गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान निर्माण सुरु
हेटौडा/ गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन थालेका छन् । लामो समय देखि अलपत्र जस्तै बनेको गौरिटार प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखे पछि पूर्वाधारहरू निर्माण हुन थालेका हुन ।
बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलले गौरिटारमा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गरे । २०८२ असार मसान्त भित्र सम्पन्न गर्ने गरी दुवै संरचनाको निमार्ण सुरु भएको प्रदेश खेलकुदका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।
८ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भिआइपी प्याफीट सहित २५÷५० मिटर र २५÷१० मिटरको पोखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिइएको छ ।
यस्तै ड्रेन सहितको क्रिकेट मैदान पनि निर्माण सुरु भएको छ । ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्केरवोर्ड, ५ वटा पिच सहित ६ सय क्षमताको प्याफीट निर्माण हुने बताइएको छ ।
निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिए। उनले गौरिटारलाईलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए। देशकै उत्कृष्ट खेल पूर्वाधार गौरिटारमा बनाउने उद्देश्यका साथ काम थालेको पनि कटेलले बताए।
प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहयोगका लागि स्थानीयहरू सँग अनुरोध गरे।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्तकालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको गौरिटारमा निर्माणको गति निकै सुस्त थियो । २२ विगाह १८ कट्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंगशालामा हाल प्रदेश सरकारले ट्र्याक सहितको फुटबल मैदान र प्याराफीटको काम अन्तिम चरणमा पुर्याएको प्रदेश खेलकुद सदस्य सचिव भण्डारीले जानकारी दिए। उनका अनुसार रंगशाला भित्र २१ वटा संरचना बन्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले दुई वटा कभर्डहल र खेलाडी छात्रावास निर्माण गरेको थियो । त्यस पछि उक्त योजना परिषद्को बजेटमा नपरे पछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो ।