अमेरिकामा दानवीर डा. श्याम कार्की

पेन्सिल्भेनिया/ जागिरबाट रिटायर्ड भएर पनि डा. श्याम कार्की प्रायशः व्यस्त नै हुन्छन्। उमेरले ७८ वर्ष काटिसक्यो तर पनि उनी सामाजिक काममा उत्तिकै सक्रिय छन्, तन्नेरी भन्दा बढी। अझ मेरील्याण्डको ग्लेन आर्ममा रहेको हिन्दु बौद्ध मन्दिरमा अप्रिल पहिलो साता सम्पन्न महायज्ञ पछि उनको व्यस्तता झन् बढेको छ।
पुराना साथीभाइ इस्ट मित्र कतिले भेटेर त कतिले फोनमा बधाई दिइरहेका छन्। नयाँले पनि को हो श्याम कार्की भनेर चासो राखेका छन्।
नराखुन् पनि किन, वाचन प्रवीन पण्डित दीनबन्धु पोखरेल सहितका हजारौँ भक्तजनलाई साक्षी राखेर मन्दिर परिसरमा आयोजित ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ मा डा. कार्कीले १२ लाख अमेरिकी डलर दान दिने घोषणा गरे। अहिलेको बजार मूल्य अनुसार यो १५ करोड नेपाली रुपैयाँ भन्दा बढी हुन आउँछन्।
कार्की दम्पतीको घोषणा सँगै महायज्ञमा उपस्थित मध्ये कत्तिले जिब्रो निकाले। कत्तिले ताली पड्काए। अनि जसलाई डा. श्याम कार्कीको बारेमा खासै जानकारी थिएन उनीहरूले चासो दिन थाले, को हुन उनी?
काठमाडौँ असन बालकुमारीथानमा सन् १९४६ मा जन्मिएका हुन कार्की । बुबा नृपध्वज कार्की आमा खड्क कुमारी कार्कीका पाँच छोरा मध्ये उनी जेठा हुन्। उनी माथि एक दिदी थिइन्। दिदीको स्वर्ग भइसक्यो। माहिलो भाइ बाहेक अन्य भाइ र बहिनीको परिवार नै अहिले अमेरिकामा छ। माहिलो भाइ अमेरिकामा रमाउन सकेनन् र काठमाडौँ फर्किए।
‘मेरो पिता नेपालको पहिलो स्नातक हुनुहुन्थो, उहाँ नेपालको पहिलो एकाउन्टेड पनि हो।’ डा. कार्कीले भने, ‘बुबाले भारतको बम्बइबाट स्नातक गर्नु भएको हो, राजा महेन्द्रले जागिर खोस्नु अगाडी उहाँ वन मन्त्रालयको सचिव हुनुहुन्थ्यो।’
विश्व निकेतन स्कुलबाट सन् १९६० मा प्रवेशिका परीक्षा (एसएलसी) गरेका कार्कीले त्रिचन्द्र कलेजबाट आइएसी पास गरे हुन्। सोही कलेजमा बीएसी पढ्दै थिए, लेवलनको बेरुदमा रहेको अमेरिकी कलेजमा छात्रबृद्दि पाए। लेनबनमा उनले फार्मेसीमा पाँच वर्ष अध्ययन गरे।
बेरुदमा ब्याचलर गरे पछि सन् १९६९ मा नेपाल फर्किए। काठमाडौँमा वनस्पति विभाग त्यस पछि शाही औषधी लिमिटेडमा अधिकृत थिए। तर ६ वर्ष भन्दा बढी समय उनका लागि नेपालमा जागिर खाने साइत जुरेन। उनी सँग अमेरिकी स्कुलको व्याचलर डिग्री थियो। सोझै नेपाल बाटै अमेरिकी ग्रिन कार्ड अपिल गरे।
‘सायद नेपालबाट नै ग्रिन कार्ड पाएर अमेरिका आउने म पहिलो व्यक्ति परे जस्तो लाग्छ।’ पुराना कुरा खोतल्दै कार्कीले भने, ‘सन् १९७५ मा अमेरिका आएको हुँ।’
त्यसो त राहदानीका कारण उनको अमेरिका आगमन केही ढिलो भएको थियो। उनलाई अमेरिकी ग्रिन कार्ड भन्दा नेपाली पासपोर्ट पाउन मुस्किल भयो। ‘त्यो बेला पासपोर्ट बनाउन गाह्रो थियो, वीरेन्द्र सरकारको पालामा जागिरवालालाई।’ उनी सम्झन्छन्।
हातमा अमेरिकी ग्रिन कार्ड छ तर अमेरिका जान पाएको छैन। त्यही बेला उनले जुक्ति निकाले । ‘बेलायतमा मेरो साथी थियो उसलाई भेट्न जाने भनेर पासपोर्ट लिएर यता (अमेरिका) आए।’
देश छोड्ने हुटहुटी
‘म बेरुदमा पढेको धेरै क्वालिटीको थियो मेरो पढाइ। नेपालमा नातावाद, जातिवाद जम्मै थियो। पढाइ अनुसारको काम पनि भएन। पढाइ भन्दा बढी अरू चिज चाहिने हुनाले अमेरिकामा नै गए राम्रो हुन्छ भनेर’ एक स्वरमा सबै कारण खुलाए कार्कीले, ‘नेपालमा धेरै किचकिच पनि अनेक चिज छ नि।’
ए त्यो बेला पनि त्यस्तो थियो नि भन्ने प्रश्न झर्न नपाउँदै उनले भने ‘थियो नि जाति पाती थियो, चिनेको मान्छे हुनु पर्ने थियो।’
हुन त मान्छेलाई सचिवको छोरालाई पनि चिनेको मान्छे चाहिन्छ भन्ने पर्न सक्छ। तर घटना अलिक फरक थियो।
‘मेरो बुबा वन मन्त्रालयको सचिव भए पनि उहाँ प्रजातान्त्रिक विचारको भएको हुनाले १७ सालमा उहाँलाई बिदामा बस्न भनियो’ कार्कीले भने,’ महेन्द्र सरकारले कालो सूचीमा राखे। त्यस पछि बुबा सँग कोही बोल्नै चाहेनन्।’
महेन्द्रले तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालाई पक्राउ गरेर प्रजातन्त्रको ‘कु’ गरे सँगै कार्कीका बुबाको सचिव पद पनि अपदस्त भएको थियो। नृपध्वज कार्की वीपी सँग नजिक थिए। उनको पछि १९९२ मा अमेरिकामा आएको बेला निधन भयो। दुई वर्ष अगाडि श्याम कार्कीकी आमाको पनि नेपालमा निधन भयो।
अमेरिकामा पहिलो पटक
बेलायतको भीषा लिन गए। टिकट एक तर्फी मात्र थियो। काठमाडौँ स्थित बेलायती दूतावासका अफिसरले भने, ‘वान वे टिकट मात्र छ भिषा दिन मिल्दैन।’ अनि उनले भने, ‘होइन होइन कुरा अर्को छ।’
‘मैले भन्न त हुँदैन तर गोप्य रूपमा तिमिलाई मात्र भनेको म बेलायत गएर त्यतैबाट अमेरिका जान्छु, किनकि म सँग अमेरिकाको ग्रिन कार्ड छ।’
दूतावासका अफिसरले आश्चर्य मान्दै सोधे कसरी पायौ ? अनि पासपोर्टमा बेलायतको भीषा लगाइदिए।
‘त्यो बेला अमेरिकाको ग्रिन कार्ड छ भनेर बाहिर हल्ला गरेको भए सरकारले थुनिदिन्यो’ कार्की सम्झन्छन्, ‘त्यो बेलामा सुरेन्द्रराज शर्मा प्रधानमन्त्री सूर्य बहादुर थापाको पालामा निजी सचिव थिए, उनले युएनमा राम्रो जागिर पाएर जान लाग्यो भनेर थुनिएकका थिए।’
कार्की बेलायत हुँदै अमेरिका आए । हातमा प्रमाण पत्र थियो। तर धेरै कुराको ज्ञानको अभाव थियो।
‘अमेरिकन डिग्री भएर पनि लाइसेन्स चाहिने रहेछ, मलाई थाहा थिएन्। नेपालमा पढे पछि तुरुन्त काम गर्न पाइने यहाँ त्यस्तो नहुँदो रहेछ।’ उनले भने, ‘अमेरिका आइयो ग्रिन कार्ड थियो तर के गर्नु पर्ने भन्ने थाहा पाउनै गाह्रो।’
उनी अमेरिकाको राजधानी वासिङ्टन डिसीमा नै ओर्लिएका थिए। चिनजानको मान्छे कोही थिएन। दूतावासमा बाहेक अन्यत्र नेपाली भेट्न मुस्किल। के पर्छ के पर्दैन भनेर पाँच हजार अमेरिकी डलर बोकेर ल्याएका थिए। त्यो पनि खोटिँदै थियो। पढेको विषयमा काम गर्न लाइसेन्स छैन। त्यस पछि उनले ‘मेलिङ्ग सट’ गर्ने काम सुरु गरे। घण्टाको दुई डलर थियो तलब। तीन महिना जति त्यो काम गर्दै थिए त्यस पछि फार्मेसीमा सहायकको रूपमा काम पाए।
‘सन् १९७८ मा फार्मेसीको लाइसेन्स निकाले, ६ महिना कसैको निगरानीमा काम गर्नु पर्ने रहेछ त्यो थाहा पाउनै एक वर्ष लाग्यो।’ कार्की भन्छन्। लाइसेन्स निकाले पछि उनलाई अमेरिकामा पछाडि फर्किनु परेन।
एक वर्षमा उनले श्रीमती इन्दिरा र दुई छोरीलाई पनि अमेरिका ल्याए। कान्छी छोरी गर्भमै थिइन उनले नेपाल छोड्दा । अमेरिकामा नै पहिलो पटक बाबु छोरीको देखभेट भयो।
अमेरिका आएको ६ वर्ष पछि उनले यतैको नागरिकता लिए, त्यस पछि आफ्नो जन्मभूमि ‘भिषा’ लगाएर टेके। उनले अमेरिकामा रहँदा नै जागिरबाट राजीनामा पठाएका थिए।
सन् १९७९ मा न्यु योर्कको रचेष्टरमा सरेका कार्की परिवारले त्यहाँ २५ वर्ष बितायो। फार्मेसीको वार्षिक तलब १२ हजार डलर थियो। १९८३ मा बफेलोमा फार्मेसीमा नै विद्यावारिधि (पिएचडी) गरे।
रचेस्टरमा मनरुक कम्युनिटी अस्पतालमा डाइरेक्टरको रूपमा २५ वर्ष काम गरे। युनिभर्सिटी एट बफेलोमा र युनिभर्सिटी अफ रचेस्टरमा सहायक प्राध्यपक रहे।
सन् २००४ मा अर्लि रिटार्यमेन्ट लिएर बाल्टिमोरमा आए तर फेरि काम गर्न थाले । फार्मेसीमा निर्देशकको जागिर पाए। त्यसको साथै हवार्ड युनिभर्सिटी र युनिभर्सिटी मेरील्याण्डमा सहायक प्रोफेसर भए । तर सन् २०२० कोभिड महामारी पछि उनलाई लाग्यो अब ब्रेक लगाउनै पर्छ। अनि सबै जागिरबाट संन्यास लिए।
सामाजिक काममा अग्रसरता
डा. कार्की गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का संस्थापक उपाध्यक्ष हुन्।
‘सन् २००७ मा अध्यक्षको उम्मेदवार थिए जित्ने नै थिए। काठमाडौँमा पैसाको खेल भयो । राजनीति चरम भयो । मेरो आफ्नै इथिकलभ्यालु थियो। यो मेरो लागि होइन भन्ने लाग्यो त्यस पछि एनआरएनए छोडे।’ कार्कीले भने।
उनी नेपाली एसोसिएसन अफ अमेरिका (एएनए) का संस्थापक सदस्य (१९८३) र पूर्व अध्यक्ष (१९९७-२००१) हुन्। यसका साथै मेरील्याण्डमा रहेको दुई वटा हिन्दु बौद्ध मन्दिरका संस्थापक अध्यक्ष पनि।
कार्की नेपाली मूलका पहिलो अमेरिका डेलिगेट ह्यारी भण्डारीको सुरुवाती चुनावी क्याम्पेनर पनि हुन्।
‘मेरो जिन्युबुवा धेरै नै सक्रिय मान्छे, धर्ममा पनि चाख भएको, पाठ पूजा गर्ने, हजुर आमा र बुबा पनि पूजापाठ गर्नु हुने।’ कार्कीले आफूमा समाज सेवा र धर्म कर्मको बारेमा रुचि बढ्नुको भेद खोले, ‘बुबा वन मन्त्रालयमा भएकाले शिवरात्रिमा महात्मा जोगीहरूलाई काठ तथा दक्षिणा दिनु पर्ने त्यो बेला मेरो पनि महात्माहरू सँग भेट हुन्थ्यो, योगी नरहरि नाथलाई म चिन्थे। मेरो बुबाको राम्रो चिनजान थियो। त्यसले पनि प्रभाव पर्यो।’
उनले एएनएमा रहँदा नै अमेरिकामा हिन्दु बौद्ध मन्दिर चाहिन्छ भन्ने भएको र त्यसै अनुरूप अगाडि बढेको बताए।
‘एएनए सुरु भए देखि नै मन्दिर चाहिन्छ भन्ने कुरा भइरहेको थियो। म अध्यक्ष भए पछि मेरील्याण्डमा पशुपति बुद्ध मन्दिर सुरु गरे त्यो मन्दिर अहिले जर्मन टाउनमा आएको छ। म त्यो मन्दिरको संस्थापक अध्यक्ष हुँ।’ कार्कीले भने।
बाल्टिमोरमा पनि नेपालीको सङ्ख्या बढ्दै गएको र पहिलाको मन्दिर अलिक टाढा हुने भयो भन्ने गुनासा आए पछि सहर नजिकै नयाँ मन्दिर बनाउन सुरु गरिएको कार्कीले बताए।
‘अलिक पाकोमा म नै एक्टिभ थिए। सबैले मलाई अगाडि बढ्न भने ल सबैले सहयोग गर्ने हो भने म गर्छु भनेर उता राजीनामा दिए। यता सुरु गरे।’ उनले भने, ‘दुई ठाँउमा बस्न त भएन नी।’
मेरील्याण्डको ग्लेन आर्ममा २०१७ मा हिन्दु बुद्ध मन्दिर स्थापना गरिएको हो। वनको बिचमा रहेको तीन सय वर्ष भन्दा पुरानो विशाल क्षेत्रफल सहितको (३०.८ एकड) घर किनेर मन्दिर बनाइएको छ। सुरुमा त्यहाँ मन्दिर बनाउन हुँदैन भनेर स्थानीयले अदालतमा मुद्दा हालेका थिए। अहिले त्यो मुद्दा मन्दिरले जितेको छ।
त्यहाँ शिव लिङ्ग, बुद्धको प्रतिमा स्थापना गरिएको छ। विभिन्न देवदेवताको मूर्ति रहेको मन्दिरमा नृत्य पूजा हुँदै आएको छ। त्यही मन्दिरको स्तर उन्नतिका लागि दोस्रो पटक महापुराण लगाइएको हो।
सप्ताहव्यापी महापुराणमा २० लाख डलर भन्दा बढी दानको कबोल भएको छ। त्यसमा डा. कार्कीले १२ वर्ष भित्रमा थप १२ लाख डलर दान दिने घोषणा गरेका हुन्।
मन्दिरका सबै भन्दा ठुलो दाता
डा. कार्की अहिले पनि मन्दिरको सबै भन्दा ठुलो दाता हुन्। कार्कीका अनुसार नेपालमा रहेको सम्पत्ति माहिलो भाइले हेर्छन्।
उनीकी ठुली छोरी रोशना वकिल हुन्। ठुली छोरी ५० वर्ष भइसकिन। ज्वाइँ डाक्टर छन् । नाति १७ र नातिनी १४ वर्षका छन्। कान्छी छोरी जोशना बुबा जस्तै फार्मेसीमा डाक्टर हुन् । मनोचिकित्सकमा अनुसन्धान र पढाउने गर्छिन्। अहिले उनी न्यु योर्कको रचेस्टर विशाल फार्मेसी कम्पनीको प्रमुख छिन्।
‘केही नलिई आएको हो, जाँदा पनि केही नलिकनै जान्छु, छोरा छोरी पढाएकै छु, खान लगाउन उनीहरूलाई आफ्नै कमाइले पुगेकै छ। धेरै राम्रो कमाइ छ। उनीहरूलाई मैले दिनु पर्ने छैन।’ कार्की आफ्नो वित्तीय अवस्थाका बारेमा एक श्वासमा सुनाउँछन्, ‘बैकमा जति पैसा छ त्यसैमा खाइरहेका छौ, म गए पछि त्यो पैसा मलाई चाहिँदैन त्यही पैसा मन्दिरलाई दिन्छु।’
डा. कार्कीका अनुसार उनी र श्रीमती १२ वर्ष अगाडि निधन भएमा त्यस लगत्तै मन्दिरले पैसा पाउने छ। तर उनीहरू ९० वर्ष भन्दा बढी बाँचे भने पनि जीवित छदै मन्दिरले १२ लाख डलर पाउने छ।
डा. कार्कीले श्रीमती, छोरीहरू र सबै परिवार सँग सल्लाह गरेरै निर्णय गरेको बताए।
‘महापुराणमा केही न केही पैसा त दिँदै पर्यो, म धनी छैन, धनी भएको भए, भएकैबाट दिन्थे’ कार्कीले भने, ‘पहिला पनि एक लाख दिएको हो, तीन वर्ष लगाएर भए पनि दिए, पहिला काम पनि थियो,अब त काम पनि छैन। अब हामी सँग भएको सम्पत्ति हामी नै नरहे पछि त्यो चाहिएन त्यही दिन्छौ भनेका हौ।’
कार्कीले परिवार र साथीभाइले आफ्नो कामको प्रशंसा गर्ने गरेको बताए।
‘छोरीहरू खुसी छन्, मान्छेहरूले यो लोभी रहेनछ समाजलाई गर्दो रहेछ पहिला पनि एक्टिभ नै थिए अब यो घोषणा पछि मान्छेहरूले मन ठुलो रहेछ भनेका छन्।’ कार्कीले भने,’ सबै जनाले राम्रो गर्यो भनेका छन्, परिवार र बाहिरबाट पनि।’
डा. कार्कीले अब पशुपति नाथको जस्तै मन्दिर बनाउने धोको हरेको बताए। ‘पशुपति जस्तै यहाँ बनाउन मन छ, जग्गा हामी सँग छ, यस पटकको महायक्षको पैसाले ढोका सार्ने पार्किङ बनाउन खर्च हुन्छ।’
उनले अबका दिनमा पुजा बाट नै एक लाख भन्दा बढी वार्षिक उठ्छ विश्वास गरेका छन्।
खेलाडीबाट सुरु जीवन दानवीरमा परिणत
डा. कार्की पूर्व खेलाडी पनि हुन्। ‘बच्चा देखि नै क्रिकेट खलेको हुँ, काठमाडौँमा व्वाइज युनियनबाट क्रिकेट खेल्थे।’ कार्कीले युवा अवस्था सम्झिए, ‘१९६९ देखि ७५ सम्म मैले क्रिकेट खेले, त्यो भन्दा अगाडि कुपन डोल स्पोटिङ क्लबबाट फुटबल खेल्थे, म फुटबलको क्याप्टेन थिए। म राम्रै खेलाडी थिए।’
उनले उत्तर अमेरिकामा म्याराथन पनि पुरा गरेका छन्। ‘ सिकागो म्याराथन २००० मा पुरा गरेको हुँ, त्यो अगाडी टोरन्टो म्याराथन पनि पुरा गरे आधा दर्जन हाफ म्याराथन पुरा गरेको छु।’
कार्कीले अमेरिकामा विश्वविद्यालयमा दुई वर्ष फुटबल खेलेको पनि बताए। उनले आफू जीवन देखि खुसी नै रहेको बताए।
‘जीवन देखी खुसी छु साथीहरू धेरै छन् सबैले माया गर्छन्।’ कार्कीले भने। अमेरिकामा आएको मान्छे खुसी हुँदैन भन्छन् नि भन्ने प्रश्नमा कार्कीको जवाफ थियो, ‘ त्यो त मान्छे हेरी हुन्छ।’
उनले देश छोडेकोमा कुनै पछुतो नभएको बताए। ‘म पैसाको लागि आएको होइन सकेण्ड क्लास अफिसर नै थिए। पहुँच पुर्याउन पनि सक्थे बुबा सचिव भएको, मामा ससुरा (धरेन्द्र बहादुर सिंह) प्रधानन्यायाधीश भएको, मलाई माथि पुग्न स्रोस थियो तर मलाई आफ्नै किसिमको इन्डिपेन्डिङ्ग लाइफ इथिकल भ्यालु त्यसको महत्त्व भयो। त्यो नेपालमा पाइन।’