस”भन्ने शीर्षकको कविता दान गरे। जुन कवितामा लिवर्टीलाइ युरोपको दुःखबाट शरण प्रदान गरेको रूपमा चित्रण गरिएको थियो। १८८१ मा जन्मेका लाबोडेले फ्रान्समा प्रजातन्त्र फिर्ता गर्नका लागि आफ्नो राजनैतिक करिअरको धेरै समय बिताएका थिए। “एडवार्ड डे लाबोडे” आफ्नो समयका महत्त्वपूर्ण राजनैतिक विचारक र अमेरिकी संविधानका एक प्रमुख विशेषज्ञ, साथै अमेरिकी गृहयुद्धको समयमा राष्ट्रपति अब्राहम लिङ्कनको नस्लवाद उन्मुलन आन्दोलनका समर्थक थिए।
उनले प्रस्ताव गरेको स्मारक २८ अक्टोबर १८८६ को वर्षा याममा अमेरिकाको “बेडोलो टापु”मा अनावरण गरिएको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति ग्रोभर क्लिभल्याण्ड लगायत प्रमुख व्यक्तिहरूले मूर्तिको स्वतन्त्रताको प्रतिज्ञाको प्रशंसा गरे तर स्ट्याचु अफ लिबर्टी को पिता मानिने एडवार्ड डे लाबोडे को १८८३ मा मृत्यु भएकोले उनले स्ट्याचु अफ लिबर्टी को समर्पण भने देख्न पाएनन्। उनको परिकल्पना भने अनन्तकाल सम्म जीवन्त रहनेछ।
संसारभरका लाखौँ मानिसहरूको स्वतन्त्रताका लागि जीवित प्रतीकका रूपमा रहेको स्ट्याचु अफ लिबर्टी “कोलोमस”शीर्षकको कविता समयसँगै “लिवर्टी” एम्मा लाजरसका रूपमा देखापर्यो किन भने १८८६ र १९२४ को बिचमा १४ मिलियन आप्रवासीहरूले अमेरिका प्रवेश गरे। बेडोलो टापुमा रहेको “स्ट्याचु अफ लिबर्टी अर्थात् निर्वासित आमा “अमेरिका प्रवेश गर्ने मानिसहरूलाई आफ्नो सपनाको देशमा आइपुगेको आश्वासन दिने सङ्केत थियो। त्यसैले अमेरिका प्रवेश गर्ने नव आगन्तुकहरूका लागि मात्र नभएर संसारका मानिसहरूलाई मूर्तिमा देखिने हातले समातिएको मशालले स्वतन्त्रताका लागि आह्वान गरिरहेको थियो। “स्वागत” गरिरहेको थियो र अनन्तकाल सम्म गरिरहनेछ ।
भोकले पाएको विश्राम
अमेरिकाको बेडोलो टापुमा अवस्थित लिवर्टी अफ स्ट्याचूलाई हेर्न १६ जुलाई बिहानको १० बजेको टिकट थियो। त्यसैले बिहानको ब्रेकफास्ट होटेलमा नै गर्यौ र हिँड्यौ स्ट्याच्यू अफ लिवर्टीलाइ आलिङ्गन गर्न। स्ट्याच्यू अफ लिवर्टी जानका लागि न्यु योर्क र न्यु जर्सी दुई ठाउँबाट क्रुजको टिकटको व्यवस्था रहेछ। हामीले न्यु जर्सीबाट क्रुज चढ्ने गरी टिकट लिएका थियौ। न्यु योर्कबाट क्रुज चढ्ने मानिसहरूको सङ्ख्या अधिक हुने रहेछ। त्यसैले हामीले न्यु जर्सीबाट क्रुज चढ्ने योजना बनाएका थियौ।
स्ट्याच्यू अफ लिवर्टीको क्राउन लेबल सम्म पुगेर आँखाले देख्न सक्ने सम्मको न्यु योर्कको दृश्यलाई हेर्ने हाम्रो चाहना पुरा हुन पाएन। क्राउन लेबलसम्म पुग्ने टिकट पाइएन।हाम्रो चाहनामा ठेस लाग्यो। क्राउन लेबल भन्दा तलको बार्दलीबाट न्यु योर्कले ओगटेको क्षेत्र र अनेकौँ स्थान र दृश्यहरूलाई घन्टौसम्म हेरिरह्यौ ।
मौसम खुलेको दिन थियो त्यसैले पनि दुरदृष्टि पुर्याउन आँखालाई सजिलो भएको थियो र न्यु योर्कको विशालताको अनुभव सँगालेर राख्न पाइयो। त्यही रहेका म्युजियम र स्ट्याच्यू अफ लिवर्टीको विगत र आगतसम्मको श्रव्य र दृश्य हेर्दै इतिहासका पाना पल्टाइरह्यौ। यति वेलासम्म दिनको तिन बजिसकेको थियो। अत्यास लाग्दो भोकले हामीलाई स्ट्याच्यू अफ लिवर्टीको रमाइलोसँग विच्छेद हुन बाध्य गरायो। परबाट आइरहेको क्रुज चढ्न हतार हतार गरेर अगिल्लो पङ्क्तिमा पुग्यौ र क्रुज चढ्यौ। क्रुजले हामीलाई लिएर हिँड्यो। न्यु जर्सी पुग्यौ र गाडिलिएर ज्याक्सन हाइट तिर लाग्यौ। हामीले भोकलाई ज्याक्सन हाइटमा विश्राम दियौ।
ज्याक्सन हाइटमा पुग्यौ र नेपाली संस्कारको थकाली नामको खाना खाएर रमायौ। हाम्रो जिब्रोमा रहेको थकाली खानाको वर्षौँ वर्षको स्वाद ज्याक्सन हाइटले दिन सकेन। हिराचन, ज्वारचन , शेरचन र लालचन थरका थकालीहरूको हातबाट पकाएको खानाको स्वाद अल्झिएको जिब्रोमा ज्याक्सन हाइटको थकाली नामधारी खानाले हामीलाई तृप्ति दिन सकेन। यहाँ सञ्चालन गरिएका थकाली रेस्टुरेन्टहरूले रियल थकाली खानाको स्वाद दिन सक्दैनन् भन्ने मनमा हुँदाहुँदै पनि हामी गएका थियौ। तर भोक मीठो हुँदो रहेछ।
अक्षर धाम
१७ जुलाई २०२४ मा न्यु योर्कसिटीलाई रात र दिन गरेर दुई फन्को लगाइ सकेका थियौ। टाइमस्क्वायर र म्यानहटनको दृश्य आँखालाई पट्यार नलागिन्जेलसम्म हेर्यौ। संसारका मानिसलाई आकर्षण गर्ने पहिलो शहर न्यु योर्कको मुटु म्यानहटन र टाइमस्क्वायरले हामीलाई दिने रमाइलो र आनन्द पुरै दिई सकेको थियो। न्यु योर्कले अब हामीलाई भुलाउन सक्ने ठाउँ थिएन। त्यसैले अगिल्लो दिनको साँझ नै हामीले न्यु योर्कसँगको सम्बन्ध विच्छेद गरेका थियौ। न्यु योर्कलाई छोडेर अलि पर पुग्यौ ।
न्यु योर्क र न्यु जर्सी जोड्ने दुई मिनट लामो टनेल पार गरेर न्यु जर्सीको होल्याण्ड इनमा आएर बास बस्यौ। अर्को दिन तुलसी पोप्ने एकादशी परेको थियो। हामी हिन्दु धर्मावलम्बीहरूलाई धार्मिक चाडपर्वहरूले र संस्कारजन्य कर्महरूले ज्यादै नै आकर्षण गर्छ। महत्त्व राख्छ। त्यसैले रामा स्वामी मन्दिरको दर्शन गर्ने सोच बनाएर बाटो छोट्टाएका पनि थियौ। न्यु जर्सीबाट केही नजिक हुने भएकोले पनि हामी न्यु जर्सी बस्न गएका थियौ। १८ तारेख बुधवारको दिन तुलसी रोप्ने एकादशीका दिन रामा स्वामी मन्दिरको दर्शन गर्न पुग्यौ ।
मन्दिरको दर्शन हिन्दु संस्कारमा पुण्य कर्म मानिन्छ।श्रावणको महिना परेकोले पनि मन्दिर दर्शन गर्ने उद्देश्यले बिहानको ७.१५ मा होटेल छोड्यौ र हिँड्यौ रामा स्वामी मन्दिरको दर्शनका लागि। रामा स्वामी मन्दिर अक्षर धामको विशालता र वैभवताका बारेमा धेरै सुनिएको तर पुग्ने र हेर्ने समय मिलेको थिएन। यो सौभाग्य पनि हामीलाई जुर्यो। न्युजर्सीबाट हिँड्दा मौसम त्यति खुलेको थिएन तर पनि मौसमले धोखा दिएन । न्यु जर्सीमा हिन्दु मन्दिरहरू अरू पनि रहेछन्। रामा स्वामी मन्दिर अक्षर धाम जाँदा दुई वटा मन्दिर बाटोमा नै परेकोले दर्शन गरियो। पुरानो श्री लक्ष्मीनारायण मन्दिर भड्तालधाम लक्ष्मीनारायण देव गडी पुगेर।
९.१५ बजेको थियो हामी अक्षर धाम स्वामी नारायणको मन्दिर पुग्दा। हामीले दर्शन गर्न र हेर्न चाहेको मन्दिर नै अक्षर धाम स्वामीनारायणको मन्दिर थियो। हामी हिँडेको करिब ३ घण्टा पछि मात्र स्वामीनारायणको मन्दिर अक्षर धाम परिसर पुग्यौ। स्वामीनारायण मन्दिरको यो किसिमको विशाल भावभङ्गीको मन्दिर मैले देखेकै पहिलो पटक थियो। यो आर्किटेक्चर र कालीगडीको स्पाती अनि कल्पना शक्तिको अनुपम संयोजन प्रति हाम्रो सदा सदा सम्मान रहिरहनेछ। रामा स्वामी मन्दिर परिसर अवस्थित निर्मित र निर्माणाधीन देव मूर्तिहरूलाई मसिन्याएर हेर्दा करिब तीन घण्टा बितेछ।
मन्दिरको पूर्णाकार हेर्न अझै केही वर्ष कुर्नु पर्ने रहेछ। बनिरहेको मन्दिरको आकृति र आकर्षण हेर्दा रामास्वामीनारायण मन्दिर अक्षर धाम संसारमा रहेका आश्चर्यहरू मध्येको अर्को एउटा आश्चर्यको कोटीमा पर्छ कि जस्तो लाग्यो। २०१० मा निर्माण प्रारम्भ गरिएको रामास्वामीनारायण मन्दिर अक्षर धामको निर्माण सम्पन्न हुन अझै दुई देखि तिन वर्ष लाग्ने अनुमान गरिएको छ। १८५ एकर्ड जमिनको भूभागमा अवस्थित रामा स्वामी नारायण मन्दिर अक्षर धाम आधुनिक संसारमा निर्माण भएको अद्भुत आर्किटेक्चर निर्माण थियो।
सेता हिमालका आकार दिएर निर्माण गरिएको यो मन्दिर लाई झट्ट हेर्दा ठुलो पहाड जस्तो देखिन्थ्यो। मन्दिर निर्माणका लागि प्रयोग भएका ढुङ्गाहरूले २१,५०० माइलको यात्रा पार गरेका रहेछन्। युरोपबाट कार्गो जहाजमा भारत हुँदै अमेरिका ल्याइएका ढुङ्गाहरूलाई कूदिंएर बनाइएका मूर्तिहरू र मूर्तिहरूलाई शोभायमान बनाउन प्रयोग गरिएका कलाहरूले असम्भव जस्तो लाग्ने भव्यता देखियो।
दक्ष कालिगडहरूद्वारा कच्चा ढुङ्गाका ब्लकहरूलाई भव्य,जटिल रूपमा नक्साङ्गन गरेर , अविश्वसनीय र अद्भुत कलाकारितामा रूपान्तरण गर्दै आफ्नो विशेषज्ञता प्रयोग गरेको देखियो। कालिगडहरूद्वारा कुँदिएका प्रत्येक ढुङ्गाहरूलाई पूजन विधिद्वारा पवित्र गरेर प्रयोगमा ल्याइएको रहेछ। स्वामीनारायण मन्दिर अक्षर धाममा चमकयुक्त मार्बल र ग्रेनाइट जस्ता ढुङ्गाहरूको प्रयोग गरिएको छ। मन्दिरको भित्री भागमा ग्रिस,टर्की र इटालीबाट ल्याइएका सङ्गमरमरहरूको प्रयोगले मन्दिरको आकर्षण र अभूत दृश्यले झलझल कार स्वरूप प्रस्तुत गरिरहेको छ ।
दर्शकहरूको मनलाई तनमय बनाउने दृश्यहरू देख्न सकिन्छ । दर्शालुहरूलाई आफै भित्र हराएको अनुभूति उत्पन्न गराइदिन्छ। अनि जीवन र जगतको विश्मयकारी बोध गराइदिन्छ। अतुलनीय सुन्दरताको परिपूर्ण मन्दिरको दर्शनले अलौकिक योगलाई लौकिक योगमा रूपान्तरण गरेको होकी भन्ने महसुस गराउँछ। आधुनिक संसारमा निर्माण गरिएको धार्मिक आश्थाको केन्द्रका रूपमा स्वामीनारायण मन्दिर अक्षर धामलाई स्थापित गर्न खोजिएको छ।
२३५ वटा मण्डप स्थापना गरिने यस मन्दिर भित्र विभिन्न धर्म र आश्था राख्ने जो कोही मानिसका लागि पनि द्वार खुलारहने उदार भावनाले परिपोषित रामास्वामी नारायण मन्दिर अक्षर धाम एक पटक पुग्नै पर्ने धार्मिक स्थल रहेछ। रामास्वामी मन्दिर अक्षर धाम पुग्ने हिन्दु धर्मालम्बिहरूलाई त तीर्थस्थल मात्र होइन स्वर्ग स्थल पुगेको महसुश गराउने छ।
न्यु योर्कबाट गाडीमा दुई घण्टाको यात्रा गर्दा पुगिने स्थानमा रहेको रामास्वामी नारायण मन्दिर अक्षर धाम र न्यु र्योकसिटीको तुलनात्मक आकर्षण मापन गर्ने हो भने रामास्वामी नारायण मन्दिर अक्षर धामले आधुनिक संसारको अस्वाभाविक आकर्षण बोकेको पुण्य स्थल बनेको रहेछ। न्यु योर्कको आकर्षणलाई नै ओझेल पार्न सक्ने यो स्वामीनारायण मन्दिर अक्षर धामलाई विस्थापन गर्न सक्ने अर्को आर्किटेक्चर निर्माण हुन कैयौँ वर्ष लाग्न सक्छ। कला, चिन्तन,आश्था, सत्कर्म र समयका हिसाबले। रामास्वामी नारायण मन्दिर अक्षर धाम एक काल्पनिक चिन्तनको भव्य अकल्पनीय सभ्यताको विकास रहेछ।
कमल खनाल
नर्थक्यारेलिना
२०८१ भाद्र कृष्ण जन्माष्टमी