मन्त्रिपरिषद्मै प्रधानमन्त्रीले भने ‘राजीनामा दिन्न, विश्वासको मत लिन्छु’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ । राजीनामा दिने त्यस्तो केही कुरा छैन ।’
उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन् ।
२०८१ असार २० गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
१. चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमीकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा Inland Clearance Depot (ICD)/Integrated Chek post (ICP)र अरनिको राजमार्गको Maintenance and Slope Stabilization (चौथो चरण) निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्राप्त भएका Letter of Exchange (LoE)हरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।
२. आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको प्रति क्विन्टल रु. ३४१०/५१ र मध्यम धानको प्रति क्विन्टल रु. ३५८०/६२ न्यूनतम समर्थन मूल्य तोक्ने ।
३. नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेको तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानविन एवं भवन लगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने ।