नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको कार्य सम्पादन समिति गठन अधिवेशन असारमा गर्ने
काठमाडौं । नेपाली काँग्रेस पार्टीको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको केन्द्रीय समितिको पूर्ण बैठक आज केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको छ। लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा बसेको बैठकले सङ्घको केन्द्रीय अधिवेशन असार भित्र सम्पन्न गर्ने तय गरेको छ।
नेपाली काँग्रेस पार्टीको केन्द्रीय समितिले निर्दिष्ट गरेको अधिवेशन सम्पन्न गर्न विभिन्न निर्णयहरू गरेका छन्। नेपाली खेलकुदको समग्र विकास र प्रवर्द्धनमा टेवा पु¥याउन देवेन्द्र कुमार शेरचनको नेतृत्वमा २१ जनाको कार्य सम्पादन समिति गठन गरेको हो। समितिमा उपाध्यक्ष बृजेन्द्र हमाल,महासचिव द्वय सुबोध प्रधान र दीपक गुरुङ, सचिवमा मनिस जोशी, वीर बहादुर खड्का, बखत बहादुर शाही, राजु विक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल रहेका छन्।
कार्य सम्पादन समितिका सदस्यहरूमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुबेर प्रकाश सिंह, विष्णु क्षेत्री, वेद प्रसाद वन, राम थारु, मुक्ति बाबु रेग्मी, तुलसि थापा, जनक सिंह साउद, विश्वमान गुरुङ रहेका छन्। सङ्घको प्रवक्तामा दामोदर अर्याललाई नियुक्त गरेका छन्।
वैशाख २१ गते नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना दिवसको उपलक्ष्यमा वैशाख १४ देखि १९ गते सम्म राष्ट्रव्यापी गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ। वीर गणेशमान सिंह बुद्धिचाल प्रतियोगिता गर्न कार्य सम्पादन समितिका सदस्य राजु ताम्राकारलाई संयोजकको जिम्मा दिइएको छ। त्यसैगरी २१ गते साँखुमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गर्ने र विभिन्न रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ।
बैठकले नेपालका विभिन्न खेल भातृ सङ्गठनहरू सँग सहकार्य गरी खेलकर्मीहरूको मनोबललाई उच्च बनाउँदै खेलकुद क्षेत्रमा देखिएको सुस्तता निवारण गर्ने तर्फ पहल गर्ने निर्णय गरेको छ। खेलकुदको माध्यमबाट राष्ट्र र अन्तर्राष्ट्रिय तह सम्म खेलाडीहरूको उपस्थिति जनाउँदै नेपाल राष्ट्रको गरिमा उच्च पार्ने तर्फ पहल कदम लिने समेत निर्णय गरेको छ।
केन्द्रीय बैठकले नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय सदस्य सुनिल गुरुङका पिता बिल बहादुर गुरुङको चैत २७ गते भएको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ।