राष्ट्रपति पौडेल जर्मनीको औपचारिक भ्रमणमा
काठमाडौं । ११२औँ अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिन स्वीट्जरल्याण्डको जेनेभा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि जर्मनीको औपचारिक भ्रमण गर्दै छन् । राष्ट्रपति पौडेल आज जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् ।
राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।
नेपाल र जर्मनीबीच सन् १९५८ अप्रिल ४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुई देशबीचको सम्बन्ध मित्रता, आपसी समझदारी र सहयोगका आधारमा बढ्दै गएको छ । दुवै देशले एकअर्काको राजधानीमा आवासीय दूतावास स्थापना गरेका छन् ।
मन्त्रालयका अनुसार नेपालले ५ जुलाई १९६५ मा बर्लिनमा आफ्नो दूतावास स्थापना गरेको थियो । जर्मनीले काठमाडौँमा सन् १९६३ मा आफ्नो दूतावास स्थापना गरेको हो । सन् २०१८ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सव मनाउन जर्मनी र नेपालमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।
विभिन्न तहमा भएका भ्रमण आदानप्रदानले दुई देशबीचको घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान पुर्याएको छ ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल छिन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहेका छन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने तालिका रहेको छ ।