पेन्सिल्भेनियामा नेपाली पिकनिक रमाए बालबालिका देखि वृद्धा सम्म
ग्राण्डभिल,पेन्सिल्भेनिया/ झन्डै साढे पाँच महिना अमेरिका बसेर, आगामी बिहीबार नेपाल फर्कन लागेकी लमजुङकी ७९ वर्षिया रश्मि बराल गत शनिवार दिन भर पिकनिकमा रमाइन।
नेपाली एट मेकानिक्सबर्गलले पेन्सिल्भेनियाको ग्राण्डभिल स्थित मेमोरियल स्टेट पार्कमा पिकनिक आयोजना गरेको थियो। ‘मेमोरियल लेक’ सँगै जोडिएको पार्क ह्यारिसबर्ग नजिकै छ। शनिवारको मौषम बिहान देखि नै बदलिरहेको थियो। छिन् भरमै पानी दर्किने, अनि एकै छिनमा घाम लाग्ने।
लगभग तीन सयको हाराहारीमा थिए, सहभागी। काखे बालक देखि जेष्ठ नागरिक सम्म । प्रतिकुल स्वस्थका बाबजुद पनि रश्मि बरालले चार घण्टा भन्दा बढी समय पिकनिकमा बिताइन।
‘साह्रै राम्रो काम गर्नु भयो बाबु, धेरै जना सँग चिनजान भयो, रमाइलो भयो, फेरि फेरि पनि यस्तो काम गर्नु होला।’ हिँड्ने बेलामा उनले पिकनिक आयोजनामा खटिने मध्येका एक अभिषेक थापा सँग भनिन्।
पिकनिकमा खाना मात्र होइन, उपस्थित सबै उमेर समूहका लाई रोचक हुने गरी कार्यक्रम तय गरिएको थियो। एका तिर खाना पाक्दै थियो, नजिकै पाल टाँगिएका थिए। छेउमा बालबालिका पिङ खेल्न व्यस्त थिए।
युवा वर्गलाई पटक पटक रोचक खेल आयोजना गरिएको थियो। बोराको थैलोमा टेकेर कुद्ने दौडमा धेरै जना रमाए। यसै गरी बिङ्गोले पनि धेरैको ध्यान खिचेको थियो।
पिकनिकको अर्को राम्रो पाटो बालबालिकाहरूको सांस्कृतिक कार्यक्रम थियो। उनीहरूले विभिन्न जातजातिका भेषभुषामा सजिएर नृत्य प्रस्तुत गरे। नेपाली गीतमा नृत्य गर्नेहरू कि नेपाल जन्मिएर सानैमा अमेरिका आएको वा अमेरिकामा नै जन्मिएकाहरू थिए।
‘यिनीहरू प्रायशःले पहिलो पटक सार्वजनिक ठाउँमा नाचेका हुन् राम्रो गरे।’ चर्चित नृत्यङ्गना पार्वती राई भन्दै थिइन्। उनी इन्ट्रा फाउन्डेसनले पेन्सिल्भेनियाको विभिन्न शहरमा सञ्चालन गर्दै आएको नृत्य कक्षाकी प्रशिक्षक हुन्। इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको नृत्य कक्षाका विद्यार्थीले पिकनिकमा आफूले सिकेको नृत्यकलालाई व्यवहारमा देखाउने मौका पाए, त्यो पनि चर्चित लोक गायक तथा पेन्सिल्भेनियाका लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतको सामुन्ने।
‘हामीले मेकानिसबर्गमा बस्ने नेपालीहरूका लागि सन् २०१८ देखि हरेक वर्ष पिकनिक आयोजना गर्दै आएका छौ, यो पटक सहभागिता अलिक म भएको हो तर पनि राम्रो भयो।’ पिकनिक आयोजक मध्येका एक अभिषेक थापाले भने। उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) पेन्सिल्भेनिया च्याप्टरका उपाध्यक्ष हुन्।
‘हामीले पिकनिकमा सहभागी सबै उमेर समूहलाई मनोरञ्जन होस भनेर कार्यक्रम तय गरेका थियौ, राम्रै भयो भन्ने हाम्रो बुझाइ छ।’ थापाले भने,’ खानपिन त छदै छ, मुख्य रूपमा अमेरिकी संस्कृतिमा भिज्दै गएका बालबालिकालाई हामीले हाम्रो समुदाय, संस्कार र संस्कृति यस्तो हुन्छ है भन्ने सन्देश दिनु र आपसमा घुलमिल गराउनु हो त्यसमा सफल हुँदै छौ।’
तस्बिरहरू भूपाल चौहान