एमालेले औपचारिक रुपमा लियो समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिकरुपमा फिर्ता लिएको छ । एमालेबाट मन्त्री बनेकाहरूले वुधवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
राष्ट्रिय सहमतिको नयाँ सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने भन्दै एमालेले समर्थन फिर्ता लएको हो । ‘वर्तमान सरकारलाई नेकपा (एमाले) को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ,’ राजीनामा पत्रमा भनिएको छ ।
प्रचण्डले प्रधानमन्त्रीपदबाट राजीनामा नदिए कसरी बन्छ त नयाँ सरकार ?
एमालेका मन्त्रीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीले समर्थन फिर्ता लिएको पत्रसहित राजीनामा बुझाएका हुन् । एमालेका तर्फबाट सरकारमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्री छन् ।