विदेशमा बस्ने नेपालीहरुका विषयमा ‘रिथिंक र रिभ्यू’ गर्छौंः नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा
![Arju-Rana Arju-Rana](https://samajtimes.com/wp-content/uploads/2024/07/Arju-Rana.jpg)
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विदेशमा विदेशमा बसोबास गर्ने नेपालीका लागि धेरै काम गर्न आवश्यक रहेको बताएकी छिन् । शीतल निवासमा पदतथा गोपनियताको सपथ लिएसँगै सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी राणाले विदेशमा बस्नेहरुका विषयमा रिभ्यू र रिथिंक गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन् ‘हाम्रा नागरिक अरुको देशमा बसिरहेका छन्, कतिले नागरिकता लिए, कतिले व्यापार गरेर बसेका छन्, कोही पढ्दैछन् । उनीहरूका लागि हामीले के गर्न सक्छौं, हामीले रिभ्यू र रिथिंक गर्नुपर्नेछ, ।’
अन्तर्राष्ट्रिय निकायहरूमा नेपालीको उपस्थिति कम रहेको भन्दै उनले अहिले आफ्नो व्यक्तिगत क्षमतामा मात्र नेपालीले अन्तर्राष्ट्रियस्तरमा उचाइ हासिल गरेको बताइन् । त्यसमा राज्यको स्तरबाट पहल गर्ने उनको भनाइ छ । विगतमा आफूले क्यानेडियन दूतावासमा काम गर्दा उनीहरूले आफ्ना नागरिकको संरक्षणका लागि के गर्छन् भन्ने थाहा पाएको परराष्ट्रमन्त्री राणाले बताइन् ।
अर्को प्रशंगमा मन्त्री राणाले सीमा समस्याहरू तथ्य र प्रमाणका आधारमा समाधान हुने बताइन् । उनले पहिलाभन्दा अहिले धेरै सूचनाहरु तत्काल प्राप्त हुने गरेको भन्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नुपर्ने अवस्था नरहेको बताइन् ।
बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुनपर्ने भन्दै तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुने उनको दावी गरिन् ।
मन्त्री राणाले भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समस्या समाधान गर्न सकिने बताइन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी उनी नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको श्रीमती हुन् ।
कांग्रेस समानुपातिक मार्फत प्रतिनिधि सभा सदस्य भएकी उनी हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति छिन् ।