अबको खेलमा घाम लाग्ने आसामा छौ: प्रशिक्षक मोन्टी देसाई
फोर्ड लाउडरहिल, फ्लोरिडा/ नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले अबको खेलमा घाम लाग्ने आसा व्यक्त गरेका छन्।
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत श्रीलङ्का सँगको मंलवारको खेल भारी वर्षाका कारण रद्द भएपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टीले आफूहरूले वास्तवमा खेल्न चाहेको बताए।
पहिलो खेलमा नेदरल्याण्ड पराजित नेपालले दोस्रो खेल रद्द भए पछि एक एक अङ्क बाढेको हो। अमेरिकाको फ्लोरिडास्थित ब्रोवार्ड काउन्टी क्रिकेट रंगशाला क्षेत्रमा मंगलवार बिहान देखि भारी वर्षा भएको थियो। वर्षाका कारण मैदानमा पानी जम्दा खेल रद्द भयो।
त्यस पछि आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक मोन्टीले अब आफूहरू आगामी खेलमा केन्द्रित हुने बताए।
‘अब हामी आगामी खेलमा केन्द्रित हुनेछौँ। अबको खेलमा घाम लागेर राम्रो खेल हुन्छ भन्ने आसामा छौँ। हामी टी-२० फर्म्याटमा कुनै पनि टोलीको चुनौती स्वीकार गर्न तयार छौँ।’ प्रशिक्षक मोन्टीले भने, ‘हामीले विश्वकपका लागि कडा मिहिनेत गरेका छौँ। त्यो हामीले मैदानमा देखाउन पाएनौँ।’
नेपालले अब जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ। दुवै खेलमा वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा हुनेछ। त्यसका लागि नेपाली टोली बुधवार सेन्ट भिसेन्ट जाने कार्यक्रम छ।
प्रशिक्षक मोन्टीले आफूहरूले वास्तविक खेल देखाउन नपाएको बताए , ‘हामी वास्तवमा खेल खेल्न चाहान्छौं। हाम्रा लागि श्रीलंकासँग अवसर थियो। किनभने उनीहरूमाथि दबाब थियो। हाम्रो लागि यहाँको पीच र कन्डिसनमा भिज्न पर्ने अवस्था थियो।’
प्रशिक्षक मोन्टीले क्यारेबियन पिचको अवस्था फरक हुने बताउँदै नेपाली टोली त्यसका लागि तयार हुनु पर्ने धारणा राखे। ‘सेन्ट भिसेन्टमा त्यहाँको पिचलाई सदुपयोग गर्न जरुरी छ। स्पिनर र अरू खेलाडीहरू त्यसका लागि तयार हुनपर्छ। १२० बलका लागि हामी तयार हुनपर्छ। त्यसलाई हामीले अवसरको रूपमा लिनपर्छ।’
उनले नेपालको युवा टोलीलाई संसारभरबाट नेपाली समर्थकले माया गरेकोमा धन्यवाद समेत व्यक्त गरे।
पत्रकार सम्मेलनमा श्रीलंकाका बलर महिस तिक्षणााले अब कुनै चमत्कार हुनु पर्ने प्रतिक्रिया दिए। उनले आफूहरूले राम्रो खेल्न नसकेको स्वीकारे।
‘मौसम हाम्रो हातमा छैन। हामीले पछिल्ला दुई खेलमा राम्रो खेल्न सकेनौँ। अब हामी बाँकी खेलमा राम्रो खेल्ने कोसिस गर्नेछौँ।’ तिक्षणाले भने, ‘अब हाम्रो हातमा समीकरण छैन। केही चमत्कार भए मात्र हामी बढ्न सक्छौँ,’ उनले भने, ‘सबै कुरा नराम्रो भयो। हामीले ब्याटिङ गर्न सकेनौँ। कन्डिसनअनुसार खेल्न सकेनौँ। त्यसले हामीलाई अन्तिम खेल राम्रो गर्नेछौँ।’