ओहायोमा इस्काको तीन दिने प्राविधिक सेमिनार सम्पन्न
सिनसिनाटी,ओहायो/ भुटानी नेपाली समुदायमा आधारित इन्टरनेश्नल सितोरियो कराते संघ (इस्का) आयोजनामा खुल्ला प्राविधिक तीन दिने सेमिनार सम्पन्न भएको छ।
इस्का अध्यक्ष शिव योगीका अनुसार अमेरिकाको ओहायो राज्यको सिनसिनाटीमा जुन २१ देखि २३ सम्म सञ्चालन भएको सेमिनारमा ८० जना खेलाडीको सहभागिता रहेको थियो।
अध्यक्ष योगीका अनुसार युएस कराते महासंघको आयोजनामा जुलाई ११ देखि १४ तारिख सम्म लुजियानामा हुने राष्ट्रिय च्याम्पियनसिपलाई मध्यनजर गरेर सेमिनार आयोजना गरिएको हो।
सेमिनारमा नेपाली करातेका संस्थापक थानेश्वर (टीएस) राई, पान अमेरिकन च्याम्पियन सेन्सेई जे अगुयरले करातेका विविध विषयमा खेलाडीलाई जानकारी गराएका थिए।
अध्यक्ष योगीका अनुसार सेमिनारमा खेलाडीको प्रदर्शन समेत गराइएको थियो। जसको आधारमा सिनसिनाटीका विकेश पौडेल ओभरल च्याम्पियन घोषित भए। यस्तै ओभर च्याम्पियन रनर अप कोलम्बसका समीर लिम्बु र कृश संग्रौला तेस्रो घोषित भए।
ओभरल अनुशासनको उपाधि कृन्सा न्यौपाने घोषित भइन्।
सोही अवसरमा राई र अगुयरलाई इस्काको तर्फबाट सम्मान गरिएको थियो।