सिमलताल घटनाबारे कार्यदलको अध्ययन सुरु
काठमाडौं । चितवनको सिमलतालमा शुक्रवार पहिरोसँगै खसेर त्रिशूली नदीमा खसेका दुईवटा यात्रुबाहक बससँगै वेपत्ता यात्रुहरुको घटनाबारे कार्यदलले काम सुरु गरेको छ ।
बुधबार घटनास्थल पुगेर गृहमन्त्रालयद्धारा गठन गरिएको कार्यदलले आफ्नो काम सुरु गरेको हो । सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु सहित बेपत्ता भएका थिए । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।
दश दिनको कार्यादेश दिइएको कार्यदलले बुधबार घटनास्थल पुगेर अध्ययन थालेको हो । सो क्रममा घटनाको प्रकृती पहिरोको स्रोत, बाटोको भौगोलिक अवस्थाका बारेमा सरोकारवालासंग छलफल गर्दै कार्यदलले अहिले सम्म खोजी कार्यका लागि भएका प्रगतीको विषयमा समेत जानकारी लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये अहिलेसम्म १८ जनाको शव भेटिएको छ ।
असार २८ गते बिहान सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नं. र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।