विश्व मानवीय सहायता दिवस २०२४ क्यानडामा मनाइयो
रामहरि कोइराला
क्यानडा/ क्यानडामा क्रियाशील सामाजिक संस्था, हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरले गत अगस्त १८ मा क्यानडाको नायग्रा फल्समा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो।
मानवीय सहायतामा विश्वव्यापी नेपाली डायस्पोराको योगदान, चुनौती र अवसर शीर्षकमा आयोजित सो कार्यक्रम विश्व मानवीय सहायता दिवस २०२४ को अवसर पारेर आयोजना गरिएको थियो।
समय समयमा नेपालमा आइपर्ने प्राकृतिक विपत्ति अनि मानवीय सङ्कटमा विश्वभर छरिएर रहेका नेपाली समुदायको सहयोग, सहभागिता अनि सेवा भाव कसरी प्रभावकारी बनाउन सकिन्छ ? त्यसका निम्ति चुनौतीहरू के के रहेका छन् ? लगायतका विषयहरूमा सो अन्तरक्रिया कार्यक्रममा गहन रूपले छलफल गरिएको थियो।
क्यानडा स्थित नेपाली राजदूत भरतराज पौडेलको प्रमुख आतिथ्ययतामा आयोजित सो कार्यक्रममा मानवीय सहायता विज्ञ कृष्ण केसी र नवराज गुरुङले कार्यपत्रद्वारा सम्बद्ध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। गहन रूपमा अध्ययन गरी प्रस्तुत गरिएको कार्य पत्रको मर्म, भावना अनि गन्तव्यप्रति सहभागीहरू बिच मिहिन अन्तरक्रिया भएको थियो ।
कार्यपत्र अनि छलफलको निचोड निकाल्दै राजदूत पौडेलले विश्वव्यापीरुपमा सङ्गठित अनि विकसित हुँदै गएको नेपाली डायस्पोरा समाजले आफ्नो राष्ट्र लाई केन्द्र भागमा राखेर आयोजना गर्ने यस्ता कार्यक्रमहरूमा नेपाल सरकार सधैँ साथमा रहने हुँदा यस निचोडलाई पनि छिट्टै राज्य संयन्त्रमा बुझाउने बताए।
कार्यक्रममा सिटी अफ नायाग्राका काउन्सिलर भिक्टर पाईट्रयान्गेलो, त्यस क्षेत्रका सांसद वाईनी गेट्स, लगायत केही विदेशीहरूको समेत सहभागिता थियो।
कार्यक्रममा गुल्फ र वेलिंग्टनको परिवार तथा बालबालिका सेवाका कार्यकारी निर्देशक डारिया एलन इब्रोन र सेवा निर्देशक शिया दहुजाले पनि आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा एनआरएनए क्यानडाका उप सभापति किरोज श्रेष्ठ, नायग्रा रिजनका नेपाली प्रतिनिधि दिपेश पोख्रेल लगायतले विषयगत धारणा राखेका थिए। आयोजक संस्था हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरका बोर्ड अफ डाइरेक्टर दिनेश सिंह मल्लले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए।
आयोजक संस्थाका अर्का बोर्ड अफ डाइरेक्टर सुमन ढकालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। आयोजक संस्था कै अर्का बोर्ड अफ डाइरेक्टर निरुपमा शर्माले उद्घोषण गरेको कार्यक्रममा आयोजक संस्था कै तर्फबाट बोर्ड अफ डाइरेक्टर विजय लम्साल स्वागत गरेका थिए। हेल्पिङ ह्यान्ड्स विदाउट बोर्डर क्यानडाका अध्यक्ष राजन छात्कुलीले संस्थाको उद्देश्य, प्रगति र उपलब्धि प्रस्तुत गरेका थिए ।
हेल्पिङ्ग ह्यान्ड्स वीदाउट बोर्डरका अध्यक्ष राजनश्री छत्कुल्लीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नायग्रा रिजन सेरोफेरोमा बसोबास गर्ने, विभिन्न पेसा व्यवसाय गर्ने अनि नेपालीहरूका हितमा खोलिएका विभिन्न संघ संस्थामा आबद्ध झन्डै एक सय जनाको उपस्थिति थियो।
कार्यक्रम क्यानडा र युएसएको सीमास्थित नायग्रामा अवस्थित बाल्टी इन्डियन रेस्टुरेन्टमा सम्पन्न भएको थियो। एमडीएस भिसाका आप्रवासी सल्लाहकार तथा आईसीआरसी मुगाराज भण्डारी, सीपीए विद्या भूषण कार्की, आप्रवासी सल्लाहकार तथा आईसीआरसी प्रमेश गुप्ता तथा बाल्टी इन्डियन रेस्टुरेन्टका श्री टिकाराम नेउरे र गोपाल पुनले कार्यक्रमको प्रायोजन गरेका थिए ।