भाषा र भुटान


विण्डसोर,क्यानडा/ साहित्य परिषद् भुटानको आयोजनामा क्यानडाको विण्डसोरमा भव्य विण्डसोर साहित्यिक सम्मेलन २०२४ भर्खरै सम्पन्न भएको छ । क्यानडा, अमेरिका, अष्ट्रेलिया लगायत क्षेत्रका धेरै कवि, साहित्यकारहरूलाई समेटेर गरिएको त्यो कार्यक्रमलाई भाषिक अभियानको एक माइल स्टोन भने पनि हुन्छ ।
नेपाली जाती भुटानीहरूले नेपाली कला,साहित्य र संस्कृतिको प्रवर्द्धन गर्न ज्यानकै बाजि लगाएका छन् । धेरैले भाषा बचाउने अभियानमा सहिद हुनु पर्यो, कति अङ्ग भङ्ग भए,कतिले देशनै छोड्नु पर्यो । निर्वासित जीवन भोग्न तयार भुटानी नेपाली जातिले आफ्नो मूल्य र मान्यताका विरुद्ध कहिले सम्झौता गरेनन् बरु निर्वासित हुन तयार भए । आफू जन्मिएको देश छोडे आफ्नो कला,साहित्य र संस्कृति छोडेनन् ।
यिनै आफू जन्मेको देशबाट खेदिएका,बिचल्लीमा पारिएका,नेपाली भाषी भुटानीहरूलाई आफ्नो,गाउँ ,ठाउँ,सारा सम्पत्ति ,आफन्त र गाउँले साथीहरू सबैबाट छुट्टाएर विभिन्न देशमा पुनर्वास गराइयो । संसारको जुनसुकै मुलुकमा विभाजित भएर बाँडिनुपरे पनि यिनले आफ्नो आदर्श र आस्थालाई विचलित हुन दिएनन् र विभिन्न माध्यमबाट नेपाली भाषालाई बचाउने अभियानमा सक्रिय भई रहे । कोही संघ संस्था खोलेर कोही स्वतन्त्ररुपमा भाषाको सेवामा लागिरहे । यिनै मध्येको एउटा संस्था हो साहित्य परिषद् भुटान ।
साहित्य परिषद्ले विभिन्न देशमा आफ्नो शाखा बिस्तार गरेर नेपाली भाषाको उन्नयन र विकास विगत देखि नै गरिरहेको छ । सन् २०२४ को अगस्त १७ तारिख क्यानडा शाखाको व्यवस्थापनमा अन्टारिओको विण्डसोरमा यो साहित्यिक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्व अध्यक्ष एवम् संस्थापक समूहकी सदस्य साहित्यकार गीता खत्रीको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रममा भुटानी समाजका प्रबुद्ध व्यक्तित्वहरू विश्वनाथ क्षेत्री,भुवन प्याकुरेल,दिल भुटानी,डा. नारद पोख्रेल,भानु ढुङ्गाना,छवि ढकाल,न्यु योर्क बाट राम खत्री लगायतको सहभागिता थियो । नेपाली भाषामा योगदान गरिरहेका विभिन्न व्यक्ति, व्यक्तित्वलाई सम्मान गरिएको सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ठहरिएका पुस्तकका लेखकहरूलाई पुरस्कृत गरिएको थियो ।
भुटनिज लिटरेचर डट कममा एक सय लेख रचना प्रकाशित गरेकोमा साहित्यकार एवम् पत्रकार भक्त घिमिरेलाई सम्मान गरिएको थियो भने नेपाली भाषा साहित्यमा योगदान गरे बापत कवि एवम् साहित्यकार केशव घिमिरे वैरागी माइला, डी.पी. वस्ती, धर्मेन्द्र तिम्सिना क्षितिज , आर पी सम्मानित भएका थिए । नेपाली शिक्षाको प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिकाको लागि गोमा खतिवडा अधिकारी ,कृष्ण दंगाल , जानुका खनाल सुवेदीलाई सम्मान गरिएको थियो । आख्यान विधाका लागि प्रहेलिकाका लेखक जे. एन. दाहाल पुरस्कृत गरिएका थिए । भुटानका सम्मानित लेखक देवीभक्त लामिटारेद्वारा लेखिएको पुन सम्पादित ‘दन्किँदो भुटान’, बी. पी. शर्माको ‘म सिङ्गै हराउनका लागी रहेछु एउटा शहर भित्र’ ,तुम्बेहाङ लिम्बूको आगोको ‘बिउ’ र हेम गुरागाईँद्वारा अनूदित ‘दि प्लिग विट्नेस’ नामक पुस्तकहरू सार्वजनिक गरिएको थियो ।
अत्यन्त शान्त र व्यवस्थित विण्डसोर सम्मेलनमा कविता, गजल वाचन गर्नुका साथै भाषा र साहित्यको संरक्षणमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो । कवि विमला निरौला, गण्डकीपुत्र, नवीन प्राचीन, भरत तिम्सिना, मदन दुलाल, दीपा राई पुन, विश्वास लामा, धर्मेन्द्र तिम्सिना क्षितिज, ओम ढुङ्गेल , सुरेन्द्र राज भण्डारी, तुलसा अधिकारी लगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए । साहित्यिक माहौललाई अझ आकर्षण थपेको थियो रिया रिजाल ,रिदम रिजाल , अर्जुन रसाइली , मनोज राईका साङ्गीतिक प्रस्तुतिले । भोलानाथ सापकोटा , गोविन्द सिं रावत , भक्त घिमिरे,डा.लक्ष्मी नारायण ढकालले विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै अदिति प्याकुरेलले समुदायमा नेतृत्व सशक्तीकरण विषयमा बोलेकी थिइन ।

अमेरिका र क्यानडाका साहित्यकारहरूको यो जमघटले निक्कै महत्वका साथ भाषा र साहित्यको विकासको लागि छलफल र विमर्श गरेको थियो । विण्डसोरको आत्मीय आतिथ्य बिर्सन नसकिने थियो । हाम्रो टोलीमा छ जना थियौँ । बाटा भरी भवानी अधिकारीका श्लोकबद्ध परिहास , बिष्णु लुइँटेलको शिविरको साहित्यिक कथा , भरत तिम्सिनाको जे कुरामा पनि अड्डी कसेर तर्क गर्ने शैली, मदन दुलालको गम्भीर कुरा गराई , झगडा नै गरेजस्तो जे एन दाहालको चर्को आवाज र यी सबैको बिचमा रमाइलो गर्दै हिँड्ने गण्डकीपुत्र । बाटो कटेको पत्तै नपाइ ह्यारिसबर्गबाट विण्डसोर पुगियो । विण्डसोरमा हाम्रो आतिथ्यको प्रतीक्षामा थिए स्थानीय टेक मिश्र र पद्मा खनाल । आत्मीय बोली व्यवहार मात्र होइन खाना पनि त्यतिकै प्रशंसा गर्न लायक । अर्को जोडी जसले स्वागत सत्कारमा कुनै कमी हुन दिएनन् खगेन्द्र गौतम र लीला गौतम । अतिथि देवो भव: नेपाली जातिको विशेष परिचय विण्डसोरका भुटानी नेपाली जातिले देखाएको अर्को प्रशंसा गर्न योग्य कुरा थियो ।
कार्यक्रममा आफ्नो बिचार प्रस्तुत गर्ने क्रममा संस्थाका अध्यक्ष गङ्गा लामिटारेले भाषा बचाउन गरिएको सङ्घर्षको कथा सुनाउँदा सभा हल स्तब्ध भएको थियो । उनले अहिले इतिहासलाई एकातिर पन्छाएर गलत कुरा प्रचार नगर्न , सस्तो लोकप्रियता बटुल्न भाषाको सेवा गरेको भनेर भ्रम नछर्न खबरदारी गरेका थिए । सत्य र तथ्यले मात्र इतिहास सर्व स्वीकार्य हुने कुरामा जोड दिँदै अबको साहित्यिक अभियान एकताबद्ध भएर अघि बढाउन सके मात्र सफलता मिल्ने कुरामा जोड दिएका थिए । निक्कै आक्रामक शैलीमा बिचार राखेका उनले आफ्नो समाज बिर्सिएर मात्र नामका लागि काम गरेजस्तो गर्नेलाई दरो कटाक्ष हानेका थिए । लामो समयदेखि साहित्यको संरक्षणमा लागेका उनले साहित्यको श्री ,वृद्धि गर्ने उद्देश्यले २५ हजार डलरको अक्षय कोषको घोषणा गरेका थिए । कार्यक्रमको सञ्चालन परिषद्का सचिव कवि एवम् गीतकार खेम रिजालले निक्कै आकर्षक र सबैलाई शान्त र अनुशासनमा राखेर चलाएका थिए । कार्यक्रममा अरू कार्यक्रममा जस्तो कोही पनि बिचमा उठेर हिँडेको देखिएन यसले पनि उद्घोषणबाट सबै आकर्षित भएको आभास हुन्थ्यो । एउटा सार्थक कार्यक्रममा भाग लिने अवसरका लागि साहित्य परिषद् भुटानलाई अभिनन्दन ।
पुनश्च:- मैले समाज टाइम्सको अघिल्लो लेख एउटा अपिल ह्यारिसबर्गको नाममा , लेख्ने क्रममा ,भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाल अमेरिका आएको मिति र उद्देश्य गलत लेखिन गएकोमा क्षमा चाहन्छु। र सचेत गराउने मित्रहरू प्रति आभार व्यक्त गर्दछु । आगामी दिनमा पनि यहाँहरूको प्रतिक्रियाको आशा राख्दछु।
गण्डकीपुत्र
झोराहाट -२ मोरङ
हाल :- अमेरिका
र यो पनि..