छैटौँ सागका घट्ना: समिक्षा र संस्मरणहरू
कमल खनाल
ठुलो जहाज चढेर मेरो पहिलो अन्तर्राष्ट्रिय यात्राको गन्तव्य थियो बंगलादेश । बोइङ्गको अनुभव लिँदै त्यो पनि सरकारी खर्चमा। भारत संसारकै धेरै मानिसलाई जन्मदिने देश हो। ठुलो देश हो। तर पनि हामी भारतलाई विदेश भन्दैनौ। जति बेला अहिले विदेश भनिएका देशहरू छन्। ती देशहरू हाम्रा कल्पनामा पनि थिएनन्। सयौँ वर्ष देखि नै हाम्रा पुर्खाहरू भारत पुगेका थिए। त्यो क्रम अहिले सम्म चलिरहेको छ। त्यसैले हामी भारत जाँदा विदेश भनेर बा आमाको आशीर्वाद थाप्दैनौ। यसै कारणले हो मेरो विदेश भ्रमणको पहिलो सूचिमा बंगलादेश परेको।
मेरो पहिलो सरकारी खर्चमा विदेश भ्रमण भएकोले पनि म उत्साहित थिए। त्यो पनि केही दिनका लागि अड्डा सरे जस्तै गरेर सबै साथीहरू सँगै बंगलादेश पुगेको थिए। यो भ्रमण स्वाभाविक रूपमा नै रमाइलो भइरहेको थियो। विदेश भ्रमणको पहिलो अनुभव थियो यो । बंगलादेशको विकास र राजनीति नेपालसँग मिल्दो जुल्दो थियो। प्रतिपक्षी पार्टीले सडक तताइरहेको अवस्था थियो। साग गेमको सुरक्षा प्रबन्ध कडा पारिएको थियो। भारत र पाकिस्तान दुई देशको सम्बन्ध त्यति राम्रो थिएन। त्यसैले यी दुई देशका खेलाडीहरू राखिएका होटेलहरूमा विशेष सुरक्षा व्यवस्था गरिएको थियो। बंगलादेश साग गेमको आयोजक राष्ट्र थियो।
१९९३ डिसेम्बर २० देखि २७ सम्म ११ खेलका विभिन्न इभेन्टहरू सञ्चालन गरिएका थिए। नेपालले पुरै खेलमा भाग लिएको थियो। सातै देशका करिब पैँतिस सय जति सहभागीहरूको उपस्थिति थियो। सहभागीहरूका लागि थ्री स्टार देखि फाइभ स्टार सम्मका होटेलहरूमा बस्ने खाने व्यवस्थापन गरिएको थियो। हाम्रो टिमलाई थ्री स्टार लेभलको होटेल सुन्दरवनमा राखिएको थियो। ब्रेकफास्ट,लन्च र डिनर होटेलद्वारा नै उपलब्ध गराएको थियो। होटेलको बसाइले घर नछोडेको व्यक्तिलाई नयाँ र नौलो अनुभव हुने नै भयो। नौलो र नयाँ ठाउँमा जाँदा त्यो पनि साथीहरूसँग जाँदा कति रमाइलो हुन्छ त्यो अनुभव व्यक्त गर्ने शब्द मसँग छैन। भोग्नेलाई मात्र थाहा हुन्छ।
मैले भरखरै युनिभर्सिटीको परीक्षा पुरा गरेको थिए। त्यो मेरो झनै खुसीको क्षण थियो। यसरी नै युनिभर्सिटीमा चिनेका साथीहरू विदेशमा भेट हुँदा कस्तो महसुस हुन्छ भन्ने कुरा को अनुभवलाई अक्षरमा उतार्न सकिएन। त्यसका आफ्नै लामा पाटाहरू छन् र रमाइला क्षणहरू पनि छन्। अनुभूति जन्य छन्। समग्रमा १९९३ मा बंगलादेशमा भएको सागका सहभागिताका सन्दर्भमामा केही तीता केही मीठा केही रमाइला घटनाहरू उत्पन्न भए। ती घटनाहरू आजसम्म पनि अविस्मरणीय रूपमा सम्झनामा आइरहन्छन्।
मलाइ त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको त्रिविवि समितिको सहसचिवमा मनोनयन गरिएको थियो। तर संघ भित्रको आन्तरिक कलहको सिकार भए। मेरो पद खोसियो। पछि सदस्य पदमा राखियो। मैले असहमति जनाए तर अरू बढी विवादले स्थान पाउने भएकोले त्रिविवि समितिका सभापतिले स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा तपाईँलाई सहयोग गर्छु भने पछि मैले सदस्य पद स्वीकार गरेको थिए। तर समयले मलाइ अर्कै भूमिका र जिम्मेवारीमा पुर्यायो। विश्वविद्यालयको भूमिकाबाट म अलग भए। विश्वविद्यालयमा रहँदा मैले नेपाल विद्यार्थी संघको एउटा कार्यक्रम सञ्चालन गरेको थिए। विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो। त्यो कार्यक्रममा इतिहास विषयमा स्नातकोत्तर अध्ययन गरिरहेकी एक छात्राले नारायण गोपालले गाएका गीतमा एकल प्रस्तुति दिएकी थिइन। नारायण गोपाललाई सम्झाइ रहने स्वर उनमा रहेछ। उनको गायकीलाई ‘वान्समोर’ भनियो र उनलाई तालिले सम्मान गरियो। उनी नेपाली विद्यार्थी थिइनन्।
- गणेश थापामा संयमता थिएन, धैर्यता थिएन। खेलाडी थिए तर खेलाडीको चरित्र थिएन। गणेशमा रिसको उन्माद देखियो। गणेश थापाले खेलाडी अनुशासन भन्दा बाहिर गएर छनौट समितिमा रहेका विशेषज्ञ फुटबलका पायनियर प्रशिक्षक धन बहादुर बस्नेतलाई कुटपिट गरे। भलिबलका प्रशिक्षक हरिहर श्रेष्ठलाई पनि कुटे।
१९९३ मानै विश्वविद्यालयको अध्ययन सकिसकेको थिए। त्यसैले पूर्णरूमा मैले विश्व विद्यालयको जिम्मेवारी बिर्सिदिए। नेपालको खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको बोर्ड सचिवमा नियुक्त भए। राजनीति र जेल जीवनको इतिहास खेलकुदमा समाहित भयो। मेरो खेलकुद जीवनको यात्रा प्रारम्भ भयो। विश्व विद्यालयको अध्ययनको विषय पनि हेल्थ एन्ड फिजिकल एजुकेसन भएकोले खेलकुदमा पुग्न मलाइ सहज भएको थियो। फेरि खेलकुद पञ्चायतका समयमा सर्वसाधारणले समेत सुन्ने गरी चर्चामा थियो। जुन सकारात्मक थिएन। जब मेरो दैनिकी खेल खेलाडी र त्यहाँको व्यवस्थापनसँग जोडियो तब थाहा भयो। हल्लामा सत्यता हुन्छ तर थोरै हुन्छ। नकारात्मक प्रचारले स्थान बेसी पाउने रहेछ। अर्थात् हामीमा सकारात्मक सोच बनाउने तन्तुको कमी छ।
कुनै पनि गेमको सहभागिताका सन्दर्भमा पहिलो प्राथमिकता खेल र खेलाडी छनौटले पाउँछ। बंगलादेशमा भएको छैटौँ साग गेमका लागि पनि खेल छनौट भयो। आयोजक राष्ट्रले राखिएका खेलहरू सबैमा नेपालले सहभागिता जनाउने भयो। साग स्तरीय खेलमा सकेसम्म खेलाडीहरूले फरक फरक देशका खेलाडीसँगको प्रतिस्पर्धा र अनुभव प्राप्त गर्नका लागि मौका दिइएको हुन्छ। बंगलादेश सागमा नेपाली खेलाडीहरूको सहभागिताको उद्देश्य पनि त्यही थियो। बंगलादेशमा भएको साग गेममा राखिएका खेलमा चर्चित खेल फुटबल नै थियो। आयोजक राष्ट्र बंगलादेशको फुटबल टिमको तयारी राम्रो थियो। हाम्रो पनि फुटबल टिम नराम्रो थिएन। त्यसमा पनि गणेश थापाको चर्चा दक्षिण एशियामा नै थियो। गणेश थापा व्यक्तिगत रूपमा चर्चित थिए। त्यो चर्चा उनको फुटबलको कलाले गराएको थियो।
त्यति बेला वैदेशिक सहभागिताका लागि खेलाडी छनौट गर्न समिति हुन्थ्यो। खेलाडीहरूलाई मर्का नपरोस् भनेर समितिले खेलाडी छनौट गरेर परिषद्मा पेस गर्थ्यो। परिषद्ले पनि छनौट समितिको निर्णय उपयुक्त लाग्यो भने पास गर्थ्यो। सकेसम्म राम्रा खेलाडीहरू टिममा परुन् भन्ने उद्देश्य हुन्थ्यो र छनौट गरिन्थ्यो । छनौट समितिमा सम्बन्धित खेलका विशेषज्ञ, डाक्टर, प्रशिक्षक लगायत बढीमा पाँच सदस्यीय समिति बन्थ्यो। परिषद्ले तयार गरेको कार्य विधिमा नै छनौट समितिको प्रावधान थियो।
बंगलादेश आयोजक राष्ट्र भएकोले सागमा फुटबलको गोल मेडल जित्ने तयारीमा थियो। बंगलादेश नेपालसँग मात्र तर्सिएको थियो। किन भने गणेश थापा जस्तो चर्चित खेलाडीको कप्तानीमा फुटबल टिम बंगलादेश आउँछ भन्ने उनीहरूलाई लागिरहेको थियो। त्यसैले खेलमा गणेश थापाका कमजोरी पत्ता लगाएर खेल्ने तयारी बंगलादेश फुटबल टिमले बनाइरहेको थियो।
भोलि पल्ट देखि खेल सुरू हुदै थियो। ब्रेकफास्ट खाएर सुटिङ्गको खेल भेनु तिर जान लाग्दै थियौ। कविरजंग राणा र म। एकजना केटीले परबाट कमल जीलाइ हेरिरहेकी छ। हांस्दै कविरजंगले भने। कविरजंग अलि रसिक थिए। हाम्रो उमेर धेरै फरक भए पनि हामीमा आत्मियता थियो। कविरजंगले भनेको सत्य रहेछ। उनले मलाइ नै हेरेर बसेकी रहिछन्। उनि तिनै हिजो भेट भएकी केटी थिइन समिमा । हामी वीच केहि समय कुरा भयो। आजको हाम्रो बसाइमा उनले पुरै मन खोलेर कुरा गरिन। मलाइ उनले आफ्नो घरमा लाने कोशीस गरिन। उनको घर चितागनमा पर्ने रहेछ। चितागन बंगलादेशको हेर्न लायक ठाँउ हो। उनको अनुरोध स्वीकार गरेको भए चितागन र समिमा मेरा लागि छोटो दुरी बन्थे होलान। ढाकाबाट तीनसय बीस किमि टाढा रहेको चतागन अझै टाढा भएको छ। उनिसँगको भेट पहिलो नभए पनि बिदेशको ठाँउमा उनिसँग एक्लै जान सक्ने अबस्थामा म थिइन। अर्कोदिनको समय दिएर उनलाइ पठाए। कविरजंग र म सुटिग खेल हेर्न गयौ।
नेपालको सहभागिता टोलीमा पत्रकारहरूको ठूलो टीम थियो। इश्वर बहादुर श्रेष्ठ र तेजप्रकाश पण्डित जस्ता सिनियर पत्रकारहरू बंगलादेश पुगेका थिए। पत्रकारहरूलाइ छुट्टै होटलमा राखिएको थियो। उनिहरू बसेको होटल र स्थान सुविधायूक्त रहेनछ, यातायातको पनि राम्रो बन्दोबस्त रहेनछ। परिषदका कोषाध्यक्ष र म एउटै रूममा बस्थ्यौ। पत्रकारहरूमा अलि वेशी खानपिनमा शोख हुन्छ राति अवेर सम्म बसेर न्यूज बनाउने र पठाउने गर्दा यस्ता कुराहरूको आवश्कता पर्छ नै। त्यो पनि बेलुका त्यतिवेलाको महंगो रक्सी भनेको रेडलेवल थियो। कोषाध्यक्षले एयरपोर्टको ड्यूटी फ्री बाट पाँचवटा रेडलेवल किनेर ल्याएका थिए। त्यो मलाइ थाहा थियो। तर मलाइ रक्सीको लत नभएकोले धेरै चासो राख्थिन। यात्रामा परिषदको कोष व्यवस्थापन नै कोषाध्यक्षले गर्ने भएकोले कोषाध्यक्ष भने पछि अलि महत्व हुन्थ्यो। पत्रकारहरू कोषाध्यक्षलाइ भेट्न सुन्दरवन होटलमा आइपुग्दा कोषाध्यक्ष कोठामा थिएनन्। कोषाध्यक्षको ब्यागमा रेडलेवल थियो। ब्यागमा राखिएका रक्सीहरूलाइ बडो सुरक्षित किसिमले राखिएको थियो। ब्यागमा ताला लगाइएको थियो। पत्रकारहरूको चाहना मैले बुझेको थिए। त्यसैले पत्रकारहरूले नदेख्ने गरी मैले कोषाध्यक्षको ब्याग हेरे, ताला लगाएको पनि हेरे, चेन खोल्न मिल्ने नमिल्ने हेरे । मैले लगाइ रहेको ताला भित्रैबाट रेडलेवलको एउटा बोतल ब्यागबाट निकालेर पण्डित जी को हातमा राखिदिए। उनिहरू खुशी भएर गए। कोषाध्यक्षले यो कुराको सुइको समेत पाएनन।
नेपालमा भने फुटबल खेलाडी छनौट समितिले गणेश थापालाई छनौट नै गरेन। गणेश थापा विनाको फुटबल टिम तयार गरियो। छनौट समितिले पेस गरेको प्रतिवेदन परिषद्ले पनि पास गर्यो। गणेश थापा विनाको फुटबल टिम बंगलादेश जाने भयो। बंगलादेश फुटबल टिमका लागि भने यो खुसीको समाचार थियो। नेपालमा भने गणेश थापा टिममा नपरेकोमा चर्चा र परिचर्चा धेरै भयो।
छनौट समितिले गलत गर्यो भन्ने पनि भयो। गणेश थापाको बारेमा एउटा धारणा सबैमा थियो कि गणेश थापा फुटबलका राम्रा खेलाडी हुन उनलाई छुटाउन हुँदैनथ्यो। परिषद्ले गलत गर्यो। जनगुनासो सुने पछि शिक्षा मन्त्रालयका सहसचिव भोलानाथ लोहनीको नेतृत्वमा छानबिन समिति बन्यो ।
गणेश थापामा संयमता थिएन, धैर्यता थिएन। खेलाडी थिए तर खेलाडीको चरित्र थिएन। गणेशमा रिसको उन्माद देखियो। गणेश थापाले खेलाडी अनुशासन भन्दा बाहिर गएर छनौट समितिमा रहेका विशेषज्ञ फुटबलका पायनियर प्रशिक्षक धन बहादुर बस्नेतलाई कुटपिट गरे। भलिबलका प्रशिक्षक हरिहर श्रेष्ठलाई पनि कुटे।
कुटपिट केशमा गणेश थापाका विरुद्धमा हनुमान ढोका प्रहरी कार्यालयमा उजुरी पर्यो। गणेश थापालाई पक्राउ गर्ने तयारी भयो। पक्राउ पर्ने डरले गणेश थापा डराए। त्यति बेला उनले मेरो साहारा खोजे र मेरो अफिस रोममा आए मेरो अगाडि धुरू धूरू रोए । उनले शिक्षामन्त्रीलाई भेट्ने चाहाना गरे। मैले उनलाई सम्झाए र शिक्षा मन्त्रीसँग भेट गराए। त्यति वेला राष्ट्रिय खेलकुद परिषद् शिक्षा मन्त्रालय अन्तरगत थियो। त्यति बेला फुटबल संघका कार्यवहाक अध्यक्ष थिए पुरुषोत्तम प्रसाद श्रेष्ठ। उनलाई अज्ञात व्यक्तिद्वारा संघकै अफिसमा खुकुरी प्रहार भयो। उनको टाउकोमा गम्भीर चोट लाग्यो र तुरुन्तै एम्वुलेनसमा राखेर वीर अस्पताल पुर्याइयो।
हाम्रो नेपाल टिम बंगलादेश पुग्यो। सुन्दर वन होटेल नेपाली सहभागीहरूका लागि तयार गरिएको थियो। नेपाली टोली दौरा सुरुवालमा बंगलादेश पुगेको थियो। बेलुकाको पाँच बजेको थियो होला। म होटेलको काउन्टरमा उभिरहेको थिए। एक जना केटी आएर मलाइ सोधिन तपाइ नेपाली होइन? मैले हो भने। मलाइ लाग्यो उनी हाम्रो होटेल व्यवस्थामा खटिएकी केटी थिइन। उनले पुन प्रश्न गरिन तपाईँलाई कता कता देखेजस्तो,भेटेजस्तो लाग्यो। म बंगलादेश पहिलो पटक आइ रहेको छु। कसरी उनले भेटेको र देखेको कुरा गरिन? मलाइ आश्चर्य लाग्यो। म मुसुक्क हाँसे र केही बोलिन। पछि उनले जब आफ्ना समझ्नाहरूलाइ बिस्तारै फुकाउँदै लगिन ती दिनका संस्मरणहरू म मा पनि ब्युँतिए। हाम्रो पुन परिचय नवीकरण भयो। यो कल्पना बाहिरको भेट आफैमा संस्मरणयुक्त थियो। केही समय सोफामा बसेर कुराकानी भयो। रात बिस्तारै छिप्पिँदै थियो। भोलि भेट्ने बाचा सहित हामी छुट्टियौ।
दुई दिन पछि कोषाध्यक्षले ब्याग चेक गरे ताला लगाइ रहेको थियो। चाबी आफ्नै साथमा थियो। ब्याग खोलेर हेर्दा एउटा रेडलेवलको बोतल कम थियो। उनी आश्चर्यमा परे। मलाइ दोष लगाउने कतै ठाउँ थिएन। पहिलो त म रक्सी नपिउने मानिस। दोस्रो ब्यागमा ताला लगाइ रहेको छ। तेस्रो चाबी आफैले बोकेर हिँडेका छन्। चौथो कोही पनि यो कोठामा आएकै छैनन्। त्यति बेलाको महँगो एक बोतल रक्सी हरायो। उनको अनुहार बिग्रियो। आन्तरिक हिसाब त मिलाउनु पर्ने नै हुन्थ्यो। अब उनलाई समस्या पर्यो। पछि सम्म पनि उनले कसरी रेडलेवलको बोतल हराइयो पत्तै पाएनन्। आज सम्म पनि यो कुरा मैले बाहिर ल्याएको थिइन।
अन्ततः बंगलादेशले फुटबलमा गोल्ड मेडल लिन सकेन। नेपाललाई भारतीय टिम सँगै भिडाएर आफू अगाडि बढ्ने उसको चाहनामा ठुलो ठेस पुग्यो। नेपालले फुटबलमा गोल्ड मेडल जित्यो। नेपालको एउटा मात्र गोल्ड मेडल त्यो पनि नेपालका लागि ऐतिहासिक गोल्ड मेडल थियो। मणि शाहको पेनाल्टी सुट र वसन्त गुरूङ्गको गोलले नेपाललाई गोल्ड मेडल दिलाए। बंगलादेशले फुटबलमा गोल्ड मेडल जित्न नसके पछि फुटबल प्रेमी बङ्गालीहरूमा आक्रोश पैदा भयो र बङ्गलादेशी फुटबल खेलाडीहरूलाई आर्मी क्याम्प भित्र लगेर राखियो। नेपाली फुटबल खेलाडीहरूको प्रशंसा भयो।
बंगलादेशमा नेपालले गोल्ड मेडल जिते पछि छनौट समितिको निर्णय प्रशंसायोग्य रह्यो। शिक्षा मन्त्रालयले बनाएको छानबिन समितिको उपादेयता रहेन। गणेश थापा प्रतिको मनोविज्ञानमा परिवर्तन आयो। एउटा घमन्डी खेलाडीको घमन्ड तोडियो। छनौट समितिले गणेशलाई छनौट नगर्नुका धेरै कारण मध्ये मुख्य कारणहरू थिए। गणेश थापा टिममा भइन्जेल अन्य खेलाडीहरूले त्रासमा खेल्नु पर्ने थियो । गोल गर्नका लागि सबै बल गणेशलाई मात्र दिनु पर्ने थियो। त्यसले गर्दा टिमको समन्वय नमिल्ने खेल सधैँ हारिरहनु पर्ने भयो। यो हैरानी बुझेका खेलाडीहरू र गणेश थापालाई राम्रैसँग बुझेका धनबहादुरले आफ्नो छनोटलाई प्रमाणित गराइ छाडे र प्रशंसायोग्य बने । संयोग नै भन्न पर्छ कि गणेश थापा खेलाडीका रूपमा होस वा फुटबल संघको नेतृत्वमा रहँदा फुटबल संघ र खेल कहिल्यै विवादमुक्त रहेन। अपेक्षित सफलता प्राप्त पनि गर्न सकेन।
समिमाको मलाइ चितागन लाने, सँगै जाने कुरा पुरा हुन सकेन। सुरुका दिन देखिनै उनले म प्रति देखाएको सद्भाव र सम्मानलाई मैले आकृतिमा स्वीकार गरे पनि भित्र मनमा डर थियो। किन उनले यो सद्भाव र सम्मान प्रकट गरिरहेकी छन्। उनले मेरालागि यति सम्म समय दिइन कि जिया अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गर्न सम्म आउन भ्याइन। नेपाली राम्रोसँग बोल्न सक्थिन। बिदाइको अन्तिम क्षणमा उनले भनिन काठमाण्डौमा भेटौला म गीत रेकर्ड गर्न आँउदैछु। रेडियो नेपालमा। मेरा गीत पनि रेडियो नेपालमा रेकर्ड भएर बजिरहेका थिए। उनले स्थापित गर्न खोजेको सम्बन्ध साङ्गीतिक थियो वा अन्य मैले भेउ पाउन सकिन। तर उनको र मेरो चिनजानको पहिले विश्व विद्यालयको प्राङ्गण पो रहेछ।