प्रधानमन्त्रीमा ओली नियुक्त, कांग्रेस र एमालेले यसरी गरे मन्त्रालय बाँडफाँट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका हुन् ।
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबि पेश गरेका थिए ।
तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबि पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अब शपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपतिको कार्यालयले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ गर्ने गरी तयारी गरेको छ ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेस र एमाले सोमबार बिहाननै मन्त्रीहरुको पनि शपथ गराउने तयारीमा रहेका छन् ।
मन्त्रालय पनि टुंग्याए
नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन् ।
नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र बन मन्त्रालय पाउने भएको छ ।
त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ ।
कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारे अझै निर्णय भएको छ । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ ।