कांग्रेसप्रति ओली निकै आक्रामक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले नमाने पनि सरकारले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्ने बताएका छन् ।
शुक्रबार पर्सामा आयोजित नेकपा एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेस अब जेसुकै गरे पनि सदन चलाउने दाबी गरे । उनले समयमै सरकारको नीति तथा कार्यक्रम र बजेट संसद्बाटै पारित गरेर देखाउने उल्लेख गरे ।
‘सहमतिमा आएर कांग्रेस मान्छ भने मान्छ। मान्दैन भने हामीले नीति तथा कार्यक्रम जसरी हुन्छ पारित गरेर बजेट संसदमा पेस गरेरै छाड्छौं’ ओलीले चेतावनी शैलीमा भने ।
सरकारबाट बाहिरिनुपरेको पीडाको कुण्ठामा कांग्रेस आफैं रुमल्लिएको र देशलाई पनि अल्झाएर राखेको आरोप ओलीले लगाए ।
ओलीले भने, ‘सरकारबाट बाहिरिनुपर्दा कांग्रेसले ‘खिसियाइ बिल्ली खम्बा नोचे’ भनेझैँ संसदमा वितण्डा मच्चाइरहेको छ। खाँबो चिथोर्ने कुरा बिरालोलाई सुहाउँछ, कांग्रेसलाई सुहाउँदैन। कांग्रेसलाई मेरो यही आग्रह छ।’
उनले गृहमन्त्री तथा रास्वपा अध्यक्ष रवि लामिछानेलई एमालेले बोक्नुपर्ने कुनै आवश्यक नभएको भन्दै ओलीले एमाले भ्रष्टचारीहरूको अखडा नभएको बताए । एमालेले आफूले पनि भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टचार गर्न नदिने पार्टी भएको ओलीको जिकिर थियो ।
बुधबार संसद बैठकमा कांग्रेसका सांसदहरू आफू बसेकै ठाँउमा हुल बाँधी आएर हातपातै गर्नेजस्तो गर्न थालेपछि आफूले त्यसो नगर्न आग्रह गर्दा अझ उग्रता प्रदर्शन गरेको उनले बताए । त्यसपछि कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेर केपी ओलीले वातावरण बिगारेको भनेर झुट र बेइमनी कुरा गरेको ओलीको भनाई छ ।